
एजेन्सी । सगरमाथा क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरी गरिएको संगठित ठगीले विश्वभरका प्रतिष्ठित सञ्चारमाध्यममा चर्चा पाएको छ । फेक रेस्क्युका कारण नेपालको हाइ अल्टिच्युड पर्यटनको धज्जी विश्व समुदायमा उडेको हो ।
नेपालको पर्वतारोहण क्षेत्रमा हुने ‘फेक रेस्क्यु’ को धन्दाका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको छविमा गम्भीर धक्का लागेको छ । टाइम्स अफ इन्डिया, द इन्डिपेन्डेन्ट, ८ न्युज, विओन र इन्डिया टुडे जस्ता प्रतिष्ठित सञ्चारमाध्यमहरूले नेपालका ट्रेकिङ गाइड, हेलिकप्टर कम्पनी र अस्पतालहरूको मिलेमतोमा भएको करिब २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) बराबरको ठगीलाई जोडतोडले उठाएका छन्।
फेक रेस्क्युबारे नेपाल प्रहरिको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । सीआईबीकै अनुसन्धानलाई उद्धृत गर्दै ती सञ्चारमाध्यमले सगरमाथा क्षेत्रमा गाइडहरूले नै विदेशी पर्यटकलाई बिरामी बनाएर महँगो हेलिकप्टर उद्धार गर्न बाध्य पार्ने गरेको प्रसार विश्व समुदायमा गरेका हुन् ।
फेक रेस्क्युमा संलग्न शेर्पा गाइड, हेलिकप्टर सञ्चालक र अस्पतालका कर्मचारीहरूको मिलेमतोमा करिब २० मिलियन अमेरिकी डलर बराबरको नक्कली बीमा दाबी गरी ठगी गरिएको अनुसन्धानका क्रममा खुलेको छ । यो घटनाले नेपालको राष्ट्रिय प्रतिष्ठामा धज्जी उडेको त छ नै ‘अतिथि देवो भव:’ को संस्कारमा गम्भीर आँच पुगेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी पर्यटकहरूलाई बिरामी बनाउनका लागि गाइड र शेर्पाहरूले अमानवीय विधिहरू अपनाउने गरेका थिए । उनीहरूले पर्यटकको खानामा गोप्य रूपमा ‘बेकिङ सोडा’ मिसाउँथे । जसकारण पर्यटकलाई वाकवाकी लाग्ने र पेट फुल्ने जस्ता लक्षण देखिन्थे ।
यस्ता लक्षण देखिएपछि पर्यटकहरूलाई आफूलाई ‘अल्टिच्युड सिकनेस’ (लेक लागेको) भएको भ्रम हुन्थ्यो । ‘यति मात्र नभई लेक लाग्नबाट बच्न प्रयोग गरिने ‘डायमक्स’ जस्ता औषधिहरू आवश्यकताभन्दा बढी खान दिने र जबर्जस्ती अत्यधिक पानी पिउन लगाएर मस्तिष्कमा पानी जम्ने जस्तो कृत्रिम गम्भीर समस्या देखिन्थ्यो,’ टाइम्स अफ इन्डियामा भनिएको छ ।
यूकेको इन्डिपेन्डेन्टले कतिपय अवस्थामा भने पर्यटकलाई कमजोर बनाउन खानामा काँचो कुखुराको मासु र मुसाको दिसा समेत मिसाइने गरेको अनुसन्धानका क्रममा खुलेको उल्लेख गरेको छ । यस्ता खाना खाएपछि पर्यटकलाई पखाला लाग्दथ्यो ।
शेर्पा गाइडहरूले पर्यटकलाई यसरी ‘फुड प्वाइजन’ गराउने गरेको ती सञ्चारमाध्यममा उल्लेख छ । पर्यटकहरू बिरामी भएपछि गाइडहरूले उनीहरूलाई तत्काल हेलिकप्टरबाट उद्धार नगरे ज्यान जान सक्ने डर देखाउँथे र उद्धारका लागि राजी गराउँथे । यो संगठित सञ्जालले एउटै हेलिकप्टरमा धेरै पर्यटकलाई ल्याएर पनि बीमा दाबी गर्दा भने प्रत्येकलाई छुट्टाछुट्टै चार्टर उडान भरेको नक्कली कागजात बनाउँथे ।
यतिसम्म कि ४ हजार डलरको उडानलाई १२ हजार डलरसम्म बनाएर बीमा कम्पनीसँग असुल गरिन्थ्यो । यो प्रक्रियामा अस्पतालहरूको भूमिका पनि शंकाष्पद पाइएको छ । अस्पतालहरूले नक्कली मेडिकल रेकर्ड, डिजिटल हस्ताक्षरको दुरुपयोग र झूटा भर्ना रिपोर्टहरू तयार पारेर बीमा कम्पनीहरूलाई महँगो बिल पठाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
फर्स्टपोस्टले लेखेको छ, ‘कतिपय पर्यटकहरू अस्पतालको क्याफ्टेरियामा बसेर बियर पिइरहेका बेला पनि उनीहरूको नाममा ‘आईसीयू’ मा उपचार भइरहेको गम्भीर बिरामीको रूपमा बिलिङ भइरहेको हुन्थ्यो ।
सन् २०२२ देखि २०२५ को अवधिमा मात्रै यस्ता ३०० भन्दा बढी फेक रेस्क्युका घटनाहरू भएका छन् । यसबाट झन्डै ४ हजार ७८२ अन्तर्राष्ट्रिय आरोहीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
संकलित रकमको ठूलो हिस्सा अर्थात् २० देखि २५ प्रतिशतसम्म ट्रेकिङ एजेन्सी, गाइड र हेलिकप्टर कम्पनीहरूलाई कमिसनको रूपमा बाँडफाँट गरिने अनुसन्धानको क्रममा खुलेको छ ।
हालसम्म फेक रेस्क्यु प्रकरणमा संलग्न ३२ जना विरुद्ध संगठित अपराध र ठगीको मुद्दा दायर गरिएको छ । तीमध्ये केही व्यक्तिहरू पक्राउ परेका छन् भने कतिपय अझै फरार छन् ।
सीआईबी प्रमुख मनोज कुमार केसीका अनुसार विगतमा यस्ता अपराधमा कडा कारबाही नहुँदा यो धन्दाले प्रश्रय पाएको हो । विदेशका बीमा कम्पनीले नेपाल घुम्न आएका पर्यटकबाट धेरै नै मात्रा दाबी परेपछि फेक रेस्क्युको जालोबारे अनुसन्धान थालिएको थियो ।








प्रतिक्रिया