
भक्तपुर क्षेत्र नम्बर १ लाई २०४८ को राजनीतिक परिवर्तनयता नेपाल मजदुर किसान पार्टीले निरन्तर चुनाव जित्दै आएको क्षेत्रको रूपमा चिनिन्थ्यो । नेपाली कांग्रेस वा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाले समेत पटक–पटक बहुमत ल्याउँदा पनि त्यसलाई भत्काउन सकेको थिएन । सोही क्षेत्रबाट यसपटक भने भक्तपुरका युवा व्यवसायी तथा भक्तपुर उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जित राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका छन् ।
युवा व्यवसायीसमेत रहेका रञ्जितसँग भक्तपुरको विकास, सम्पदा संरक्षण, पर्यटन विकास र त्यसबाट नागरिकको आयस्तरमा कसरी सुधार गर्ने, एउटा व्यवसायीका रूपमा व्यवसायीको आवाज कसरी बुलन्द बनाउने, लगानीमैत्री वातावरण बनाउन कस्तो भूमिका रहने लगायत विषयमा क्लिकमान्डुले ‘क्लिक टक’ को यस शृङ्खलामा कुराकानी गरेको छ । प्रस्तुत छ क्लिकमान्डुका लागि विजय पराजुलीले गरेको कुराकानी :
भक्तपुर क्षेत्र नम्बर १ मा २०४८ सालयता नेपाल मजदुर किसान पार्टीले निरन्तर जित हासिल गर्दै आएको थियो । यो क्षेत्रलाई उक्त दलको नभत्किने ‘किल्ला’ का रूपमा चिनिन्थ्यो । तर, तपाईंले स्थापना भएको तीन वर्ष मात्र बितेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्दै त्यो वर्षौँ पुरानो किल्ला भत्काउन सफल हुनुभएको छ । संसद्मा पुग्दै गर्दा कस्तो महसुस भइरहेको छ?
यो जितलाई मैले केवल मेरो व्यक्तिगत सफलता मात्र मानेको छैन । यो भक्तपुरका जनताको परिवर्तनप्रतिको तीव्र चाहनाको प्रतिफल हो । चुनावको मैदानमा रहँदा हामीले एउटा स्थापित पार्टीको दशकौँ लामो विरासतलाई चुनौती दिएका थियौँ । जनताले अब पुरानै सोच र शैलीबाट माथि उठेर परिवर्तन खोज्नुभएको थियो । हामीले उक्त परिवर्तनलाई संस्थागत गर्नुपर्छ र जनताको विश्वास जितेर आउनुपर्छ भन्ने तयारीका साथ आफ्नो भूमिका निर्वाह गर्यौँ ।

भक्तपुरका मतदाताले नयाँ पार्टी र नयाँ अनुहारमाथि ठूलो भरोसा देखाउनुभएको छ । उहाँहरूले यो नयाँ पार्टीले जनभावना बुझ्न सक्छ र दिएको जिम्मेवारी कुशलतापूर्वक बहन गर्न सक्छ भन्ने विश्वासका साथ हामीलाई अनुमोदन गर्नुभएको छ ।
विरासतको कुरा गर्ने हो भने, त्यसलाई जोगाउने वा बदल्ने अधिकार सार्वभौम जनतामै निहित हुन्छ । विगतमा नेमकिपाले केही राम्रा कामहरू पक्कै गरेको थियो, तर समयको बदलिँदो माग र जनताका चुलिँदा आकाङ्क्षाहरूलाई सम्बोधन गर्न कतै न कतै कमी भएकै थियो । त्यसैले, जनताले पुरानो विरासतको अन्त्य गरी नयाँ राजनीतिक धार र परिपाटीलाई स्थापित गर्ने निर्णय गर्नुभयो । यो जित भक्तपुरको विकासमा नयाँ अध्यायको सुरुवात हो भन्ने मलाई लाग्छ ।
भक्तपुरलाई कला, संस्कृति र सम्पदाको सहरका रूपमा चिनिन्छ । वर्षौँदेखि यहाँको सम्पदा संरक्षणमा नेमकिपाले राम्रो भूमिका खेलेको भनिन्थ्यो । तर, तपाईंको विजयले के संकेत गर्छ भने, जनता अब केवल सम्पदा संरक्षणमा मात्र सीमित हुन चाहँदैनन् । विकासको स्वरूप आधुनिक र रोजगारमुखी हुनुपर्छ भन्ने उहाँहरूको बुझाइ देखियो । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
तपाईंले एकदमै सही प्रश्न उठाउनुभयो । भक्तपुरका जनता राजनीतिक रूपमा निकै सचेत हुनुहुन्छ । भक्तपुर क्षेत्र नम्बर १ अन्तर्गत भक्तपुर र चाँगुनारायण गरी दुईवटा नगरपालिकाहरू पर्छन् । भक्तपुर नगरपालिकाले ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको जगेर्ना, पौराणिक संरचनाको संरक्षण र प्रचारप्रसारमा गरेको काम साँच्चै उदाहरणीय छ । यसमा कुनै दुई मत छैन । तर, सम्पदा संरक्षणले मात्र मानिसको जीवनस्तर सुधारिँदैन भन्ने यथार्थ जनताले बुझिसक्नुभएको छ ।
सहर सुन्दर भयो, मन्दिरहरू ठडिए, तर मानिसको खल्तीमा पैसा भएन भने त्यसको सार्थकता रहँदैन । भक्तपुरभित्र एउटा ठूलो असन्तुष्टि यहाँ आर्थिक गतिविधिहरू बढ्न सकेनन् भन्ने थियो । पर्यटनबाट जुन स्तरको लाभ स्थानीयले पाउनुपर्ने थियो, त्यो पाउन सकेनन् । राज्यले दिने आधुनिक सुविधाहरूबाट यहाँका बासिन्दा वञ्चित हुनुपर्यो । विशेषगरी चाँगुनारायण क्षेत्रका जनताले आफूलाई राज्यविहीनताको अवस्थामा महसुस गर्नुभएको थियो । उहाँहरूले हाम्रो प्रतिनिधित्व गर्ने सांसदले संसद्मा हाम्रा समस्या कहिल्यै सुनाएनन्, हामीले राज्यको उपस्थितिमै महसुस गर्न पाएनौँ भन्नुहुन्थ्यो ।
सधैं प्रतिपक्षमा मात्र बस्दा भक्तपुरको पहिचान त बन्यो, तर केन्द्रबाट आउने बजेट र विकासका योजनाहरूमा भक्तपुर पछाडि पर्यो । त्यसैले, अब भक्तपुरलाई प्रतिपक्षको किल्ला मात्र होइन, सत्तापक्षको एजेन्डा बनाउनुपर्छ भन्ने जनचाहना देखियो । केन्द्र सरकारले प्राथमिकतामा राख्ने गरी भक्तपुरको विकास गर्नुपर्छ र यहाँका जनताको आर्थिक स्तर उकास्नुपर्छ भन्ने उद्देश्यका साथ जनताले हामीलाई निर्वाचित गर्नुभएको हो ।

तपाईं राजनीतिमा आउनुअघि एउटा सफल व्यवसायी हुनुहुन्थ्यो । उद्योग वाणिज्य संघमा रहेर व्यवसायीका हकहितका लागि काम गर्नुभयो । अब तपाईं सांसदको रूपमा नीति निर्माण गर्ने तहमा पुग्नुभएको छ । आफ्नो व्यावसायिक अनुभवलाई देशको अर्थतन्त्र सुधार र लगानीमैत्री वातावरण बनाउन कसरी उपयोग गर्नुहुन्छ ?
म लामो समयदेखि व्यावसायिक र सामाजिक संघसंस्थाहरूमा सक्रिय रहें । ती संस्थाहरूमा काम गर्दा मैले व्यवसायीहरूले भोग्नुपर्ने सास्तीलाई नजिकबाट नियालेको छु । म आफैं पनि ती समस्याहरूको भुक्तभोगी हुँ । हाम्रो देशमा व्यवसाय गर्ने वातावरण कति झन्झटिलो छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । राज्यले व्यवसायीलाई सधैं अर्को दर्जाको नागरिकजस्तो व्यवहार गर्ने, केवल कर असुल्ने माध्यम मात्र ठान्ने र उनीहरूको संरक्षणमा ध्यान नदिने परिपाटी हिजोदेखि नै थियो ।
अब संसद्मा मेरो मुख्य भूमिका व्यावसायिक वातावरणलाई सहज बनाउनु हुनेछ । निजी क्षेत्र भनेको देशको अर्थतन्त्रको मेरुदण्ड हो । जबसम्म निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने वातावरण पाउँदैन, तबसम्म देश समृद्ध हुन सक्दैन । हामीले आफ्नो घोषणापत्रमा पनि व्यवसाय सञ्चालनमा बाधा पुर्याइरहेका करिब दुई दर्जन ऐनहरूलाई तत्काल परिमार्जन वा खारेज गर्नुपर्ने भनेका छौँ । सोही अनुसार अगाडि बढिसकेका छौँ ।
हाम्रो लक्ष्य भनेको सरकारी र निजी दुवै क्षेत्रलाई सँगसँगै अगाडि बढाउनु हो । देशमा औद्योगिकीकरणको लहर ल्याउन, रोजगारीका अवसरहरू सिर्जना गर्न र बाह्य पुँजी भित्र्याउनका लागि नीतिगत स्पष्टता आवश्यक छ । हामीले एउटा यस्तो वातावरण बनाउनुपर्छ जहाँ कुनै पनि व्यवसायीले राज्यबाट उपेक्षित महसुस नगरोस् र उसले आफ्नो लगानी सुरक्षित छ भन्ने महसुस गरोस् ।
जेनजी प्रदर्शनका क्रममा व्यावसायिक प्रतिष्ठानहरूमाथि आक्रमण गर्ने, व्यवसायीलाई हतोत्साहित गर्ने कामहरू भए । यसले गर्दा झन्डै ९५ प्रतिशत व्यवसायीहरू चरम निराशामा छन् र उनीहरू ‘पर्ख र हेर’ को स्थितिमा छन् भन्ने अध्ययनले देखाएका छन् । यस्तो अवस्थामा व्यवसायीहरूको मनोबल बढाउन र नयाँ लगानीका लागि प्रेरित गर्न तपाईंको पार्टी र नयाँ सरकारले के–कस्ता ठोस कदम चाल्छ ?
यो एकदमै गम्भीर विषय हो । राजनीतिक अस्थिरता र केही उच्छृङ्खल गतिविधिले गर्दा समग्र निजी क्षेत्रको मनोबल गिरेको कुरा सत्य हो । सेयर बजारदेखि बैंकिङ क्षेत्रसम्म यसको नकारात्मक प्रभाव परेको छ । व्यवसायीहरू निराश हुनु भनेको देशको अर्थतन्त्रका लागि खतराको घण्टी हो ।
तर, अब परिस्थिति बदलिँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशको ग्राहस्थ उत्पादनलाई १०० अर्ब डलर पुर्याउने एउटा महत्त्वाकांक्षी तर सम्भव लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्त गर्न कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धिदर आवश्यक पर्छ, जुन निजी क्षेत्रको सक्रिय सहभागिता बिना सम्भव छैन ।

अहिले जुन दुई तिहाइको सरकार बन्ने प्रक्रिया सुरु भएको छ, यसले राजनीतिक स्थायित्वको संकेत दिएको छ । कम्तीमा आगामी पाँच वर्षसम्म नीतिहरू परिवर्तन हुँदैनन् भन्ने विश्वास पलाएपछि व्यवसायीहरू बिस्तारै उत्साहित हुन थाल्नुभएको छ ।
हामी अब आउने बजेटमार्फत करको दायरामा सुधार गर्ने, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने र नेपाललाई निर्यातमुखी अर्थतन्त्रतर्फ लैजाने योजनामा छौँ । वैदेशिक लगानी भित्र्याउनका लागि हामीले अन्तर्राष्ट्रिय स्तरको नीति बनाउनेछौँ । साथै, विदेशमा रहेका लाखौँ नेपालीहरूको पुँजी र सीपलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाउन ‘वान्स अ नेपाली, अलवेज अ नेपाली’ को अवधारणालाई कानुनी रूपमै बलियो बनाउने हाम्रो प्रतिबद्धता छ ।
व्यवसायीहरूले अब सडकमा आएर रुनुपर्ने अवस्थाको अन्त्य गर्न हामी नीतिगत रूपमै लड्नेछौँ ।
व्यवसायीहरूले सधैं गुनासो गर्ने अर्को विषय भनेको झन्झटिलो दर्ता प्रक्रिया र दोहोरो–तेहोरो करको मार हो । एउटा सामान्य व्यवसाय सुरु गर्न कति धेरै ठाउँ धाउनुपर्छ ? यसलाई सरल बनाउन तपाईंको योजना के छ ?
यो हाम्रो कर्मचारीतन्त्रको ठूलो समस्या हो । अहिले एउटा व्यवसाय दर्ता गर्न २१ वटा फरक–फरक ठाउँमा धाउनुपर्ने बाध्यता छ । तीन तहको सरकार बनेपछि त झन् अन्योल बढेको छ । स्थानीय तहमा दर्ता गर्ने कि प्रदेशमा वा संघमा भन्ने कुरामा व्यवसायीहरू अल्मलिइरहेका छन् । एउटै शीर्षकमा तीनै तहका सरकारलाई कर बुझाउनुपर्ने दोहोरो–तेहोरो मारले गर्दा उत्पादन लागत निकै बढेको छ । यसले गर्दा नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् ।
मेरो पहिलो प्राथमिकता भनेको ‘एकद्वार प्रणाली’ लाई प्रभावकारी बनाउनु हो । करको दरमा पुनरावलोकन गरी व्यवसायीलाई थिच्ने होइन, व्यवसाय विस्तार गर्न मद्दत गर्ने खालको नीति ल्याउनुपर्छ । भन्सार दर र भ्याट प्रक्रियामा रहेका जटिलताहरू हटाउन हामीले विभिन्न व्यावसायिक संघसंस्थाहरूबाट सुझाव लिइरहेका छौँ । ती सुझावहरूलाई संसद्मा एजेन्डा बनाएर लैजाने र व्यावहारिक रूपमा कार्यान्वयन गराउने मेरो संकल्प छ । हामी व्यवसायीलाई ऋण लिन सहज बनाउने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेलाई विशेष सुविधा दिने कानुन बनाउनेतर्फ लाग्नेछौँ ।
आगामी ५ वर्षपछिको नेपालको अर्थतन्त्रलाई कस्तो परिकल्पना गर्नुभएको छ ? हाम्रो आर्थिक वृद्धिको मुख्य ‘ड्राइभिङ फोर्स’ कुन क्षेत्रलाई मान्नुहुन्छ ?
आगामी ५ वर्षभित्र नेपालको अर्थतन्त्रले एउटा ठूलो फड्को मार्नेछ भन्ने मेरो विश्वास छ । हाम्रो मुख्य ड्राइभिङ फोर्स भनेको निजी क्षेत्र नै हुनुपर्छ, जसलाई सरकारले अभिभावकको रूपमा सहजीकरण गर्नेछ । ठूला पूर्वाधार निर्माणमा हामीले ‘पब्लिक–प्राइभेट पार्टनरसिप’ मोडेललाई कडाइका साथ लागू गर्नुपर्छ ।
नेपालका लागि सम्भावनाका तीनवटा मुख्य क्षेत्रहरू छन्, जलविद्युत, पर्यटन र कृषि । हाल पहिचान भएका मध्ये जलविद्युत र पर्यटनले नै हाम्रो अर्थतन्त्रलाई लिड गर्नेछ । पर्यटन क्षेत्रमा हामीले केवल संख्या मात्र बढाउने होइन, गुणस्तरीय पर्यटक भित्र्याउने र उनीहरूको बसाइ अवधि लम्ब्याउने नीति लिनुपर्छ । कृषिलाई आधुनिकीकरण र व्यावसायिकीकरण गरेर आयात प्रतिस्थापन गर्नुपर्छ ।
सँगसँगै, सूचना प्रविधिको क्षेत्रमा पनि नेपालले ठूलो प्रगति गर्न सक्ने सम्भावना छ । हामीले रेमिट्यान्समा मात्र भर पर्ने अर्थतन्त्रलाई बिस्तारै उत्पादन र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्नेछ । ५ वर्षपछि नेपालमा लगानी गर्न विदेशीहरू पनि लालायित हुने वातावरण हामी बनाउनेछौँ ।
अब, भक्तपुरकै कुरा गरौँ । तपाईंको क्षेत्र घरेलु उद्योगको हब हो । यहाँको हस्तकला, माटोका भाँडा र कपडा उद्योगहरू विश्वप्रसिद्ध छन् । तर, पछिल्लो समय यी उद्योगहरू संकटमा छन् । युवाहरू विदेश पलायन भइरहेका छन् । यी घरेलु उद्योगको पुनरुत्थान र पर्यटनसँग यसको अन्तरसम्बन्ध कसरी स्थापित गर्नुहुन्छ ?
भक्तपुरको पहिचान नै यहाँका घरेलु र कुटिर उद्योगहरू हुन् । तर, विडम्बना के छ भने, सम्पदा संरक्षण त भयो तर ती सम्पदा बनाउने हातहरू र सीपहरूको संरक्षण हुन सकेन । मानिसहरूले मन्दिर त हेरे, तर मन्दिर बनाउने डकर्मी र कर्मीहरूको जीवनस्तर उस्तै रह्यो ।
हामीले एउटा नयाँ अवधारणा ‘क्राफ्ट भिलेज’ ल्याएका छौँ । भक्तपुरको सानो औद्योगिक क्षेत्रलाई हामीले एउटा आधुनिक क्राफ्ट भिलेजको रूपमा विकास गर्नेछौँ, जहाँ हाम्रा मौलिक हस्तकलाका सामग्री उत्पादन गर्नेहरूलाई ठाउँ उपलब्ध गराइनेछ, उनीहरूलाई आधुनिक तालिम र प्रविधि दिइनेछ । उत्पादित सामानहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सरकार र उद्योग वाणिज्य संघले पुलको काम गर्नेछ ।
पर्यटनको सन्दर्भमा भक्तपुर अहिलेसम्म ‘डे–टुरिस्ट’ का लागि मात्र सीमित छ । काठमाडौंबाट आयो, दुई घण्टा दरबार स्क्वायर घुम्यो र फर्कियो । यसले भक्तपुरको अर्थतन्त्रमा खासै योगदान दिँदैन । अब हामीले भक्तपुरलाई कम्तीमा दुई दिन बस्ने गन्तव्य बनाउनुपर्छ । चाँगुनारायण र सूर्यविनायकका डाँडाकाँडाहरूलाई समेटेर एउटा पर्यटकीय सर्किट बनाउनुपर्छ । जब पर्यटक यहाँ बस्छन्, तब यहाँका होटल चल्छन्, रेस्टुरेन्ट चल्छन् र स्थानीय सामानहरू बिक्री हुन्छन् । तब मात्र सम्पदा संरक्षणको वास्तविक लाभ स्थानीयले पाउनेछन् ।
भक्तपुरको अर्को ठूलो समस्या भनेको विशेषगरी इँटा भट्टाहरूबाट निस्कने धुवाँबाट हुने प्रदूषण हो । यसले पर्यटन र मानव स्वास्थ्य दुवैलाई असर गरेको छ । यसको दीर्घकालीन समाधानका लागि तपाईंको पहल के रहन्छ ?
यो निकै पेचिलो र चुनौतीपूर्ण विषय हो । इँटा भट्टा र बाटोघाटाको समस्या मेरो निर्वाचन क्षेत्रका जनताको सबैभन्दा ठूलो गुनासो थियो । प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पुर्याएको कुरामा कुनै शंका छैन ।
हामीले उद्योगहरूको पनि संरक्षण गर्नुपर्छ र नागरिकको स्वास्थ्यको पनि ध्यान दिनुपर्छ भन्दै आएको छु । यसका लागि एउटा निश्चित मापदण्ड तोकिएको छ । ७२ सालको भूकम्पपछि धेरै इँटा भट्टाहरूले पुराना र कम गुणस्तरका चिम्नीहरू प्रयोग गरिरहनुभएको छ, जसले बढी प्रदूषण फैलाउँछ ।
अब हामीले ती उद्योगहरूलाई ‘वातावरणमैत्री प्रविधि’ अपनाउन कडाइ गर्नेछौँ । मापदण्डभित्र रहेर उद्योग चलाउन सबैलाई छुट हुनेछ, तर स्वास्थ्यमा खेलबाड गर्ने अधिकार कसैलाई हुने छैन । हामी चाँडै नै इँटा भट्टाहरूको प्रभावकारी अनुगमन गर्नेछौँ र प्रदूषण नियन्त्रणका लागि आधुनिक मेसिनहरू जडान गर्न व्यवसायीहरूलाई प्रोत्साहित र आवश्यक परे सहुलियतको व्यवस्था गर्नेछौँ ।
अन्तमा, भक्तपुरको एउटा निकै चर्चामा रहने विषय ‘ख्वप विश्वविद्यालय’ को स्थापना हो । यसअघिका सांसदले यसलाई धेरै उठाउनुभयो तर कार्यान्वयन हुन सकेन । तपाईंले आफ्नो वाचा पत्रमा यसलाई प्राथमिकता दिनुभएको छ । यसलाई कसरी सफल बनाउनुहुन्छ ?
ख्वप इन्जिनियरिङ कलेज र यहाँका अन्य शिक्षण संस्थाहरूले देशकै लागि राम्रो जनशक्ति उत्पादन गरिरहेका छन् । तर, यसलाई विश्वविद्यालयको मान्यता दिलाउने कुरा लामो समयदेखि राजनीतिक मुद्दा मात्र बन्यो । यसअघिका माननीयज्यूले संघर्ष त गर्नुभयो, तर परिणाम निस्किएन ।

हामीले यसलाई केवल राजनीतिक एजेन्डा मात्र बनाएका छैनौँ । हामीले पार्टीको नेतृत्व र विज्ञहरूसँग बसेर यसको मोडालिटीबारे छलफल गरिसकेका छौँ । मेरो कार्यकालमा ख्वप विश्वविद्यालय स्थापना हुनुपर्छ र हुन्छ भन्नेमा म दृढ छु ।
तर, विश्वविद्यालय कुनै एउटा नगरपालिका वा एउटा राजनीतिक दलको मात्र हुनुहुँदैन । यो एउटा राष्ट्रिय स्तरको स्वायत्त संस्था हुनुपर्छ । हामी भक्तपुरका जनताको साझा चाहनालाई सम्बोधन गर्दै सबै पक्षसँग छलफल गरी यसको संरचना र सञ्चालन विधिलाई अन्तिम रूप दिनेछौँ ।
भक्तपुरलाई एउटा शैक्षिक हब बनाउने मेरो सपना छ, र ख्वप विश्वविद्यालय त्यसको मेरुदण्ड हुनेछ ।










प्रतिक्रिया