कहिले होला डेपुटी गभर्नर नियुक्ति ?

273
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरहरू रिक्त भएको करिब १ महिना पुग्न लागेको छ । २१ फागुनको प्रतिनिधिसभा चुनाव लगत्तै २४ फागुनदेखि दुवै डेपुटी गभर्नरहरू ५ वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए ।

करिब १ महिनासम्म डेपुटी गभर्नर पद रिक्त रहेका छन् । नयाँ जनादेश आइसकेको कारण तत्कालीन सरकारले डेपुटी गभर्नर नियुक्ति प्रक्रिया सुरु गरेन । गत शुक्रबार नयाँ सरकार गठन भएसँगै शुक्रबार नै पहिलो मन्त्रिपरिषद् बैठक र सोमबार आज दोस्रो मन्त्रिपरिषद् बैठक बसेको छ ।

तर मन्त्रिपरिषद् बैठकले डेपुटी गभर्नर नियुक्तिबारे कुनै निर्णय गरेन । नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था अनुसार गभर्नरले डेपुटी गभर्नरको लागि अधिकृत विशिष्ट तहमा कार्यरत कर्मचारीबाट रिक्त रहेको डेपुटी गभर्नर संख्याको दोब्बर संख्यामा नाम सिफारिस गर्ने र सोहीमध्येबाट नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ।

गभर्नरले अर्थ मन्त्रालयमार्फत सरकार समक्ष डेपुटी गभर्नरको लागि नाम सिफारिस गर्नुपर्ने हुन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदबहाली गरेपछि आइतबार गभर्नर डा. विश्वनाथ पौडेलसँग छलफल गरेका थिए । करिब एक घण्टा भएको छलफलमा गभर्नर पौडेलले आर्थिक तथा वित्तीय अवस्थाका बारेमा ब्रिफिङ गरे पनि डेपुटी गभर्नर नियुक्तिबारे खासै छलफल नभएको स्रोतले बताएको छ ।

गभर्नर पौडेलले डेपुटी गभर्नर नियुक्तिको विषयमा केही कुरा राखे पनि अर्थमन्त्री डा. वाग्लेले थप छलफल गर्ने बताएकाले आइतबारको भेटमा डेपुटी गभर्नर नियुक्तिबारे कुनै ठोस निष्कर्ष नभएको स्रोतले बताएको छ । अर्थमन्त्री खनालले डेपुटी गभर्नरका लागि प्रतिस्पर्धा गर्ने १८ जना कार्यकारी निर्देशकहरूको कार्यसम्पादन र क्षमता मूल्याङ्कन गर्ने र क्षमताका आधारमा मात्रै डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने भन्दै सोही अनुसार तयारी गरिरहेको स्रोतले जनाएको छ ।

‘डेढ महिनादेखि डेपुटी गभर्नर पद खाली भएको विषयमा गभर्नरसाबले अर्थमन्त्रीसँग कुरा राख्नु भएको थियो, तर मन्त्रीज्यूले यस विषयमा पछि कुरा गरौंला भन्नु भएको बुझिएको छ,’ स्रोतले भन्यो ।

केही दिनमा नै अर्थमन्त्री र गभर्नरबीच डेपुटी गभर्नर नियुक्तिका विषयमा छलफल हुने र गभर्नरले नाम सिफारिस गर्न सक्ने बताइएको छ । गभर्नर पौडेलले केही महिना अगाडि नै सबै १८ जना कार्यकारी निर्देशकहरूको नै बायोडाटा मगाएर तयारी गरेका थिए । अर्थमन्त्रीसँग छलफल भएपछि डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गर्न गभर्नर पौडेलले आवश्यक तयारी गरेर बसेको स्रोतको दाबी छ ।

कसरी नियुक्त हुन्छ डेपुटी गभर्नर ?
राष्ट्र बैंक ऐनको दफा १६ मा डेपुटी गभर्नर नियुक्ति सम्बन्धी व्यवस्था गरिएको छ । दफा १६ को उपदफा (१) मा नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा डेपुटी गभर्नरको नियुक्ति गर्ने व्यवस्था छ । सोही दफाको उपदफा (२) मा गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिस गर्दा राष्ट्र बैंकका विशिष्ट अधिकृतहरूमध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्ने व्यवस्था छ । दुवै डेपुटी गभर्नर रिक्त रहेकोले ४ जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ ।

यसरी डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति राष्ट्र बैंकको सेवाबाट स्वतः निवृत्त भएको मानिने व्यवस्था छ ।

डेपुटी गभर्नर नियुक्त नहुँदा राष्ट्र बैंकमा डेपुटी गभर्नरले अध्यक्षता गर्ने कतिपय समितिको बैठक र निर्णय तथा काम कारबाही पनि प्रभावित भएको कर्मचारीहरू बताउँछन् । कर्मचारी बढुवा, नियमन समितिबाट हुने कतिपय निर्णय र बैठक प्रभावित भएको उनीहरूको भनाइ छ । यद्यपि नियमन समितिको अध्यक्षता गर्ने डेपुटी गभर्नर रिक्त हुँदा पनि सोही समितिमा छलफल भएर आउने कतिपय परिपत्र भने सरकार गठन हुनु अगाडि नै राष्ट्र बैंकले जारी गरेको थियो ।