चाहिनेभन्दा बढी गतिशील बन्यो अटो बजार, आम्दानीलाई संकुचित बनाएको व्यवसायीको गुनासो

छोटो समयमै ‘आउटडेटेड’ हुन्छन् गाडी!

1.1k
Shares

काठमाडौं । पछिल्लो केही वर्ष यता अटोमोबाइल्स बजार आवश्यक्ता भन्दा बढी गतिशिल (हाइपर–डाइनामिक) भएको गुनासो व्यापारीहरुले गरिरहेका छन् । गाडी खरिदबिक्रीका आधारमा विश्व बजारसँगै नेपाली अटो बजार चाहिने भन्दा बढी गतिशिल भएको र त्यसले व्यापारमा असर गरेको गुनासो व्यापारीहरुको छ ।

केही वर्ष अगाडिसम्म बजारमा कुनै स्थापित ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्दा त्यसको लोकप्रियता वर्षौंसम्म कायम रहन्थ्यो । एउटै भेरियन्टले लामो समयसम्म बजारमा आफ्नो वर्चस्व कायम राख्ने र ग्राहकको विश्वास जित्ने स्थिति थियो । तर, अहिले परिदृश्य फेरिएको छ ।

बजारमा नयाँ ब्रान्ड र भेरियन्टको आगमनसँगै ग्राहकको प्राथमिकता क्षणभरमै परिवर्तन हुने गरेको छ अर्थात् नयाँ भेरियन्टका गाडीतर्फ नै मानिस झुम्मिने गरेका छन् । यसले गर्दा अटो व्यवसायीले पनि छोटोछोटो समयमा नयाँ भेरियन्ट र मोडलका गाडी भित्र्याउन बाध्य हुनुपर्ने अवस्था बनेको छ ।

अटो व्यवसायीहरूका अनुसार अहिले बजारमा जुन ब्रान्डको नयाँ भेरियन्ट वा मोडलको गाडी भित्रिन्छ ग्राहकको भीड त्यतै लाग्ने गर्दछ । अर्थात् एकदमै छोटो समयमा नै गाडी ‘आउटडेटेड’ हुने किसिमको स्थिति बनेको छ । यसलाई व्यवसायीले बजार चाहिने भन्दा बढी गतिशिल भएको रुपमा हेरेका छन् ।

नेपाली बजारमा पछिल्लो समय लोकप्रियता कमाएको मध्येमा पर्ने बिवाईडी गाडीको खरिदबिक्रीलाई हेर्ने हो पनि यहि किसिमको ट्रेन्ड पाउन सकिन्छ । नेपालका लागि चिनियाँ विद्युतीय ब्रान्ड बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले २०७९ असोजमा नेपालमा एटो–३ सार्वजनिक गर्यो ।

यसको एक वर्ष पनि हुन नपाउँदै २०८० भदौमा फेरि बिवाईडीको डल्फिन सार्वजनिक भयो । यसपछि, फेरि २०८१ को पुसमा बिवाईडी एम–६ लन्च भयो । २०८२ असारमा बिवाईडी डल्फिनको नयाँ मोडल सार्वजनिक भयो भने २०८२ साउनमा नै बिवाईडी सिलायन–७ लन्च भयो ।

यहि वर्षको साउनमा फेरि बिवाईडीले आफ्नो एटो–१ र भदौमा बिवाईडी एटो–२ सार्वजनिक गर्यो । छोटो समयको अन्तरालमा नै दर्जनौं मोडलका गाडी भित्रिँदै गर्दा ग्राहक पनि नयाँनयाँ मोडलतर्फ सिफ्ट हुँदै गए । यसरी नयाँ भेरियन्ट वा मोडलका गाडी आएसँगै ग्राहक पनि नयाँतर्फ नै झुम्मिने प्रवृत्ति देखिँदै आएको छ ।

अझ भन्नुपर्दा अहिले बजारमा जसले छिटोछिटो नयाँनयाँ मोडल र भेरियन्टका गाडी ल्याउन सक्छ उसैको बिक्री संख्या राम्रो हुने अवस्था बनेको छ । सोही कारण अटो ब्रान्डले त्यहि किसिमले जतिसक्दो चाँडोचाँडो नयाँ–नयाँ मोडलका गाडी भित्र्याउन होडबाजी नै गर्ने गरेका छन् । अटो व्यवसायीका अनुसार महिनौं जसो नयाँ गाडी आउने र ग्राहकको रोजाई पनि सोहीअनुसार नयाँतर्फ नै ढल्किने क्रमले बजार चलायमान भएको देखिएपनि वास्ताविक व्यापार र आम्दानीमा भने असर पुराइरहेको छ ।

बजारमा नयाँ गाडी आउनसाथ जति नै राम्रो ब्रान्डको जति नै गुणस्तरीय गाडी भएपनि यीनीहरुले आफ्नो चमक छोटो समयमा नै गुमाउने गरेका छन् । व्यवसायीहरूका अनुसार सन् २०१२–१३ तिर भित्रिएका मोडलहरू केही वर्षसम्म लगातार बिक्री हुन्थे ।
तर, अहिले उत्पादकहरूले हरेक वर्षजसो मोडल परिवर्तन गर्ने र नयाँ फिचर थप्ने होडबाजी गर्छन् । सोहीअनुसार गाडी खरिदकर्ता पनि नयाँ मोडल खरिदतर्फ नै केन्द्रित हुन्छन् । पछिल्लो पटक लन्च भएको भन्दा अगाडिको गाडीमा चासो नै देखाउँदैनन् ।

यसरी, अटो बजार चाहिँने भन्दा बढी गतिशिल भएको र यसले व्यवसायीको आम्दानीमा समेत असर पुराइरहेको नेपालका लागि ओमोडा र जेइको ब्रान्डको आधिकारिक वितरक अर्थात् शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रुपेश शर्मा भट्ट बताउँछन् ।

‘बजारमा एउटा गाडी लन्च हुन नपाउँदै अर्को गाडी आउँछ । यसपछि, नयाँ लन्च हुनसाथ पहिलेको गाडी पुरानोमा गणना हुन्छ । जसलाई बेच्न ४ देखि ५ लाख रुपैयाँसम्मको भारी छुट दिनुपर्ने बाध्यता आउँछ,’ शर्माले भने, ‘यसले संख्यात्मक रुपमा गाडी बिक्री बढी भएको देखिएपनि आम्दानीको मार्जिन भने निकै संकुचित बनाएको छ ।’

लामो समय होल्ड गरेर गाडी बिक्री गर्छु भन्दा मोडल पुरानो हुँदै जाने, पार्किङ शुल्क र बैंकको ब्याजदेखि अन्य धेरैको मूल्य बढ्दै जाने हुन्छ । यस्तो स्थितिमा सवारीसाधन छिटो बिक्री गर्नुपर्ने दबाब अटो व्यवसायीमा हुन्छ । अर्कोतर्फ, बजारमा अरु कुनै नयाँ गाडी आउन साथ त्यसअघि लन्च भएको गाडी ओझेलमा परिहाल्छन् । जुन व्यवसायीका लागि टाउको दुःखाईको विषय बनेको हो ।

‘प्राइस कम्पिटिटिभ (मूल्य प्रतिस्पर्धी) बनाउन सुरुमै मार्जिन कम राखिएको हुन्छ । त्यसमा छोटो समयमा नै ४/५ लाखसम्मको डिस्काउन्ट दिँदा व्यवसायीसँग के नै बाँकी रहन्छ र ?,’ उनले भने, ‘यसर्थ, संख्यामा छोटो समयमा बढी गाडी बिक्री गरिएको देखिएपनि कम मार्जिनमा बिक्री गर्नुपर्ने कारण आम्दानी संकुचित छ ।’

उनले लामो समय लगाएर एउटा मोडलको गाडी भित्र्याएर केही समय बिक्री गर्न नपाउँदै नयाँ मोडल ल्याउनुपर्ने बाध्यताका कारण पनि पहिलाको तुलनामा बजारको स्थिति कमजोर भएको बताए ।

‘बजारमा कुन कम्पनीले कति गाडी बेच्यो भनेर हेर्यो भने संख्या राम्रै देखिन्छ, तर त्यसले कम्पनीको वास्तविक नाफामा खास योगदान पुर्‍याउन सकेको छैन यसको मुख्य कारण बजार आवश्यक्ता भन्दा बढी गतिशिल भएर हो,’ शर्माले भने । उनले बजारमा जुन नयाँ आयो त्यसैमा झुम्मिने प्रवृत्तिले सबै व्यवसायीमा चुनौति थपिदिएको बताए ।

हुन त यसैपनि विश्व बजारमा नयाँनयाँ अटो ब्रान्डका गाडी प्रतिस्पर्धी रुपमा आइरहेका छन् । सोहीअनुसार नेपाली बजारमा पनि नयाँनयाँ गाडी ल्याउने होडबाजी नै छ । यस्तो स्थितिमा ग्राहकमा पनि लेटेस्ट मोडलको गाडी चढ्ने मानसिकता बनेको छ । गाडीको विशेषतासँगै खरिदपछिको सुविधा (आफ्टरसेल्स सर्भिस), पार्टपुर्जाको उपलब्धता लगायत धेरै कुरालाई कम प्राथमिकतामा राख्ने गरेको विषयसमेत अटो व्यवसायीले राख्दै आएका छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलिया पनि पछिल्लो समय बजार स्वभाविक र आवश्यक्ता भन्दा बढी गतिशिल भएको अनुभूति सुनाउँछन् । ‘पछिल्लो समय गाडीको गुण र दोषका आधारमा खरिद गर्ने भन्दा पनि कुनचाँही नयाँ आएको छ भनेर हेर्ने गरिएको देखिन्छ,’ उनले भने, ‘नयाँ मोडलमा नै उपभोक्ता झुम्मिँदा, अघिल्ला मोडलहरू बिक्री गर्न व्यवसायीलाई दबाब सिर्जना हुन्छ ।’

यसले कुनै ब्रान्डले गाडी राम्रै संख्यामा बिक्री गरेको देखिएपनि व्यवसायीको हातमा भने आम्दानी कम पर्ने गरेको छ । यसका अलावा, लेटेस्ट मोडलतर्फ मात्रै खरिदकर्ता झुम्मिदा गुणस्तर, सेवा र पार्टपुर्जाको उलब्धता लगायतका धेरै कुरासमेत ओझेलमा पर्ने गरेका छन् ।

चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (फागुन मसान्त)सम्ममा नेपालमा १४ अर्ब ९५ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको ६ हजार ३ सय ९६ युनिट विद्युतीय चारपाग्रे सवारी साधान आयात भएको देखिन्छ । गत वर्षको सोही अवधिमा भने ७ हजार ८९ युनिट ईभी आयात भएको थियो । भन्सार विभागका अनुसार उक्त आयातमार्फत् सरकारले ९ अर्ब ११ करोड १ लाख ८८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

नेपालमा विशेषगरी चीन, भारत, जर्मनी, दक्षिण कोरिया, इण्डोनेसिया, अमेरिका, अस्ट्रिया र बेलायत लगायतका देशहरूबाट विद्युतीय सवारी साधन भित्रिने गरेका छन् । नेपालमा ५० किलोवाटसम्मका २ हजार १९८ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ६७२ युनिट, गाडी आयात भएका छन् । १०१ देखि २०० किलोवाटसम्मका ५१९ युनिट, २०१ देखि ३०० किलोवाटसम्मका ७ युनिट तथा अन–एसेम्बल (५० किलोवाट) का २ युनिट आयात भएका छन् ।

यस अवधिमा चीनबाट ५० किलोवाट क्षमताका १ हजार ३ सय १३ थान कार, जीप र भ्यान आयात हुँदा भारतबाट ८८५ युनिट सवारी साधन भित्रिएका छन् । यस्तै, फागुनसम्ममा ५१ देखि १०० किलोवाट क्षमताका ३ हजार ६७२ सवारीसाधन भित्रिएका छन् । यस वर्गमा चीनबाट मात्रै २ हजार ६१४ युनिट, भारतबाट ६१७ युनिट, थाइल्याण्डबाट ४४० युनिट र बेलायतबाट १ युनिट सवारीसाधन भित्रिएका छन् ।

आठ महिनामा १०१ देखि २०० किलोवाट क्षमताका ५१९ सवारीसाधन नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ । यस क्षमताका गाडीमा चीनबाट ४६८, भारतबाट २९ थान, जर्मनीबाट १० युनिट, अमेरिकाबाट १० युनिट र दक्षिण कोरियाबाट २ युनिट पिक पावरयुक्त कार, जीप र भ्यान आयात भएका छन् ।

चालु आवको फागनुसम्ममा २०१ देखि ३०० किलोवाट क्षमताका ७ युनिट गाडी भित्रिएका छन् । तथ्यांकअनुसार २०१ देखि ३०० किलोवाट क्षमताका सवारी साधनमा चीनबाट ४ युनिट, संयुक्त राज्य अमेरिकाबाट २ युनिट र अस्ट्रियाबाट १ युनिट आयात भएका छन् ।

आठ महिनाको अवधिमा कुल ३ हजार ८६४ युनिट पेट्रोल कार आयात भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ५३.४५ प्रतिशतले बढी हो । गत वर्ष फागुनसम्म कुल २ हजार ५१८ युनिट पेट्रोल कार आयात भएको थियो । आठ महिनामा कुल ३ हजार ८६४ युनिट पेट्रोल कार आयात हुँदा १ हजार ७९४ युनिट अनएसेम्बल कार रहेको विभागको तथ्यांक छ ।