
काठमाडौं । करिब दुई–तिहाई नजिकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा अर्थमन्त्रीको जिम्मेवारी डा. स्वर्णिम वाग्लेले पाएका छन् । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र त्यसपछि फागुन २१ मा सम्पन्न निर्वाचनपश्चात् बनेको सरकारमा अर्थमन्त्रालय सम्हाल्ने जिम्मेवारी वाग्लेले पाएका हुन्।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मुलुकको महत्वपूर्ण मन्त्रालयको रुपमा रहेको अर्थमन्त्रालयको जिम्मेवारी वाग्लेलाई प्रदान गर्ने निर्णय गरेका हुन् । वाग्ले फागुन २१ मा सम्पन्न निर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
लामो समयसम्म नेपाली कांग्रेसको शुभेच्छुक रहेका उनी २०७९ सालको चैतमा रास्वपा प्रवेश गरेका थिए । रास्वपाको साधारण सदस्य बनेर प्रवेश गरेका उनलाई रास्वपाको जलेश्वर बैठकमार्फत् सभापति रवि लामिछानेले उपसभापति बनाएका थिए । रास्वपाको अर्थ नीति विभाग प्रमुख समेत रहेका वाग्लेलाई पार्टीले चुनावी वाचापत्र लेख्नका लागि संयोजक तोकिएको थियो ।
गोरखा बुंकोटमा २०३१ सालमा जन्मेका वाग्लेको परिवार बसाइँसराइ गरी चितवन झरेको थियो । उनी नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुँदा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई हराएर पहिलोपटक सांसद बनेका थिए ।
अर्थविद् समेत रहेका वाग्ले रास्वपाबाट उम्मेदवार हुँदा राष्ट्रपति रामचन्द्र पौडेलले जितेको क्षेत्र कांग्रेसले गुमाएको थियो । सोहीअनुसार यहि २०८२ फागुन २१ भएको निर्वाचनमा पनि वाग्ले दोस्रोपटक तनहुँ–१ बाट नै निर्वाचित भएका थिए ।
स्वर्णिम वाग्लेले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को एशिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय ब्यूरोका पूर्व मुख्य आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।
उनले सो बेला ३६ देशहरू हेर्ने गर्थे । उनले सन् १९७९ मा काठमाडौंमा स्थापना भएको दक्षिण एशियाली नीतिगत ‘थिंक–ट्यांक’ एकीकृत विकास अध्ययन संस्था (आईआईडीएस)को अध्यक्षतासमेत गरे । डा. वाग्ले २५ वर्षभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय विकास विज्ञका रूपमा काम गरेका छन् । उनीसँग वासिङ्टन डीसीस्थित विश्व बैंक र न्यूयोर्क, हनोई तथा कोलम्बोस्थित यूएनडीपीमा वरिष्ठ अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव छ ।
‘द ग्रेट अपहिभल’ क्याम्ब्रिज युनिभर्सिटी प्रेस, २०२२) को सह–सम्पादन र सन् २०१३ को विश्वव्यापी मानव विकास प्रतिवेदन ‘द राइज अफ द साउथ’को सह–लेखनको काम समेत गरेका छन् । सन् २००२ देखि २००७ सम्म उनले युएनडिपीको ‘एशिया ट्रेड इनिसिएटिभ’को सह–नेतृत्वसमेत गरेका थिए ।
सन् २०१४ देखि २०१८ को बीचमा डा. वाग्लेले नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा विभिन्न समयमा तीन वर्ष सेवा काग गरे । सुरुमा आयोगको सदस्य र पछि उपाध्यक्षको भूमिका उनले निर्वाह गरे ।
सरकारको सर्वोच्च नीतिगत सल्लाहकार निकायको प्रमुखको रूपमा उनले राष्ट्रिय विकास रणनीतिहरूको तर्जुमा गर्ने, सार्वजनिक क्षेत्रका नीतिहरू बीच समन्वय गर्ने, मन्त्रीस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र सांगठनिक परिवर्तनको मार्गनिर्देशनको काम गरे थिए । सन् २०१५ को विनाशकारी भूकम्पपछि उनले ‘विपद् पछिको आवश्यकता आकलन’को सह–नेतृत्व गरेका उनले पुनर्निर्माणका लागि ४ अर्ब अमेरिकी डलरको सहयोग प्रतिबद्धता जुटाउन महत्वपूर्ण भूमिका खेले ।
डा. वाग्ले विभिन्न गैर–नाफामुलक संस्थाहरूलाई सल्लाह दिने काम पनि गर्दै आएका छन् । उनी काठमाडौं विश्वविद्यालयका पूर्व सिनेटर पनि हुन् । विश्व बैंकको ‘दक्षिण एशिया च्याम्पियन्स ग्रुप’ का एक सदस्य रहेका उनले एशियाली विकास बैंक (मनिला) र अन्तर्राष्ट्रिय व्यापार केन्द्र (जेनेभा) मा अल्पकालीन कार्यभार सम्हालेका थिए ।
स्वर्णिम वाग्लेले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी), हार्वर्ड युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र लन्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । गोरखामा जन्मिएका वाग्ले लन्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा प्राप्त गरेको विषय नेपालमा सधैं चर्चा हुने गर्दछ ।
२०७१ सालमा नेपाल फर्केका उनी राष्ट्रिय योजना आयोगका सदस्य बने । २०१४ देखि २०१८ सालसम्म दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भई काम गरेका थिए । वाग्ले कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा उपाध्यक्ष बनेका थिए । एसिया प्रशान्तका विभिन्न देशहरूको आर्थिक नीति निर्माणमा समेत योगदान पुर्याएको वाग्ले यूनडीपी एसिया–प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत काम गरेका व्यक्ति हुन् ।
कस्ता छन् वर्तमान आर्थिक सूचक ?
वाग्लेले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा ‘बाह्य क्षेत्र’को स्थिति सकारात्मक नै देखिन्छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई ३३ खर्ब २ अर्ब ६६ करोड पुगेको छ । विदेशी विनिमय सञ्चितिमध्ये गएको असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ ।
मुलुकको शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोडले बचतमा छ । यस्तो स्थिति अघिल्लो आवको सोही अवधिमा २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँ थियो । नेपाली अर्थतन्त्रको मजबुद क्षेत्रको रुपमा रहेको ‘विप्रेषण’ (रेमिट्यान्स) आप्रवाह पनि सकारात्मक अवस्थामा छ । आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।
यद्यपि, बैंकहरुमा निक्षेप बढेको बढ्यै छ । चालू आवको सात महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७६ खर्ब ९७ अर्ब नाघेको छ । कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत रहेको छ । माघ सम्मको तथ्यांकअनुसार नेपालको निर्यात ३२.२ प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब पुगेपनि आयात भने ११ खर्ब २३ अर्ब नाघेको छ । यसरी हेर्दा नेपालको व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड पुगेको छ ।
सरकारले माघसम्म ६ खर्ब ६५ अर्ब २ करोड राजस्व उठाउँदा ८ खर्ब एक अर्ब ३७ करोड खर्च गरिसकेको छ । यस्तै, विकास खर्च (पुँजीगत खर्च) अघिल्लो वर्षको तुलनामा ६.८५ प्रतिशतले घटेर जम्मा ६३ अर्ब ७३ करोडमा सीमित भएको छ ।
नेपाली अर्थतन्त्रप्रति वाग्लेको धारणा
देशमा सुशासन नहुँदा अर्थतन्त्रले ठूलो आकार ग्रहण गर्न नसकेको तर्क राख्दै आएका वाग्लेले देशको आर्थिक विकासका लागि सुशासन पहिलो शर्त रहेको विषय राख्दै आएका छन् । उद्यम/व्यवसायलाई सहजीकरण गर्दै देशमा लगानी वातावरण बनेको भए अर्थतन्त्रको आकार बढ्ने वक्तव्य दिँदै आएका वाग्लेले देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन स्पष्ट नीति, नियत, दृष्टिकोण र क्षमता हुनुपर्छ भन्ने विषयमा जोड दिँदै आएका छन् ।
देशलाई साच्चिकै आर्थिक रूपमा बलियो बनाउने हो भने डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, हरित औद्योगिकरण, पर्यटन र कृषिलाई माथि उकास्नुपर्ने उनको धारणा छ । भूपरिवेष्ठित राष्ट्र भएकाले दूरी र तौल अभिसाप नबने सर्भिस ओरियन्टेट डिजिटलाइजेसनमा जानुपर्ने धारणा उनले विभिन्न प्लेटफर्ममा पहिलादेखि नै राख्दै आएका छन् । हामीसँग पर्याप्त पानी रहेकाले यसबाट अतिरिक्त आम्दानी गर्न सक्ने सम्भाना छ । हरित औद्योगिकरणका लागि नेपालले क्षेत्रीय उत्पादन सञ्चालनसँग जोडिन सक्ने विषय उनले बताउँदै आएका छन् ।
वार्षिकरूपमा १० लाख पर्यटन आइरहेको स्थितिबाट पर्यटन क्षेत्रको उपयोगबाट देश अर्थतन्त्रलाई बलियो बनाउन यो क्षेत्रबाट प्रचूर सम्भावना भएको विषयमा उनको जोड छ । कृषिमा लगानी बढाएर बजार र प्रविधिसँग जोड्नुपर्ने तर्क गर्दै आएका वाग्लेले हालको प्रदेश स्वरूपले डेलिभर गर्न नसकेको विषय राख्दै आएका छन् ।
अहिलेको ७५३ गाउँपालिका/नगरवपालिकालाई घटाएर ५०० भन्दा कम गर्नुपर्ने बताउँदै आएका वाग्लेले प्रदेशले संघको नक्कल गरेका कारण पनि जनतालाई महँगो परेको तर्क उनको छ । देशको आर्थिक हिसाबले हेर्दा पनि राष्ट्रियसभाको आकार बोझिलो भएकाले यसलाई ३५ जना हाराहारीमा ल्याउँदा उचित हुने उनको तर्क छ ।
रास्वपाको करिब दई–तिहाई नजिकको एकल सरकार बनेकाले अब वाग्लेले आफ्ना यी योजनालाई कसरी अगाडि बढाउँछन् भन्ने विषय मुख्य हुनेछ । साथै, करको दायरालाई फराकिलो बनाउनुपर्ने धारणा राख्दै आएकाले वाग्लेले निजी क्षेत्र र अर्थतन्त्रका विभिन्न पाटोलाई अब कसरी सञ्चालन गर्छन् भन्ने विषय मुख्य हुनेछ ।









प्रतिक्रिया