६ वर्षअघिको ‘जय महाकाली’ गीतलाई रिरेकर्ड गरेर बालेनले ल्याए नयाँ म्युजिक भिडियो, जनतालाई दिए सन्देश

1.1k
Shares

काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले ६ वर्षअघि बनाएको गीतलाई रिरेकर्ड गरेर म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘जय महाकाली, आयो गोर्खाली’ शीर्षकको गीतलाई रिरेकर्ड र रिएरेन्ज गरेर बालेनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रसारका क्रममा खिचिएका भिडियो समेटेर गीतलाई पुनःप्रस्तुति गरेका हुन्।

यो गीत बालेनले सन् २०१९ मा (६ वर्षअघि) बनाएका थिए । सोही गीतलाई समयसापेक्ष बनाएर बालेनले बिहीबार साँझ युट्युबमा रिलिज गरेका हुन् ।

पार्टी (रास्वपा) ले बालेन शाहलाई संसदीय दलको नेता चयन गरेसँगै र भोलि उनी प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारीमा छन् । प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा बालेनले पुरानो गीतलाई पुनःप्रस्तुत गर्दै देश र जनतालाई विश्व जित्न अघि बढेको सन्देश दिएका हुन् । ‘जय महाकाली, आयो गोर्खाली’ गीतलाई उनले आफ्नो कार्यदिशा र राजनीतिक सङ्कल्पको ‘घोषणापत्र’का रूपमा प्रस्तुत गरेका हुन् ।

गीतमार्फत बालेनले ‘विश्व जित्छु यसपालि, डराउँदैन यो नेपाली’, ‘देखेर गोर्खाली दुश्मनलाई पर्नेछ हृदयघात’, ‘रोक्नेको घाँटी न्याँकूला’ जस्ता शब्द प्रयोग गरेका छन् ।

भोलि बालेन सरकारको शपथ ग्रहण हुँदै बालेनले समर्थकहरूमा उत्साह ल्याउने गीत सार्वजनिक गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म गीतमा १ घण्टामा १ लाख ६ हजार भ्युज पुगिकसकेको छ ।

बिहीबार सार्वजनिक भएको भर्सनः

६ वर्षअघि बनाएको भर्सनः

यस्तो छ, जय महाकाली गीतको शब्दः
जय महाकाली, आयो गोर्खाली
विश्व जित्छु यसपालि, डराउँदैन यो नेपाली
जय महाकाली, आयो गोर्खाली
हात-हातमा रखवाली, फैलिन्छ यो नेपाली
जय महाकाली, आयो गोर्खाली
विश्व जित्छु यसपालि, डराउँदैन यो नेपाली
जय महाकाली, आयो गोर्खाली
हात-हातमा रखवाली, फैलिन्छ यो नेपाली

मुटु भरी आँट मेरो रातो रगत उमाली
दाजु-भाइ साथ मेरो यसपटक चाहिँ उचाली
ल्याउँछु शिर थापेर नेपाल आमा पुकारी
नबस्नु है रङ्गाउँछु तिमीलाई श्रृङ्गारी
यसपालि चाहिँ घर-घरमा हाँसो खुसी पुग्नेछ
हरियो वनको गाथ मेरो जस्तो आए नि जुध्नेछ
नभुलियोस् यो सास मेरो चितुवा झैँ कुद्नेछ
बिरुवा झैँ फुल्नेछ यो वसन्तको पालुवा

यो पालो माँ कालिका महाकालीको आशिर्वाद
पारसमणि चम्किनेछ देऊ केवल हातमा हात
नेपाल आमा जनता र हामी सबैको आत्मसात्
देखेर गोर्खाली दुश्मनलाई पर्नेछ हृदयघात
पुग्नेछौँ शिखरमा झुकी हाली सबलाई दिँदै मात
९-२ मिलेर विदेशी माटो चिरेर भिरेर
काँधमा माया आउनेछ सान लिएर
ज्यान दिएर भिड्नेछ यसपालि क्रान्ति हेर!

तराई जस्तो छाती मेरो, पहाड शिर टाकुरा
सगरमाथा झैँ चिसो निधार बलियो यो पाखुरा
जस्तो आए नि उम्किन्न बैरी सोची फ्याँकूला
म हिँड्छु दौडिन्छु रोक्नेको घाँटी न्याँकूला
म भिड्छु छोड्दिन थेग्नलाई यो ज्यान ब्याकुल छ
चिनिन्छ हजारौँ बासी विश्व एक ठाउँ राखूँला
चिर्दिन्छु जस्तै नि जाल बाल सबै माकुरा
आगो बनी बल्नेछु म चिसो पनि बरफ झैँ

विश्व झुकी बोल्नेछ हेर नेपाल रै’छ फरक नै
अरु भन्दा अनुपम छ मेरो चालढाल पनि
नआइज मेरो सामु खोक्रो गोलीको खाल बनी
भूँइचालो झैँ गर्जिनेछु ४६ को साल बनी
असारे बनी बर्सिन्छु बाढी ल्याउने काल बनी
इन्कलाब क्रान्तिले शान्ति सम्हाल्छ नि
एकताको बल मेरो राष्ट्रिय दण्ड
अखण्ड नेपाली यसपालि इतिहास बन्दैछ