
धनगढी । कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा स्थानीय व्यापारीहरूको समूहले प्रवेश गरेर गुल्मपति एवं सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि हातपात गरेका छन् ।
भारतबाट अवैध रूपमा ल्याइएको सामान सशस्त्र प्रहरीले बरामद गरेको विषयलाई लिएर आक्रोशित बनेका १५ जनाभन्दा बढीको समूह बुधबार गुल्मको गेट तोडफोड गर्दै ब्यारेकभित्र छिरेको थियो । डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै व्यापारी र सर्वसाधारणको भिडले उनीमाथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सशस्त्र प्रहरी सुदूरपश्चिम बाहिनीका अनुसार मंगलबार मात्रै सशस्त्रले भन्सार छली गरेर ल्याइएको करिब ५६ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको थियो ।
भन्सार छलीमा कडाइ गरेपछि केही समयदेखि स्थानीय व्यापारीहरू सशस्त्र प्रहरीसँग रुष्ट थिए । सोही विषयमा टीकापुर उद्योग वाणिज्य संघको टोलीसहित गुल्ममा छलफल भइरहेको र छलफल सकिएलगत्तै युवाहरूको समूह ब्यारेकभित्र पसेर आक्रमणमा उत्रिएको बताइएको छ ।
३१ जनाको टोली फिर्ता, छानबिन समिति गठन
आफ्नै कमाण्डर (डीएसपी) माथि हातपात हुँदासमेत स्थिति नियन्त्रणमा लिन नसकेको र सुरक्षामा कमजोरी देखिएको भन्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले गुल्ममा कार्यरत डीएसपी पौडेलबाहेकको सिंगो टोलीलाई फिर्ता बोलाएको छ ।
गुल्ममा कार्यरत ३१ जना सशस्त्र प्रहरीलाई जिल्ला तानिएको र त्यहाँ नयाँ टोली पठाउन लागिएको छ ।
घटनाको छानबिनका लागि सशस्त्र प्रहरी सुदूरपश्चिमका निमित्त बाहिनीपति दिग्विजय सुवेदीले एसपी अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका छन् । समितिको प्रतिवेदनका आधारमा थप प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरीले जनाएको छ ।









प्रतिक्रिया