चीनले बनायो विश्वकै सबभन्दा शक्तिशाली पीएनटी प्रणाली, कहिल्यै दिशाहीन नहुने सुनिश्चित

133
Shares

एजेन्सी । सन् २०१९ मा शाङ्हाई बन्दरगाहमा रहेका जहाजहरूले आफ्नो ट्य्राकिङ प्रणालीमा भौतारिएको देखाउन थाले ।

शारीरिक रूपमा ती जहाजहरू बन्दरगाहमा रोकिएका थिए तर तिनका जीपीएस रिसिभरहरूले असम्भव ठाउँहरूमा जहाज भएको देखाउन थाले । कहिले नदीको वारपार त कहिले कुनै ज्यामितीय अर्थ नलाग्ने गरी गोलो घेरामा घुमेको ।

यो कुनै प्राविधिक गडबडी थिएन । कसैले ती जहाजहरूले उपयोग गर्ने उपग्रह संकेतहरूलाई स्पुफिङ (नक्कली संकेत पठाएर भ्रमित पार्ने काम) गरिरहेको थियो ।

यस घटनाले इन्जिनियर र सैन्य योजनाकारहरूले लामो समयदेखि बुझेको तर सर्वसाधारणलाई विरलै व्याख्या गरिएको एउटा कुरा उजागर गर्यो । हाम्रो फोन, पावर ग्रिड, सेयर बजारदेखि क्रुज मिसाइलसम्मलाई आफू कहाँ छु, समय कति भयो र कति गतिमा चलिरहेको छु भनेर बताउने एउटा अदृश्य पूर्वाधारको तह हुन्छ ।

यो पूर्वाधार अन्तरिक्षबाट आउने उपग्रह संकेतहरूमा चल्छ । यसलाई पोजिसनिङ, नेभिगेसन एन्ड टाइमिङ वा संक्षिप्तमा पीएनटी भनिन्छ ।

पीएन्टीले प्रणालीहरू बीच सामञ्जस्य कायम गर्छ । महादेशभरिका प्रणालीहरू स्थिति र समयको मामिलामा एकसाथ रहन सक्नुको कारण यही हो । यस बिना वित्तीय सञ्जालले कारोबारको क्रम मिलाउन सक्दैन, टेलिकम टावरले कलहरू स्थानान्तरण गर्न सक्दैन र सेनाले एकअर्काको नजरमा नभएका एकाइहरू बीच समन्वय गर्न सक्दैन ।

आधुनिक विश्व संरचनात्मक रूपमा पीएनटीमा निर्भर छ । यस्तो तरिकाले निर्भर कि धेरै मानिसहरू र चिन्ताजनक रूपमा धेरै नीति निर्माताहरूले यसका बारेमा कहिल्यै सोच्नुपरेको छैन । तर, अहिले यो निर्भरता एउटा कमजोरी बनेको छ र युद्धभूमिमा यो निकै गम्भीर हुन सक्छ ।

यो वास्तविकता भारतीय सेनाको वरिष्ठ नेतृत्वबाट लुकेको छैन । सेप्टेम्बर २०२५ मा भारतीय सेनाका आर्टिलरी महानिर्देशक लेफ्टिनेन्ट जनरल अदोष कुमारले अपरेशन सिन्दूर सुरुवात मात्र भएको बताएका थिए ।

उनका अनुसार, भारतको अन्तरिक्षमा आधारित सम्पत्तिले सेनालाई प्रतिक्रिया दिनुभन्दा पहिले नै परिस्थिति अनुमान गर्न अनुमति दिन्छ । उनले निगरानी नै नन–कन्ट्याक्ट (प्रत्यक्ष सम्पर्क बिनाको) युद्धको आधार भएको बताए ।

‘विस्तृत क्षेत्रको इमेजिङ, इलेक्ट्रोनिक इन्टेलिजेन्स, पेलोड्स र मागअनुसारको लोन्च प्रणाली यी सबै स्वदेशी, भरपर्दो र लचिलो हुनुपर्छ,’ उनले भने ।

उनले अझै स्पष्ट पार्दै भने, ‘त्यसैगरी, विदेशी सञ्जालमा भर नपर्ने गरी हाम्रो अन्तरिक्षमा आधारित स्थिति निर्धारण र नेभिगेसनको विश्वसनीयता सुनिश्चित गरिनुपर्छ ।’

यस अन्तिम वाक्यले नयाँ दिल्लीलाई सोच्न बाध्य बनाउनुपर्छ किनभने आज भारतको स्वदेशी प्रणाली नाविक न भरपर्दो छ, न त लचिलो । यसले भारतलाई विदेशी प्रणालीमा निर्भर बनाएको छ । अर्कोतर्फ, भारतको मुख्य प्रतिद्वन्द्वी चीनले भने धेरै शक्तिशाली प्रणाली निर्माण गरिसकेको छ ।

भारतको स्वदेशी उपग्रह नेभिगेसन प्रणाली अहिले प्रभावकारी रूपमा निष्क्रिय जस्तै छ ।

यस वर्षको मार्च १३ मा नाविकका बाँकी चारवटा सक्रिय उपग्रहमध्ये एउटाको महत्त्वपूर्ण भाग बिग्रियो जसले गर्दा सक्रिय उपग्रहको संख्या तीनमा झर्यो । कुनै पनि स्थानको सही स्थिति पत्ता लगाउन कम्तीमा चारवटा उपग्रह चाहिन्छन् । अमेरिकी जीपीएसमाथिको निर्भरता हटाउन बनाइएको यस प्रणालीले अहिले आफ्नो आधारभूत कार्य नै गर्न नसक्ने भएको छ ।

समस्याको मुख्य जड आणविक घडी हो । यो यस्तो उपकरण हो जसले रूबिडियम परमाणुहरूको कम्पन मापन गरेर समय गणना गर्छ जसमा लाखौं वर्षमा मात्र एक सेकेन्डको फरक पर्छ । उपग्रह नेभिगेसनले संकेत उपग्रहबाट रिसिभरसम्म पुग्न लाग्ने समय मापन गरेर काम गर्छ ।

एक अर्ब भागको एक भाग सेकेन्डको त्रुटिले पनि स्थानको जानकारी सयौं मिटर फरक पार्न सक्छ । घडी बिना उपग्रह काम नलाग्ने फलामको थुप्रो मात्र हो ।

नाविकका घडीहरू विगत १० वर्षदेखि बिग्रँदै आएका छन् । सन् २०१६ मा पहिलोपटक घडी बिग्रिएको पत्ता लागेको थियो । सन् २०१८ को मध्यसम्ममा कक्षमा रहेका २४ मध्ये ९ वटा घडीले काम गर्न छाडेका थिए । आजसम्म प्रक्षेपण गरिएका ११ मध्ये ६ वटा उपग्रहका घडीहरू पूर्ण रूपमा फेल भइसकेका छन् ।

यसलाई प्रतिस्थापन गर्ने प्रक्रिया पनि सुस्त छ । सन् २०२५ को जनवरीमा पठाइएको एनभीएस–०२ उपग्रहले तोकिएको कक्ष भेट्टाउन सकेन । जुन २०२५ को पीएलएलभी–सी६१ मिसन उडानको बीचमै असफल भयो । सात महिनामा दुईवटा प्रक्षेपण भए र दुवै असफल रहे ।

सरकारले सन् २०२६ सम्ममा थप तीनवटा उपग्रह पठाउने वाचा गरेको छ तर प्रत्येक असफलताले अनुसन्धान र डिजाइनमा समय खर्च गराउँछ जुन समय भारतसँग छैन । नाविकले काम गरेको भए पनि यो पीएनटी पारिस्थितिक प्रणालीको एउटा तह मात्र हुन्थ्यो । उपग्रह संकेतहरू अवरुद्ध वा नष्ट भएमा प्रयोग गर्न मिल्ने कुनै जमिनमा आधारित ब्याकअप भारतसँग छैन ।

भारत आफ्नो क्षेत्रीय प्रणाली बचाउन संघर्ष गरिरहेका बेला चीनले विश्वकै सबैभन्दा मजबुत पीएनटी संरचना तयार पारेको छ । यसमा बेदु उपग्रह, इ–लोरन ग्राउन्ड स्टेशन र फाइबर–अप्टिक टाइमिङ नेटवर्कको त्रिकोणात्मक तह छ ।

चीनको आफ्नै नेभिगेसन यात्रा पनि अपमानबाट सुरु भएको थियो । सन् १९९६ को ताइवान जलयोजक संकटका बेला चीनले प्रहार गरेका तीनमध्ये दुईवटा मिसाइलले बाटो बिराएका थिए । त्यसबेला चीन अमेरिकी जीपीएसमा निर्भर थियो । त्यसपछि नै चीनले जतिसुकै मूल्य चुकाएर भए पनि आफ्नै विश्वव्यापी प्रणाली बनाउने निर्णय गर्याे ।

आज बेदु जीपीएसभन्दा पनि बढी सक्षम र लचिलो भइसकेको छ । सन् २०२५ सम्ममा बेदुका ५६ वटा उपग्रह छन् जुन जीपीएसको तुलनामा झन्डै दोब्बर हो । यसले पहाड वा गगनचुम्बी भवन भएका शहरमा पनि निर्बाध संकेत दिन्छ । चीनले आफ्ना सहयोगी राष्ट्रहरूलाई पनि यो सुविधा दिएको छ । अधिकारीहरूका अनुसार, पाकिस्तान अहिले सैन्य र नागरिक दुवै प्रयोगका लागि पूर्ण रूपमा बेदुमा निर्भर छ जसले गर्दा उसको जीपीएसमाथिको निर्भरता हटेको छ ।

कुनै पनि उपग्रह प्रणाली कमजोर हुन सक्छ भन्ने बुझेर चीनले जमिनमा आधारित एउटा शक्तिशाली तह थपेको छ । त्यो हो, इ–लोरन । रोचक कुरा त के छ भने यो प्रविधि अमेरिकाले नै आविष्कार गरेको थियो तर पछि अनावश्यक ठानेर छाडिदियो ।

तर, चीनले भने भारतको सीमा नजिकै पर्ने गान्सु, सिन्ज्याङ र तिब्बत जस्ता ठाउँमा ठूला ट्रान्समिसन स्टेशनहरू बनाएको छ । अक्टोबर २०२४ मा चीनले यसको निर्माण सम्पन्न भएको घोषणा गर्यो । यो संकेत उपग्रहको भन्दा लाखौं गुणा बलियो हुन्छ र यसलाई अवरुद्ध गर्न निकै कठिन हुन्छ ।

चीनको पीएनटी संरचनाको तेस्रो तह पूर्ण रूपमा भूमिगत छ । यो २० हजार किलोमिटर लामो फाइबर–अप्टिक सञ्जाल हो जसले देशैभरि सटीक समय वितरण गर्छ । यो प्रणाली आकाशमा भर पर्दैन । त्यसैले यसलाई बाहिरी शत्रुले न त जाम गर्न सक्छ, न त ध्वस्त नै पार्न सक्छ ।

चीनको यो पीएटी त्रिकोण, ५६ उपग्रह, २० भन्दा बढी ग्राउन्ड स्टेशन र २० हजार किलोमिटरको फाइबर ग्रिड, यसरी बनाइएको छ कि कुनै पनि एउटा आक्रमणले यसलाई ढाल्न सक्दैन । अर्कोतर्फ, भारतसँग यस्तो कुनै पनि तहगत संरचना छैन ।