
काठमाडौं । काठमाडौंको कान्तिपथमा निर्माण भइरहेको ओसिस होटलको लागत बढेको छ । कम्पनीको लागत सुरुमा अनुमान गरेकोभन्दा २६ प्रतिशतले बढेको हो ।
कम्पनीले सुरुमा ६ अर्ब २६ करोड रुपैयाँ लागत अनुमान गरेको थियो । अहिले उक्त लागत बढेर ७ अर्ब ८९ करोड ९० लाख रुपैयाँ पुगेको जनाएको छ । कम्पनीले लगानीको अनुपात ७०ः३० राखेको छ । यसअघि लगानीको अनुपात ७५ः२५ राखेको थियो ।
सन् २००६ मा स्थापना भएको कम्पनीले कान्तिपथमा पाँच तारे होटल निर्माण गर्दैछ । कम्पनीले २ सय ५० कोठा निर्माण गर्ने जनाएको छ । कम्पनीले होटलको एउटा कोठा निर्माण गर्न ३ करोड २० लाख रुपैयाँ खर्च गर्ने बताइएको छ ।
होटलमा आरएन्डआर सिटी सेन्टरको स्वामित्व छ । उक्त कम्पनीमा चौधरी ग्रुप इन्भेस्टमेन्टको ४४ प्रतिशत, सुवर्णकृष्ण श्रेष्ठको ३३ प्रतिशत, अमृतरत्न शाक्यको १८ प्रतिशत र शर्मा एन्ड कम्पनी प्रालिको ५ प्रतिशत स्वामित्व छ ।
हाल होटलको निर्माण कार्य सुरु भएको छ । कम्पनीले होटलको निर्माण कार्य सम्पन्न गरी सन् २०३० बाट सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ९७ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड ९ लाख रुपैयाँको रेटिङ गराएको हो ।
तस्बिरः अमेरिकाको हलिउडमा बन्दै गरेको ओसिस होटल तथा गितार टावर







प्रतिक्रिया