नेपालको औद्योगिकीकरणमा बहुराष्ट्रिय कम्पनी र एसेम्बली उद्योगको भूमिका

49
Shares

नेपालको अर्थतन्त्र लामो समयदेखि वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स र आयातमा आधारित सेवा क्षेत्रको जगमा उभिएको छ । यो मोडलले विदेशी मुद्राको सञ्चिति र उपभोगमा त सहयोग पुर्‍याएको छ, तर देशको वास्तविक आर्थिक सबलीकरणका लागि उत्पादनमूलक क्षेत्र सधैं छायामा रहँदै आयो । पछिल्ला वर्षहरूमा हुण्डाईजस्ता विश्वविख्यात ब्राण्डले नेपालमै गाडीको ‘एसेम्बली’ सुरु गरेसँगै एउटा नयाँ आशा र बहसको ढोका खुलेको छः के नेपाल अब वास्तविक औद्योगिकीकरणको बाटोमा अघि बढ्न तयार छ?

नेपालका लागि औद्योगिकीकरण अब छनौटको विषय मात्र होइन, यो विकासको एक ‘स्वाभाविक र अनिवार्य चरण’ हो । रेमिट्यान्सले देशको उपभोगलाई धाने पनि दीर्घकालीन आर्थिक स्थिरताका लागि देशभित्रै उत्पादन र औद्योगिक गतिविधि हुनुपर्छ। सानो स्तरबाट सुरु हुने एसेम्बली र म्यानुफ्याक्चरिङले नै देशलाई उत्पादनमुखी अर्थतन्त्रतर्फ डोर्‍याउन सक्छ । यिनले केवल रोजगारी मात्र सिर्जना गर्दैनन्, यसले देशको प्राविधिक क्षमता पनि विकास गर्छ ।

नेपालमा बहुराष्ट्रिय कम्पनीहरूको प्रवेशलाई अक्सर शंकाको दृष्टिले हेरिन्छ । एउटा आम बुझाइ छः यस्ता कम्पनीले नेपालबाट नाफा मात्र बाहिर लैजान्छन् । यो चिन्ता धेरै विकासोन्मुख देशहरूमा देखिन्छ । तर, यसलाई केवल मौद्रिक नाफाको सङ्कुचित घेराबाट मात्र हेर्नु हुँदैन । नाफासँगै यी कम्पनीहरूले आफूसँगै एउटा स्थापित ‘प्रणाली’ ल्याउँछन्।

जब हुण्डाई जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरू नेपाल आउँछन्, उनीहरूले आफूसँगै ज्ञान, सिप, आधुनिक प्रविधि, कार्य–प्रणाली र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मानक पनि ल्याउँछन् । नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले नाफा कमाउनु स्वभाविक हो । तर, ‘नो-हाउ ट्रान्सफर’ नै नेपालको सबैभन्दा ठूलो उपलब्धि हो । स्थानीय जनशक्तिले विश्वस्तरको औद्योगिक अनुशासन र व्यवस्थापकीय कौशल सिक्नु भनेको भविष्यको स्वदेशी उद्योगका लागि दक्ष जग तयार हुनु हो ।

उल्लेखित ‘नलेज ट्रान्स्फर’ (ज्ञान हस्तान्तरण) भइरहेको एउटा उदाहरण हुण्डाई एसेम्बली प्लान्ट हो । हुण्डाईको एसेम्बली प्लान्टलाई केवल ‘गाडीका पार्टपुर्जा जोड्ने ठाउँ’ का रूपमा मात्र बुझ्नु अधुरो हुनेछ । यहाँ गाडी एसेम्बली मात्र भइरहेको छैन, यसले स्थानीय प्राविधिक जनशक्तिलाई आधुनिक औद्योगिक प्रक्रिया सिक्ने अवसर पनि दिइरहेको छ । वास्तवमा यो स्थानीय प्राविधिकहरूका लागि एउटा ठूलो पाठशाला हो । एसेम्बली प्रक्रियामा प्रयोग हुने ‘स्ट्याण्डर्डाइज्ड वर्कफ्लो’ र ‘क्वालिटी कन्ट्रोल सिस्टम’ ले नेपाली जनशक्तिलाई आधुनिक औद्योगिक प्रक्रियासँग साक्षात्कार गराएको छ । स्थानीय प्राविधिकहरूले जब यस्तो प्रणालीमा काम गर्न थाल्छन्, उनीहरूको अनुभव र दक्षता पनि बढ्दै जान्छ ।

अहिले उत्पादित गाडीभन्दा पनि त्यहाँ काम गर्ने प्राविधिकहरूले आर्जन गरिरहेको दक्षता र औद्योगिक ज्ञान बढी मूल्यवान् छ । यसले नेपाली कामदारको कार्यक्षमतालाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन मद्दत पुर्‍याउँछ ।

यस्तो औद्योगिक पहलले नेपाली युवाहरूको रोजगारी सोचमा क्रमशः परिवर्तन ल्याउँछ । नेपालका प्राविधिक युवाहरू विदेशिनुको मुख्य कारण देशभित्र पर्याप्त औद्योगिक अवसरको अभाव हुनु नै हो । औद्योगिक पहलहरू सुरु भएपछि युवाहरूले नेपालमै ‘टेक्निकल क्यारियर’ बनाउने सम्भावना देख्न थाल्छन् । तसर्थ पनि देशमा उत्पादन तथा एसेम्बली प्लान्ट लगाउनु आवश्यक रहन्छ । सुरुवाती चरणमा रोजगारीको संख्या ठूलो नभए पनि यसले देशमा औद्योगिक सम्भावना छ भन्ने बलियो सन्देश प्रवाह गर्छ ।

यस्तो उद्योगले क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्छ । औद्योगिक परियोजना सुरू हुँदा वा एउटा ठूलो उद्योग स्थापना हुँदा त्यसले एउटा ‘मल्टिप्लायर इफेक्ट’ सिर्जना गर्छ । एउटा एसेम्बली प्लान्टका लागि आवश्यक पर्ने लजिस्टिक, यातायात, मर्मतसम्भार र अन्य सहायक सेवाहरूका कारण एउटा पूर्ण औद्योगिक ‘इकोसिस्टम’ निर्माण हुन्छ । त्यसपछि कुनै क्षेत्र केवल भौगोलिक स्थान मात्र नभई औद्योगिक सम्भावनासँग पनि जोडिन थाल्छ । यसरी क्षेत्रीय विकासमा समेत टेवा पुग्छ ।

तसर्थ उत्पादन तथा एसेम्बली प्लान्टलाई नेपालले औद्योगिकीकरणको दीर्घकालीन यात्रामा सुरूवाती विन्दु मान्नुपर्छ । औद्योगिकीकरण एकपलट ठूलो परिवर्तन आउने प्रक्रिया होइन । अन्तर्राष्ट्रिय कम्पनीहरूसँगको सहकार्यले देशलाई नयाँ प्रविधि, व्यवस्थापन प्रणाली, र औद्योगिक अनुशासन सिक्न मद्दत गर्न सक्छ। सरकारले यस्ता औद्योगिक पहललाई प्रोत्साहन गर्न स्थिर नीति, पूर्वाधार विकास र सीप विकासमा लगानी बढाउनुपर्छ ।

अन्तर्राष्ट्रिय कम्पनीहरूसँगको सहकार्यले देशलाई नयाँ प्रविधि, व्यवस्थापन प्रणाली, र औद्योगिक अनुशासन सिक्न मद्दत गर्न सक्छ ।  यदि यस्तो अनुभवलाई सिप विकास, पूर्वाधार विकास र सहयोगी नीतिसँग जोड्न सकियो भने नेपालले बिस्तारै बलियो औद्योगिक आधार निर्माण गर्न सक्छ।

अन्ततः अन्तर्राष्ट्रिय साझेदारीलाई केवल लगानीको रूपमा मात्र नभई ज्ञान प्रसार र औद्योगिक क्षमता विस्तारको अवसरका रूपमा पनि हेर्नु आवश्यक छ । यदि हामीले प्राप्त भएको प्रविधि र ज्ञानलाई सही ढंगले प्रयोग गर्न सक्यौँ भने, नेपालले बिस्तारै तर सुनिश्चित रूपमा बलियो औद्योगिक आधार निर्माण गर्न सक्नेछ । र, उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने यो एउटा महत्त्वपूर्ण प्रस्थान विन्दु हुन सक्छ ।

(थपलिया हुण्डाई नेपालका महाप्रबन्धक हुन् ।)