गुणस्तरहीन पुल भत्काएर पुनर्निर्माण गरिँदै

252
Shares

तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ भादगाउँ जोड्ने बुल्दीखोला मोटरेवल पुलको निर्माण कार्यले गति लिन थालेको छ ।

यस पुलको एक ‘स्पान’ को बिम र ढलान निर्माणका क्रममा गुणस्तरहीन पाइएपछि त्यसलाई भत्काएर नयाँ शिराबाट पुनर्निर्माण कार्य थालिएको हो ।

लामो समयको अन्योल र प्राविधिक अवरोधपछि हालसम्म पुलको ४५ प्रतिशत भौतिक प्रगति हासिल गरेको पूर्वाधार विकास कार्यालय तनहुँका डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले जानकारी दिए ।

उनका अनुसार पुलका पिल्लर प्राविधिक रूपमा सही भए पनि माथिल्लो संरचना कमजोर देखिएकाले गुणस्तरमा सम्झौता नगर्ने नीतिअनुरूप भत्काउन निर्देशन दिइएको हो ।

सोही निर्देशनबमोजिम ठेकेदार कम्पनीले गुणस्तरहीन भाग हटाएर अहिले निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । २०७७ मा पाँच करोड १० लाख ३३ हजार रुपैयाँको लागतमा सम्झौता भएको २५ मिटर लामो र ८.४ मिटर चौडाइको यो पुल निर्माणमा यसअघि विभिन्न कारणले ढिलाइ हुँदै आएको थियो ।

पुल निर्माणमा मुख्य बाधाका रूपमा रहेको व्यास–१ विज्ञानचौरतर्फको विद्युत् ट्रान्सफर्मर स्थानान्तरण गरिएसँगै काम गर्ने वातावरण सहज बनेको छ ।

ट्रान्सफर्मर हटाएपछि निर्माण कम्पनीले जनशक्ति र उपकरण परिचालन बढाएकाले हाल कामले गति लिएको कार्यालयले जनाएको छ ।

पुलको म्याद आगामी चैतसम्म रहेको भए पनि पछिल्लो समय काममा देखिएको तीव्रताका कारण बाँकी निर्माण सम्पन्न गर्नका लागि म्याद थप हुने सम्भावनासमेत देखिएको छ । यो पुल निर्माण सम्पन्न भएपछि व्यास–१, २ र ३ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

विशेषगरी यस क्षेत्रमा रहेका पाँचवटा विद्यालय र एक कलेजका विद्यार्थीलाई वर्षायाममा खोला तर्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

गुणस्तरहीन संरचना भत्काएर पुनः मजबुत बनाउने कार्य भइरहेकाले अबको केही समयभित्रै स्थानीय एवं सर्वसाधारणले सुरक्षित र भरपर्दो पुल प्रयोग गर्न पाउने विश्वास सो कार्यालयले गरेको छ ।