
एजेन्सी । इरानको शजरेह तय्यबेह प्राथमिक विद्यालयमा भएको हवाई आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकहरूलाई चीनले २ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार जनाएको एएफपीले रिपोर्ट गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मिनाबमा भएको उक्त आक्रमणका लागि इरानलाई नै दोष दिएका छन् । त्यसमा १६८ जनासम्मको मृत्यु भएको थियो र तीमध्ये अधिकांश ७ देखि १२ वर्षका बालिकाहरू थिए ।
तर, जियोलोकेसन, भिडियोहरू, भू–उपग्रह तस्बिरहरू र घटनास्थलबाट फेला परेका अवशेषहरूले भने अमेरिकी जिम्मेवारी संकेत गर्छन् ।
चिनियाँ रेडक्रस सोसाइटीले इरानी रेड क्रिसेन्ट सोसाइटीलाई २ लाख डलरको आपतकालीन मानवीय सहायता प्रदान गर्ने बेइजिङको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो विशेषगरी मृत विद्यार्थीका अभिभावकहरूलाई समवेदना र क्षतिपूर्ति स्वरूप दिइने उसले बताएको छ । मन्त्रालयका प्रवक्ता क्वो च्याकुनले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भनेका छन् ।
‘विद्यालय र बालबालिकामाथिको आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन हो र यसले मानवीय विवेक र नैतिकताको सीमा नाघेको छ,’ क्वोले नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भने, ‘चीन इरानी जनतालाई यो कठिन समयमा साथ दिन मानवीय भावनाका साथ आवश्यक सहयोग जारी राख्न तयार छ ।’







प्रतिक्रिया