६ वर्षपछि पहिलोपटक चल्ने भयो चीनबाट उत्तर कोरिया जाने यात्रुवाहक रेल

0
Shares

एजेन्सी । बेइजिङ र प्योङयाङबीचको पहिलो यात्रुवाहक रेल सेवा ६ वर्षको अन्तरालपछि बिहीबार चीनको राजधानीबाट प्रस्थान गर्ने तयारीमा छ ।

चीनले सीमापार पूर्वाधारलाई सुदृढ गर्ने र आफ्नो छिमेकीसँगको सम्बन्धलाई पुनः कायम गर्ने कदम चाल्दै गर्दा यो सेवा सुरु हुन लागेको हो ।

चिनियाँ रेल अधिकारीका अनुसार, बोहाई सागरको उत्तरतर्फबाट यात्रा गर्दै र सीमावर्ती सहर डानडोङमा बिसौनी गर्दै २४ घण्टा ४१ मिनेटको यात्रापछि रेल के२७ शुक्रबार साँझ ६ः०७ बजे उत्तर कोरियाली राजधानी पुग्नेछ ।

चीन र उत्तर कोरिया मैत्रीपूर्ण छिमेकी हुन् र सीमापार यात्रुवाहक रेल सेवाले जनस्तरको आदानप्रदानलाई सहज बनाउँछ, चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बिहीबार पत्रकारहरूलाई बताए ।

चीनले यस्ता आदानप्रदानहरूलाई सहज बनाउन दुवै पक्षबीच बलियो सञ्चारलाई पनि समर्थन गरेको प्रवक्ताले थपे ।
सन् २०२० मा कोभिड–१९ महामारी फैलिएपछि यो सेवा स्थगित गरिएको थियो ।

उत्तर कोरियामा यात्रा आयोजना गर्ने ट्राभल एजेन्सीहरूका अनुसार, यो देश विदेशी पर्यटनका लागि धेरै हदसम्म बन्द छ जसमा केही अपवादका रूपमा सीमित व्यवस्था अन्तर्गत रुसी भ्रमण टोलीहरू मात्र रहने गरेका छन् ।

दुवै देशका राजधानीहरूलाई जोड्ने यो सेवा दुवै दिशामा हप्ताको चार दिन (सोमबार, बुधबार, बिहीबार र शनिबार) सञ्चालन हुने चिनियाँ रेल विभागले एक सूचनामा जनाएको छ ।

बेइजिङको एक ट्राभल एजेन्सीका अनुसार, बिजनेस भिसा वाहकहरूका लागि मात्र सीमित बिहीबारको यात्राका लागि टिकटहरू बिक्री भइसकेका छन् । तर, मार्च १८ का लागि भने अझै उपलब्ध छन् ।

छोटो दूरीको डानडोङ–प्योङयाङ मार्ग दुवै दिशामा दैनिक सञ्चालन हुनेछ जसमा पहिलो सेवा बिहीबार बिहान १० बजे चीनको उत्तरपूर्वी शहर डानडोङबाट प्रस्थान गरी साँझ ६ः०७ बजे प्योङयाङ पुग्ने सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
महामारीको समयमा सीमापार उडानहरू पनि रोकिएका थिए ।

उत्तर कोरियाको सरकारी वायुसेवा एयर कोर्योले सन् २०२३ मा चीनका लागि उडानहरू पुनः सुरु गरेको थियो र अहिले राजधानीहरूबीच हप्ताको दुई पटक (मंगलबार र शनिबार) सेवा प्रदान गरिरहेको यसको वेबसाइट बुकिङ सेवाले देखाएको छ ।