
विराटनगर । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका तराईका प्रमुख दुई जिल्ला मोरङ र झापामा क्लिन स्वीप गर्ने निश्चितजस्तै देखिएको छ।
मोरङका ६ मध्ये ३ क्षेत्रमा रास्वपाका उम्मेदवारले फराकिलो मतान्तरले जित दर्ता गरिसकेका छन् भने बाँकी तीनवटामा पनि उसका उम्मेदवार भारी मतका साथ विजयी उन्मुख छन्। त्यसैगरी झापाका पाँचै क्षेत्रमा रास्वपाका उम्मेदवार ठूलो मतान्तरले जिततर्फ उन्मुख छन्।
यता सुनसरीमा भने रास्वपाका उम्मेदवार चारमध्ये तीन निर्वाचन क्षेत्रमा फराकिलो जित नजिक पुगेका छन्। सुनसरी–१ मा भने श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता लिएका छन्। उनलाई रास्वपाकै उम्मेदवारले पछ्याइरहेका छन्।
झापा–५ मा करिब १८ हजार मत गणना गर्न बाँकी रहेको अवस्थामा रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाह अघोषित रूपमा निर्वाचित भइसकेका छन् । शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४० हजार ५२५ मतले पछि पारेपछि उनको जित सुनिश्चित भएको हो।
करिब ८८ हजार मत गणना हुँदा बालेनले ५५ हजार ९३४ मत ल्याउँदा ओली १५ हजार ४०९ मतमा सीमित भएका छन्। यहाँ श्रमशक्ति पार्टीका समित तामाङले ८ हजार ५१९ मत पाएका छन्।
झापा–१ मा रास्वपाकी निशा डाँगी ३० हजार ६८६ मत ल्याएर विजयी उन्मुख छिन्। उनलाई कांग्रेसका केशव पाण्डेले ७ हजार ४७९ मतले पछ्याइरहेका छन्। यो क्षेत्रमा श्रमशक्ति पार्टीका केवल राईले ७ हजार ४४० मत पाएका छन्।
त्यसैगरी झापा–२ मा रास्वपाकी उम्मेदवार तथा निवर्तमान उपसभामुख इन्दिरा रानामगर ३२ हजार ११७ मतसहित विजयी घोषणा पर्खेर बसेकी छन्। उनलाई निवर्तमान सभामुख तथा एमालेका उम्मेदवार देवराज घिमिरेले ६ हजार २७२ मत ल्याएर पछ्याइरहेका छन्। घिमिरेलाई श्रमशक्ति पार्टीका केशवकुमार भण्डारीले ४ हजार २५५ मत ल्याएर पछ्याइरहेका छन्।
झापा–३ मा रास्वपाका प्रकाश पाठकले ३३ हजार ८१५ मत ल्याएर राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई १५ हजार ४५८ मतले पछि पार्दै विजयी घोषणा कुर्दै छन्। लिङ्देनले १५ हजार ४५८ मत ल्याउँदा कांग्रेसका राजेन्द्र घिमिरेले ७ हजार १९३ मत पाएका छन्।
त्यसैगरी झापा–४ मा पनि रास्वपाका शम्भुप्रसाद ढकाल २२ हजार ६९ मत ल्याएर विजयी उन्मुख भएका छन्। उनलाई एमालेका लालप्रसाद साँवाले ६ हजार ७२६ मत ल्याएर पछ्याइरहेका छन्।
त्यसैगरी मोरङका क्षेत्र नं. ४, ५ र ६ मा रास्वपाका उम्मेदवार विजयी भइसकेका छन्। कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गुरुराज घिमिरे मोरङ क्षेत्र नं. ६ र ४ मा क्रमशः रास्वपाका उम्मेदवारसँग ठूलो मतान्तरले पराजित भएका छन्।
क्षेत्र नं. ६ मा कोइराला रास्वपाकी रुविना आचार्यसँग ४२ हजार ६६३ मतान्तरले पराजित भएका हुन्। रुविनाले ५५ हजार ५१३ मत ल्याउँदा कोइराला १२ हजार ८५० मतमा रोकिए। कोइराला यो क्षेत्रका निवर्तमान सांसद हुन्। २०७९ को निर्वाचनमा उनी तत्कालीन माओवादीसँगको गठबन्धनमा एमालेका लालबाबु पण्डितलाई हराएर निर्वाचित भएका थिए। यो क्षेत्रमा एमालेका विनोद ढकालले ८ हजार ३१७ मत पाए।
त्यसैगरी क्षेत्र नं. ४ मा कांग्रेस महामन्त्री गुरुराज घिमिरे पनि रास्वपाका युवा उम्मेदवार सन्तोष राजवंशीसँग २८ हजार १५ मतान्तरले पराजित भएका छन्। राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरे १२ हजार ८१८ मतमा सीमित भए।
यसै क्षेत्रमा नेकपाका अमनलाल मोदी १० हजार ७६२ मतमा रोकिए। उनी यसअघि २०७९ मा कांग्रेससँग र २०७४ मा एमालेसँगको चुनावी गठबन्धनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए।
मोरङ–५ मा पनि रास्वपाकी आशा झा विजयी भइसकेकी छन्। उनले २४ हजार ६५९ मत ल्याउँदा कांग्रेसका फूलकुमार लालवनीले ८ हजार ७७० मत ल्याए।
मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपानेले १९ हजार ९८२ मत ल्याएर झण्डै ७ हजारको मतान्तर कायम गरेका छन्। यहाँ श्रमशक्ति पार्टीका शान्ति पाख्रिनले १२ हजार ६७६ मत ल्याउँदा कांग्रेसका खड्ग फागोले ८ हजार ६७६ मत पाएका छन्।
त्यसैगरी क्षेत्र नं. २ मा रास्वपाकै कृष्ण कार्कीले ३३ हजार ५५४ मत ल्याएर करिब २० हजारको मतान्तर बनाएका छन्। यहाँ एमालेका दिलीप अग्रवालले १३ हजार ८४ मत ल्याएर पछ्याइरहेका छन् भने कांग्रेसका मिनेन्द्र रिजालले १० हजार ४९१ मत पाएका छन्।
त्यसैगरी मोरङ–३ मा पनि रास्वपाका गणेश कार्कीले ६ हजारको मतान्तर कायम गरेका छन्। कार्कीले १७ हजार ३९३ मत ल्याउँदा कांग्रेसका सुनिल शर्माले ११ हजार १४५ र श्रमशक्ति पार्टीका अमिर मगरले ७ हजार ९८७ मत पाएका छन्।
त्यस्तै सुनसरी–१ मा श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले ९ हजार १३३ मत ल्याएर अग्रता लिएका छन्। उनलाई रास्वपाकी गोमा तामाङले ७ हजार ४७२ मत ल्याएर पछ्याइरहेकी छन्। यहाँ नेकपाका सूर्यबहादुर भट्टराईले १ हजार ७०५ मत पाएका छन्।
त्यसैगरी सुनसरी–२ मा रास्वपाका लालविक्रम थापाले १७ हजार ५७९ मत ल्याएर ११ हजारको मतान्तर बनाएका छन्। उनलाई कांग्रेसका राजीव कोइरालाले ६ हजार ८०८ मत ल्याएर पछ्याइरहेका छन्। यहाँ नेकपाका सुजन लामाले २ हजार २०६ मत पाएका छन्।
सुनसरी–३ मा पनि रास्वपाका अशोक चौधरीले ३० हजार ५४२ मतसहित करिब २० हजारको अग्रता लिएका छन्। उनलाई कांग्रेसका विजयकुमार गच्छदारले ११ हजार ४५ मत ल्याएर पछ्याइरहेका छन्। यहाँ निवर्तमान सांसद एमालेकी भगवती चौधरीले ८ हजार ९७४ मत पाएकी छन्।
त्यसैगरी सुनसरी–४ मा रास्वपाकै दीपककुमार साहले ४ हजार ६४० मत ल्याएर अग्रता लिएका छन्। उनलाई कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १ हजार ७५८ मतसहित पछ्याइरहेका छन्। यहाँ एमालेका जगदीश कुशियैतले १ हजार ५३७ मत पाएका छन्।








प्रतिक्रिया