सम्पूर्ण अपडेट

झापा-५ मा बालेन निर्वाचित, १७ हजार भोट गन्न बाँकी हुँदा ओली साढे ४० हजार भोटले पछाडि

399
Shares

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् । यद्दपि, मतगणना सकिएको छैन । तर गन्न बाँकी भोटभन्दा बालेनले केपी ओलीसँग बनाएको अन्तर बढी हुँदा बालेनले जितेका हुन् ।

शनिबार दिउँसो २:१० बजेसम्मको मतपरिणामअनुसार कुल १ लाख ६ हजार ३७२ मत खसेकोमध्ये ८८ हजार ४४१ मत गणना भइसकेको छ ।

हालसम्मको परिणामअनुसार बालेनले ५५ हजार ९३४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत ल्याएका छन् । यससँगै शाहले ओलीभन्दा ४० हजार ५२५ मतको अग्रता बनाएका छन् ।

यस्तै नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ५३१ मत, नेपाल कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १ हजार २६४ मत र श्रम संस्कृत पार्टीका समीर तामाङले ८ हजार ५१९ मत प्राप्त गरेका छन् ।

अहिलेसम्मको गणनाअनुसार १७ हजार ९३१ मत गणना हुन बाँकी रहेको छ ।