सम्पूर्ण अपडेट

गुल्मी २ मा हारेपछि गोकर्णले भने: हार–जीतले समाज परिवर्तनको लामो यात्रामा फरक पर्दैन

350
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी जिल्ला क्षेत्र नम्बर २ मा पराजित भएपछि विजयी उम्मेदवारलाई बधाई दिएका छन् ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार गोविन्द पन्थी विजयी भएका हुन् । विष्टले सामाजिक सञ्जालमार्फत पन्थीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

उनले निर्वाचनमा आफूलाई विजयी गराउन अहोरात्र खटिएका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता–कार्यकर्ता तथा सहयोग गर्ने सबै मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै सहयोग र सद्भाव प्रकट गर्ने दिदीबहिनी तथा दाजुभाइप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।

निर्वाचनमा विजय हासिल गर्न नसके पनि सधैं जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्दै विष्टले एउटा निर्वाचनको हार–जीतले समाज परिवर्तनको लामो यात्रामा खासै फरक नपार्ने बताएका छन्। उनले आर्थिक तथा सामाजिक रूपान्तरण, सामाजिक न्याय र राष्ट्र तथा जनताको हितका लागि अझ दृढतापूर्वक काम गरिरहने उल्लेख गरेका छन् ।

विष्टले अपेक्षित परिणाम नआए पनि पार्टी पंक्तिलाई धैर्यता र उच्च मनोबलका साथ अघि बढिरहन आग्रह गरेका छन् । साथै निर्वाचनलाई सुचारु रूपमा सम्पन्न गराउन सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि र पत्रकारप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।