सम्पूर्ण अपडेट

सुदूरपश्चिमका ५ क्षेत्रमा मतगणना जारी: ४ वटामा रास्वपा, एकमा कांग्रेसको अग्रता

252
Shares

कैलाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेका ५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।

कैलाली र कञ्चनपुर जिल्लामा मतगणना जारी छ । कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र तथा कैलालीका दुई क्षेत्रमा अहिले मतगणना भइरहेको छ ।

हालसम्म प्राप्त परिणामअनुसार कञ्चनपुरका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता बनाएका छन् । कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–१ मा जनकसिंह धामी अघि छन् ।

कैलालीतर्फ भने दुईमध्ये एक क्षेत्रमा नेपाली कांग्रेस र अर्को क्षेत्रमा रास्वपाले अग्रता बनाएका छन् । कैलाली–१ मा कांग्रेसका उम्मेदवार जनक चौधरी अघि छन् भने कैलाली–५ मा रास्वपाका आनन्दबहादुर चन्दले अग्रता कायम गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये हाल पाँच क्षेत्रमा मतगणना भइरहेको छ भने बाँकी क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ ।