
महेन्द्रनगर । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ५१.३७ प्रतिशत मतदान भएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीमा ५५.३७ प्रतिशत र कञ्चनपुरमा ५८.९६ प्रतिशत मत खसेको छ । त्यसैगरी डोटीमा ४०.८७, अछाममा ३९.१८, बाजुरामा ५१.६१, डडेल्धुरामा ४९.१५, बझाङमा ४६.४४, बैतडीमा ४६.७७ र दार्चुलामा ५३.७५ प्रतिशत मतदान भएको छ ।
सुदूरपश्चिममा जम्मा १७ लाख १६ हजार ६६० मतदाता रहेकोमा ४ लाख ८३ हजार १८३ महिला र ३ लाख ९८ हजार ७६३ पुरुष र अन्य ७ जना गरी कुल ८ लाख ८१ हजार ९५३ मतदाताले मतदान गरेका छन ।
यसैबीच मतपेटिका ढुवानी भइसकेपछि सर्वदलीय बैठक गरेर मतगणनाको काम सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदानको कार्य पूरा भएपछि मतपेटिका धमाधम मतगणनास्थलसम्म ढुवानी गर्ने काम सुरु भइसकेको छ । दार्चुला, बझाङ र बाजुराको हिमाली भेकका मतदान स्थलका मतपेटिकाहरु मतगणनास्थलमा पुर्याउने समय लाग्ने प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता पदमबहादुर बोगटीले हिमाली क्षेत्रका कम्तीमा पनि १० मतदान केन्द्रका मतपेटिकाहरु हेलिकप्टरबाट ढुवानी गरेर मतगणनास्थलसम्म ल्याउने तयारी भइरहेको जानकारी दिए ।
उनले भने, ‘आज शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ, दार्चुलाको अपिदुदिला आवासीय विद्यालय, मतदानस्थल र नौगाड गाउँपालिकाको गौरीशङ्कर माध्यमिक विद्यालय मतदानस्थलमा भने मतदाता अनुपस्थित रहे, खटिएका कर्मचारीले मात्र समानुपातिकमा मतदान गर्नुभएको छ ।’








प्रतिक्रिया