पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार


बागमती । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

१३ वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए । सरकारले पत्रकारहरूका लागि सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेसागत सुरक्षाका लागि सहयोग पुग्ने बताउँदै उनले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रमसहित सञ्चार क्षेत्रको हित र प्रवद्र्धनका लागि विनियोजित विभिन्न कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पनि उनले सम्बन्धित सबैमा आग्रह गरेका छन् ।