सुशीला कार्कीको जित: संशय र अन्योल चिर्दै मुलुक निकासतर्फ

84
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक अन्योल र संक्रमणको अवस्थाबाट गुज्रिरहेको मुलुकमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएसँगै राजनीतिक निकासको ढोका खुलेको छ ।

प्रधानमन्त्री सुशीला कार्की‘मिशन निर्वाचन’ मा सफल भएकी छन् ।

निर्वाचन आयोगका अनुसार आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेको छ । देशभरका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ। केही स्थानमा सामान्य विवाद र अवरोध देखिए पनि तत्काल व्यवस्थापन गर्दै मतदान प्रक्रिया अघि बढाइएको थियो।

भदौ २३/२४ मा भएको ‘जेनजी आन्दोलन’पछि बनेको राजनीतिक परिस्थितिमा कार्की प्रधानमन्त्री बनेकी थिइन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने म्यान्डेट पाइन् ।

सोही प्रतिबद्धताअनुसार सरकारले चुनावी प्रक्रिया अघि बढाउँदै निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गरेको हो ।

राजनीतिक दलहरूबीच अविश्वास, संवैधानिक बहस र प्रशासनिक अन्योलका कारण निर्वाचन हुने–नहुने भन्ने विषयमा लामो समयसम्म संशय कायम थियो ।

कतिपयले चुनाव स्थगित हुन सक्ने अनुमान गरेका थिए भने कतिपयले राजनीतिक सहमति अभावका कारण प्रक्रिया जटिल बन्ने बताएका थिए। तर अन्ततः सबै चुनौती पार गर्दै निर्वाचन सम्पन्न हुनु कार्की नेतृत्वको सरकारका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

निर्वाचन सम्पन्न भएपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका छन् । निर्धारित समयमै निर्वाचन सम्पन्न गराएर मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अघि बढाएको भन्दै उनीहरूले सरकारको प्रशंसा गरेका हुन्।

राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन सम्पन्न हुनु आफैंमा मुलुकलाई दीर्घकालीन राजनीतिक अन्योलबाट बाहिर निकाल्ने महत्वपूर्ण कदम हो । यसले जनमतमार्फत नयाँ राजनीतिक शक्ति सन्तुलन तय गर्ने र आगामी सरकार गठनको बाटो खुला गर्ने छ।

अब निर्वाचन परिणाम सार्वजनिक भएसँगै सरकार गठन, सत्ता समीकरण र नयाँ नीतिगत प्राथमिकताका विषयमा राजनीतिक दलहरूबीच छलफल सुरु हुने अपेक्षा गरिएको छ। साथै आर्थिक सुधार, सुशासन र राजनीतिक स्थायित्व कायम गर्ने चुनौती आगामी नेतृत्वका सामु रहनेछ।

जे होस्, प्रधानमन्त्री सुशीला कार्कीले अघि सारेको ‘मिशन निर्वाचन’ सफल भएसँगै मुलुक संशय र अन्योलबाट बाहिर निस्कँदै राजनीतिक निकासतर्फ अघि बढेको आभास भएको छ। लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दिने दिशामा यो निर्वाचनलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।