निजी क्षेत्रका व्यक्तित्व: कसले कहाँबाट गरे मतदान ?

0
Shares

काठमाडौं । आज (बिहीबार) भएको प्रतिनिधिसभा निर्वाचन छिटपुट घटनाबाहेक सफलतापूर्वक सम्पन्न भएको छ । बिहान सात बजेदेखि सुरु भएको मतदान केही ठाउँबाहेक अधिकांश स्थानमा शान्त र सहज वातावरणमा सम्पन्न भएको छ ।

निर्वाचनमा निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको पनि उत्साहजनक उपस्थिति देखिएको छ । बिहीबार भएको निर्वाचनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको बताए । उनले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने अपेक्षा व्यक्त गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कुलेश्वरस्थित कृषि सामग्री संस्थान र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पद्मकन्या मावि, डिल्लीबजार मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को पुतलीसडकस्थित पद्मोदय माविको मतदान केन्द्रबाट मतदान गरे ।

अटो व्यवसायी एवं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष ध्रुव थापाले कास्कीको पोखरास्थित राम आधारभूत विद्यालयबाट मतदान गरे । नाडाकै पूर्वअध्यक्ष करण चौधरीले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘मैले त मेरो भोट हालिसकें, तपाईंले हाल्नुभयो त ?’ लेखे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छाले सीतापाइला माविबाट मतदान गरे ।

व्यवसायी जीवा लामिछानेले चितवनको कालिका नगरपालिका–३ स्थित श्री आधारभूत विद्यालय, वनकट्टामा पुगेर मतदान गरेका छन् ।

हेलिकप्टर व्यवसायी व्यवसायी प्रतापजंग पाण्डेले र सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले काठमाडौंको बालुवाटार–४ स्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय पुगेर मतदान गरेका छन् ।