फागुन २५ भित्रै निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिने

49
Shares

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २५ गतेभित्रै प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम मत परिणाम सार्वजनिक गरिसक्ने निर्वाचन आयोगको योजना रहेको बताएका छन् ।

बिहीवार बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले यस्तो बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले प्रभावकारी व्यवस्था मिलाएको जानकारी दिँदै सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरे ।

मतदान प्रक्रिया सम्पन्न भएलगत्तै मतगणनाको कार्यलाई तीव्रता दिने आयोगको तयारी छ। ‘हामीले खसेको मतको आधारमा आवश्यक मतगणना टोली बनाएर छिटोभन्दा छिटो मत परिणाम सार्वजनिक गर्ने योजना बनाएका छौं,’ भण्डारीले भने, ‘फागुन २५ भित्रमा प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको ११० वटै स्थानको नतिजा दिइसक्ने हाम्रो लक्ष्य छ ।’

आज देशभर पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सिटका लागि मतदान भइरहेको छ । देशभरका मतदान केन्द्रहरूमा बिहानैदेखि उत्साहजनक रूपमा मतदान कार्य जारी रहेको आयोगले जनाएको छ । आयोगले मत गणनालाई छिटो र छरितो बनाउन जनशक्ति र प्रविधिको उचित परिचालन गरिने समेत स्पष्ट पारेको छ ।