
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) काठमाडौंमा मतदान गरेर झापा लागेका छन् ।
काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत रहेका शाहले सिनामंगलमा रहेको अन्नपूर्ण इङ्लिस स्कुलको मतदान केन्द्र पुगेर बिहानै मतदान गरेका हुन् । काठमाडौंमा मतदान सम्पन्न गरेलगत्तै बालेन शाह आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ का लागि प्रस्थान गरेका छन् । निर्वाचनका दिन मतदातालाई हौसला प्रदान गर्न र मतदानको अवस्थाबारे जानकारी लिन उनी आजै झापा पुग्न लागेको बालेनको सचिवालय स्रोतले बतायो ।
उनी आज हवाइ मार्ग हुँदै झापा जाने कार्यतालिका रहेको छ । सम्भव भएसम्म पहिलो उडानमार्फत् जाने तर यदि उडान हुन नसकेको अवस्थामा हेलिकोप्टरमा झापा पुग्ने तयारी छ । ‘मतदाताहरूसँग साक्षात्कार गर्न र उनीहरूको उत्साहमा साथ दिन उहाँ आजै झापा पुग्नुहुनेछ,’ सचिवालयले भनेको छ ।
झापा क्षेत्र नम्बर ५ मा यसपटकको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । यहाँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालेन शाहको कडा प्रतिस्पर्धा छ । झापा पुगेर बालेनले दमक, कमल, गौरादह र गौरीगन्जका विभिन्न मतदान केन्द्रहरूको अवलोकन गर्ने र मतदाताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया