बाइक किन्दै हुनुहुन्छ ? यी शीर्षकमा यति रकम कर तिर्न तयार हुनुहोस्



काठमाडौं । नेपालमा बाइक प्रयोगकर्ता २२ लाखभन्दा बढी छन् । वार्षिक ३ लाखभन्दा बढी बाइक प्रयोगकर्ता बढिरहेको सरकारी तथ्यांकले देखाउँछ ।

नेपाली सडकमा सामान्यत १ लाख ५० हजार देखि ५२ लाख रुपैयाँसम्मका बाइक पाइन्छन् । मोटरसाइकल तथा स्कुटर अहिले अत्यावश्यक सवारी साधनको रुपमा लिइन्छ । शहरी क्षेत्रको अस्तवेस्त सार्वजनिक सवारीकै कारण बाइक प्रयोग कर्ताको संख्या बढ्दो छ ।

चोक–चोकमा हुने घन्टौंसम्मको लाइन र समयमै आफ्नो काममा पुग्नका लागि उपभोक्ताले मोटर साइकल तथा स्कुटर प्रयोग बढी गरिहरेका छन् । कतिपय मंहगा बाइक भने सोख पुरा गर्न पनि प्रयोग भएको पाइन्छ ।

व्यक्तिगत देखि अफिसियल काममा लागि मोटरसाइकल खरिद गर्दा तपाईले सरकारलाई विभिन्न शिर्षकमा कर तिर्नुपर्ने हुन्छ । मोटरसाइकल प्रयोग कर्ताले सडक निर्माण तथा मर्मत कर र सवारी साधन करको नाममा यातायात व्यवस्था विभागको यातायात कार्यालयमा कर तिर्नुपर्ने हुन्छ ।

मोटरसाइकल खरिद गर्दा सीसीको आधरमा सडक निर्माण तथा सम्भार कर तिर्नुपर्ने सरकारी नियम छ । सडक निर्माण तथा सम्भार कर भने वर्षिक रुपमा तिर्नुपदैन् । यो शिर्षकको कर खरिद गर्दा एक पटक तिरेपछि बाइक प्रयोग गर्दासम्म तिर्नुपर्दैन् ।

बाइक खरिद गर्दा १२५ सीसीसम्मका मोटरसाइकलले १० हजार, १२६सीसी देखि २५० सीसीसम्मकाले १२ हजार, २५१ सीसीदेखि ४०० सीसीसम्मकाले १५ हजार र ४०१ सीसी देखि माथिको मोटरसाइकल खरिदमा २० हजार सडक निर्माण तथा मर्मत कर तिर्नुपर्छ ।

यसैगरी मोटरसाइकल प्रयोग कर्ताले वाषिर्करुपमा सवारी साधन कर पनि तिर्नुपर्नेहुन्छ । जसमा १२५ सीसीसम्मकाले २५ सय, १२५ सीसीदेखि २५० सीसीसम्मकाले ४ हजार, २५१ सीसीदेखि ४०० सीसीसम्मकाले ८ हजार र ४०१ सीसीभन्दा माथिकाले वार्षिकरुपमा १५ हजार सवारी साधन कर तिर्नुपर्ने हुन्छ ।


पुष्प दुलाल