सुर्खेत-२ कुन पार्टी मार्ला बाजी, कसको अवस्था कस्तो ?

77
Shares

काठमाडौं । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका हृदयराम थानी ५ हजार ६७ मतान्तरले विजयी भएको सुर्खेत क्षेत्र नम्बर २ मा यसपाली कडा प्रतिस्पर्धा देखिएको छ ।

यसपटक उम्मेदवार परिवर्तन, दलगत रणनीति र मतदाता संरचनाका आधारमा यहाँको प्रतिस्पर्धा अझ रोचक र पेचिलो बन्ने देखिन्छ ।

अघिल्लो चुनावमा यस क्षेत्रमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो । कांग्रेसका थानीले ३४ हजार ६२५ भोट पाउँदा नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका थिए ।

प्रत्यक्षतर्फ हारेको एमालेले उक्त क्षेत्रमा समानुपातिकमा सबैभन्दा धेरै भोट पाएको थियो । एमालले सबैभन्दा धेरै २५ हजार ८६ भोट पाउँदा कांग्रेसले २३ हजार १०, तत्कालीन माओवादीले १० हजार ५९ र रास्वपाले ६ हजार १४६ भोट पाएको थियो।

अहिले सुर्खेत क्षेत्र नम्बर २ लाई पूर्ण रूपमा कुनै एक दलको ‘सुरक्षित क्षेत्र’ भन्न सकिने अवस्था भने नरहेको मतदाता बताउँछन्।

यसपटक यस क्षेत्रमा उमेदवार फेरिएका छन् । फागुन २१ को चुनाबमा कांग्रेसबाट नारायाण कुमार कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेकपाबाट झकबहादुर मल्ल र रास्वपाबाट रमेश कुमार सापकोटा उमेदवार बनेका छन् ।

यस क्षेत्रमा कुल १ लाख २६ हजार ४१ मतदाता रहेका छन् । जसमध्ये १८ देखि २५ वर्ष उमेर समूहका ११ हजार ८१६ जना, २६ देखि ४० वर्ष समूहका ४७ हजार ६१९, ४१ देखि ६० वर्ष उमेर समूहका ४४ हजार ७८६ र ८० वर्ष धन्दा माथिका २१ हजार ८११ मतदाता रहेका छन् ।

मतदाताको ठूलो हिस्सा २६ देखि ६० वर्ष उमेर समूहमा केन्द्रित रहेकाले यस समूहको मत निर्णायक बन्न सक्ने देखिन्छ ।

जेनजी आन्दोलनपछिको घटनाक्रमले यसपटक युवा मतदाताको भूमिका महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ।