
नेपालको अर्थतन्त्र लामो समयदेखि शिथिलताबाट गुज्रिरहेका बेला भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले निजी क्षेत्रमा थप अन्योल र त्रास पैदा गरिदिएको छ । निजी क्षेत्रको भौतिक संरचनामा भएका आक्रमणभन्दा पनि यस आन्दोलनले लगानीकर्ताको मनोबलमा पुऱ्याएको चोट र सिर्जना गरेको मनोवैज्ञानिक असुरक्षा झन् घातक देखिएको छ । कुनै पनि मुलुकको आर्थिक मेरुदण्ड मानिने निजी क्षेत्र जब असुरक्षित महसुस गर्छ, तब लगानीका ढोकाहरू बन्द हुन पुग्छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष एवं होटल स्नेहा र फर्चुन हेल्थ केयरकी सञ्चालक भवानी राणासँग ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ का विषयमा केन्द्रित रहेर कुराकानी गरिएको छ । एक सफल महिला उद्यमी र निजी क्षेत्रको नेतृत्व सम्हालिसकेका राणा यस अन्तर्वार्तामा आन्दोलनले निजी क्षेत्रमा पारेको गम्भीर मानसिक प्रभाव, लगानीकर्तामा छाएको ‘पर्ख र हेर’ को अवस्था र सरकारको फितलो सुरक्षा संयन्त्रका बारेमा खरो रूपमा प्रस्तुत भएकी छन् ।
निजी क्षेत्रलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आउनुपर्ने र सरकारले केवल आश्वासन मात्र नभई व्यवहारमै लगानीमैत्री वातावरण र सुशासनको प्रत्याभूति गराउनुपर्ने उनको तर्क छ। अर्थतन्त्रमा धक्का दिने यस्ता आन्दोलन फेरि कहिल्यै हुन नदिन राज्य र सरोकारवालाले खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रित राणासँगको यो संवादले वर्तमान आर्थिक परिदृश्यको वास्तविक चित्र प्रस्तुत गर्दछ।
जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?
देशैभरि जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा आक्रमण हुँदा त्रास बढेको बढ्यो । मेरो व्यवसाय सेवामूलक भएकोले सधैं प्रतिबद्ध भएरै यसमा लागिपरेको हुन्छु । जेनजी आन्दोलनले सेवामूलक व्यवासायतर्फका कतिपयमा असर परेको देखिए पनि मेरोमा भने क्षति हुन पुगेन।
निजी क्षेत्रमा भएको भौतिक आक्रमण देखेर त्रासको वातावरण सिर्जना भयो । मानसिक दबाबको समस्या सबैले भोगेका छन् । तर, मेरो व्यवसाय र व्यक्तिगत रूपमा घर, गाडी लगायत निजी सम्पत्तिमा भने कुनै क्षति पुगेन । यति ठूलो आन्दोलन र जथाभावी भएको आक्रमणले मनोवैज्ञानिक रूपमा परेको असर भने स्वाभाविक रूपमा सबैले महसुस गर्ने नै किसिमको थियो ।
जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?
होटल भएकाले यो पर्यटन व्यवसायसँग सम्बन्धित उद्योग हो । होटलले स्वदेशी र विदेशी पाहुनालाई आतिथ्यको सेवा दिइरहेको छ । देशैभरि चर्किएको आन्दोलनले म जस्ता सबैजसो व्यवसायीको मनोबल कमजोर बनाएको छ । यसबेला मनोबलमा ठूलो असर पर्नु स्वाभाविक पनि हो । यसकारण थप लगानी तत्कालै गर्न सक्ने अवस्था छैन । तत्काल लगानीका लागि म ‘पर्ख र हेर’को अवस्थामा छु ।
जेनजी प्रदर्शनका कारण लगानीको वातावरणमा कतिको धक्का पुगेको छ?
आन्दोलनका कारण लगानीको वातावरण अत्यधिक कमजोर हुनपुग्यो । निजी क्षेत्रले लगानी र रोजगारी सिर्जना गरेको छ, त्यसलाई किन आक्रमण गर्नुपर्यो र भनेर प्रश्न गर्नुपर्ने सम्मको स्थिति बन्यो । अहिले भने माहोल बिस्तारै सामान्य बन्दै गएको छ । हामीले त्यतिबेला भएको कमीकमजोरी र निजी क्षेत्रमाथिको आक्रमणबाट ठूलो पाठ सिकेर फेरि उठ्ने प्रयास गरिरहेका छौं ।
जेनजी प्रदर्शनपछि निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सरकारले निर्वाह गरेको भूमिका कस्तो छ ?
सरकार सधैं निजी क्षेत्रमैत्री हुनुपर्छ । देशविकास र अर्थतन्त्रमा योगदान दिने कार्यमा निजी क्षेत्र अगाडि छन् । यसका लागि सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । अन्य देशमा सरकारले लगानीकर्तालाई रातो कार्पेट ओछ्याउँछ । नेपालमा भने निजी क्षेत्र जहिल्यै सरकारभन्दा पछाडि हुन्छ । हरेकपटक हुने राजनीतिक परिवर्तन र त्यसपछि बनेको सरकारलाई नै पछ्याउनु परिरहेको हुन्छ । सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ ।
समय सान्दर्भिक नीति निर्माण गर्नुपर्छ भने पुराना कानूनलाई परिमार्जन गर्दै जानुपर्छ । राम्रा नीतिको कार्यान्वयन सधैं प्राथमिकतामा नै राख्नुपर्छ जसले सुशासन प्रवर्धनमा सहयोग गर्छ । सरकारले राजस्वमा योगदान दिने, धेरै रोजगारी दिने निजी क्षेत्रको चाहना र भावनालाई प्राथिमकतामा राख्ने हो भने अर्थतन्त्रलाई थप बलियो बनाउन सकिन्छ । यसका लागि खुला वातावरण उपलब्ध गराउनुपर्छ ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्यो ?
जेनजी प्रदर्शनबाट निजी क्षेत्रले भौतिक क्षतिको साथसाथै ठूलो मानसिक क्षति पनि बेहोर्नुपर्यो । भौतिक क्षति पुनःस्थापित गर्न सकिएला तर मानसिक क्षति अपूरणीय छ । यसले निजी क्षेत्रका लगानीकर्तामा ठूलो मानसिक प्रभाव पारेको छ । लगानी भनेको आजको भोलि नै आउने होइन ।
यसका लागि उपयुक्त वातावरण चाहिन्छ । लगानीकर्ताको मनोबल सकारात्मक हुनुपर्छ र प्रतिफलको सुनिश्चितता हुनुपर्छ । एकपटक कमजोर भएको मनोबल उकास्न र पुनः सामान्य अवस्थामा फर्किन समय लाग्छ ।
सुदृढ हुँदै गरेको लगानी वातावरणमा जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले गम्भीर धक्का पुगेको हो ?
जेनजी आन्दोलनभन्दा अघि पनि अर्थतन्त्र शिथिल नै थियो । तर, केही हुन्छ कि भन्ने आशा बिस्तारै पलाउँदै गएको थियो । सरकारले कानूनमा केही सुधार गर्दैछ जसका कारण अब केही सहज हुन्छ भनेर आशा पलाएको बेला जेनजी आन्दोलन भयो । यसले लगानीमा पक्कै असर परेको छ । सामान्य अवस्थामा आउँदै गरेको लगानीको वातावरण एकपटक फेरि बिग्रिएको छ ।
आन्तरिक मात्र नभएर बाह्य लगानी समेत तत्कालै आकर्षित गरिहाल्न सकिने अवस्थामा हामी छैनौं । विदेशी लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा छन् । कतिपय अवस्थामा नेपाल आउन लागेको लगानी यस्तै आन्दोलन, असहजता र लगानीकर्ताको विश्वासमा ठेस लागेका कारण अरू नै देशमा गएको पनि छ ।
तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको डर, असुरक्षा, अनिश्चितताजन्य तनाव के–के छन् ?
उद्योगी व्यवसायीमा आन्दोलनले स्वाभाविक रूपमा मानसिक क्षति गर्छ भनी हामीले विभिन्न ठाउँ र फोरममा भन्दै आएको विषय हो । त्यो अवस्था जेनजी आन्दोलनमा पनि पक्कै भोग्नुपर्यो । अर्थतन्त्रको सुधार र लगानीको वातावरणका लागि सबैले काम गर्नुपर्छ । त्यसैले अर्थतन्त्रमा धक्का दिने यस्तो आन्दोलन फेरि कहिल्यै नहोस् । यसका लागि बलियो आत्मविश्वास पनि चाहिएको छ । जुनसुकै आन्दोलन र हुलहुज्जतमा पनि देशमा उद्योगी व्यवसायीले असुरक्षाको महसुस गरिरहेका हुन्छन् ।
राज्यले सुरक्षाको प्रत्याभूति गराउन नसक्नु यसको कारण हो । देशमा अब के होला भन्ने अन्योल र डर अझै पनि छ । डर र त्रासमा कसैले काम गर्न पनि सक्दैन । असुरक्षा महसुस हुँदाहुँदै लगानीकर्ता अगाडि बढ्न सक्दैनन् । यस्तो अवस्थामा निर्वाचन मात्रै समाधान हुन सक्दैन । त्यसका लागि पनि लगानीमैत्री वातावरण बनाउन आवश्यक छ ।
जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?
सरकारले जसरी भए पनि व्यावसायिक वातावरण बनाउनैपर्छ भने निजी क्षेत्रको सुरक्षा गर्नैपर्छ । जेनजी आन्दोलनपछि बनेको यो चुनावी सरकार मात्र भएकाले धेरै अपेक्षाका बावजुद निजी क्षेत्रप्रतिको सरकारको कामकारबाही त्यति प्रभावकारी हुन सकेको छैन । तर, अर्थमन्त्री अर्थतन्त्र बुझ्ने व्यक्ति भएकाले अर्थमन्त्रीसँग संवाद गर्न केही सहज भने भएको छ ।
जेनजी आन्दोलनपछि निजी क्षेत्रलाई बुझेका अर्थमन्त्रीको रूपमा हामीले रामेश्वर खनाललाई पाएका छौं । उहाँले अर्थतन्त्रको सुधारका लागि आफ्नो तहबाट प्रयास भने गरिरहनु भएको छ । तर, जति प्रयास भएको छ त्यतिले पुग्दैन ।
व्यवसायीको मनोबल बढाउन सरकारलाई तपाईंको सुझाव केके छन् ?
सरकार जुनसुकै आए पनि निजी क्षेत्रले खोज्ने भनेको सहजता हो । व्यावसायिक सहजताका लागि जटिल प्रक्रिया र झन्झटिलो नीति हुनुहुँदैन भन्ने हो । सरकारले नीतिमा सुधार ल्याउनुपर्छ । भएका राम्रा नीति कार्यान्वयन गर्दै जानुपर्छ । जेनजीले उठाएको माग पूरा गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । बोलेर मात्र हुँदैन, सुशासनमा सुधार ल्याउन आवश्यक छ ।
हाम्रोमा कुन ठाउँमा कहाँ कमी छ, सबैले आफ्नो ठाउँबाट रिभ्यु गरेर जाने हो भने पक्कै व्यावसायिक मनोबल बढाउँछ । त्यसले गर्दा राजस्वमा योगदान र रोजगारी सिर्जनामा सकारात्मक ऊर्जा थपिन्छ ।
भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ रु वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेछ । सरकारी पक्ष वा सर्वसाधारणले निजी क्षेत्रलाई नाफा कुम्ल्याउने संस्था मात्र भनेर बुझ्नुभएन । यसरी हेरियो भने अर्थतन्त्रमा टेवा पुर्याउने र रोजगारी अभिवृद्धि गर्ने निजी क्षेत्र वा व्यवसायीप्रति झन् नकारात्मक सन्देश दिन सक्छ । तसर्थ यी विषयहरूमा व्यापक रूपमा जनचेतना हुनुपर्छ ।
नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
लगानीमैत्री वातावरणका लागि सर्वप्रथम सरकारको सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । नीति परिवर्तन गर्नुपर्छ । राम्रा नीतिलाई कार्यान्वयन गर्नुपर्छ । सुशासन कायम गरी निजी क्षेत्रको के चाहना हो भन्ने कुरालाई बुझ्ने प्रयास गर्नुपर्छ र खुला वातावरणको कुरा गर्नुपर्छ । सरकारले राजस्वबाट लाभ पाउनेछ र निजी क्षेत्रको पनि अपनत्व बढ्न सक्छ ।
(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष राणाले दिएको जवाफका आधारमा तयार पारिएको हो ।)










प्रतिक्रिया