फेक रेस्क्युमा वायुसेवा सञ्चालक संघका पूर्वउपाध्यक्षसहित २ जना पक्राउ

91
Shares

काठमाडौं । पर्यटकलाई पर्वतारोहण क्षेत्रमा पुर्याएर हुने नक्कली उद्दार (फेक रेस्क्यु)मा माउन्टेन हेलिकप्टरका प्रवन्ध निर्देशक तथा वायुसेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंहसहित अर्को एक जना पक्राउन परेका छन् । सिम्रिक एयरलाइन्स र सीता एयरलाइन्सका यस अघि सञ्चालक समेत भइसकेका सिंहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सीआईबीले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको जानकारी एक विज्ञप्ति सार्वजनिक गरेरै दिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ३१ का सिंह बुधबार पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मङ्गलबार पक्राउ परेका हुन् ।

हालसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।

अभियुक्तहरुले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।

सिंह सरकारले बनाएकाे ‘नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समिति’का सदस्य समेत हुन । हालका कानून, उद्योग र पर्यटन मन्त्री तथा पूर्व न्यायाधीश अनिल सिन्हा संयोजकत्वमा बनेको उक्त समितिमा सिंह सदस्य थिए । उक्त समितिले २०८२ भदौं २० मा सरकारलाई प्रतिवेदन बुझाएको थियो ।