
काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आज फागुन १२ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूको लागि निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये जारी पुँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि, ५ लाख ६२ हजार ५०० कित्ता विदेशमा काम गरिरहेका नेपालीहरूको लागि, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि र अन्य २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कर्मचारीहरूको लागि बाँडफाँट गरि बाँकी रहेको ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूको लागि निष्काशन गरिएको हो ।
फागुन १२ गते देखि निष्काशन खुला भएको आईपीओ छिटोमा १६ गते र ढिलोमा २६ गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ । यो आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा रेटिङ एजेन्सी इन्फोमेरिक्सले ‘डबल बी प्लस’ रेटिङ दिएको छ ।
पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड सिमेन्ट उद्योगमध्ये आईपीओ निष्काशन गर्ने पाँचौं कम्पनी हो । यसअघि चार सिमेन्ट कम्पनीले प्रिमियम र बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेका थिए ।
शिवम् सिमेन्टले २०७५ मा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको थियो । यस्तै घोराही सिमेन्ट र सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले पनि प्रिमियम मूल्यमा नै आईपीओ निष्काशन गरेका थिए । सर्वोत्तम सिमेन्टले भने बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको थियो । पाल्पा सिमेन्टले भने अंकित मूल्यमा नै आईपीओ जारी गरेको हो ।








प्रतिक्रिया