
काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन सुरु गर्दैछ । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण सेयर निष्काशन गर्दैछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि पुस २५ गतेदेखि नै आईपीओ निष्काशन हुँदैछ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशतले हुने ७५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न विवरणपत्र स्वीकृत गरेको थियो । जसमध्ये जारी पुँजीको ५ प्रतिशतले हुने १८ लाख ७५ हजार कित्ता स्थानीयलाई र बाँकी अर्थात् जारी पुँजीको १५ प्रतिशतले हुने ५६ लाख २५ हजार कित्ता सेयर सेयर सर्वसाधारणलाई निष्काशन हुनेछ ।
सर्वसाधारणलाई निष्काशन हुने आईपीओको १० प्रतिशतले हुने ५ लाख ६२ हजार ५०० कित्ता सेयरका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले २५ पुसदेखि नै आवेदन दिन पाउनेछन् ।
दोस्रो चरणमा बाँकी सर्वसाधारणलाई आईपीओ निष्काशन हुनेछ ।
पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड सिमेन्ट उद्योगमध्ये आईपीओ निष्काशन गर्ने पाँचौं कम्पनी हो । यसअघि चार सिमेन्ट कम्पनीले प्रिमियम र बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेका थिए ।
शिवम् सिमेन्टले २०७५ मा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको थियो । यस्तै घोराही सिमेन्ट र सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले पनि प्रिमियम मूल्यमा नै आईपीओ निष्काशन गरेका थिए । सर्वोत्तम सिमेन्टले भने बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको थियो । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी हो ।
पाल्पा सिमेन्टले भने अंकित मूल्यमा नै आईपीओ जारी गर्न लागेको हो । प्रकाशित आह्वानपत्र अनुसार पाल्पा सिमेन्ट पछिल्लो चार आर्थिक वर्ष लगातार नाफामा नै रहेको वित्तीय विवरणले देखाउँछ ।
आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन अनुसार उद्योगको कुल लागत ९ अर्ब ७२ करोड ८७ लाख ३२ हजार रुपैयाँ छ ।
२०७६ वैशाखदेखि क्लिंकर र २०७७ वैशाखदेखि सिमेन्ट उत्पादन सुरु गरेको कम्पनीको दैनिक सिमेन्ट उत्पादन क्षमता २२ सय मेट्रिक टन र क्लिंकर उत्पादन क्षमता १८ सय मेट्रिक टन छ । २०७७ देखि सिमेन्ट उत्पादन सुरु गरेको कम्पनीले आर्थिक वर्ष २०७७/७८ मै सिमेन्ट तथा क्लिंकर बिक्रीबाट करिब ४ अर्ब ७४ करोड रुपैयाँको आम्दानी गरेको कम्पनीको वार्षिक प्रतिवेदनले देखाउँछ ।
आर्थिक वर्ष २०७७/७८ सम्म आर्थिक गतिविधि उच्च र निर्माण कार्यले तीव्रता पाउँदा सिमेन्टको माग उच्च थियो । जसले गर्दा कम्पनी सञ्चालनमा आएको छोटो समयमा नै सञ्चालन आम्दानी उच्च देखियो ।
३ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको उक्त आर्थिक वर्षमा करिब ४ अर्ब ९२ करोड दीर्घकालीन कर्जा र ५५ करोड रुपैयाँ अल्पकालीन कर्जा थियो ।
आम्दानी मात्रै नभएर सो आवमा कम्पनीको नाफा पनि पछिल्लो ५ वर्षकै सबैभन्दा धेरै थियो ।
आर्थिक वर्ष २०७८/७९ देखि अर्थतन्त्रमा देखिएको सुस्तताले निर्माण कार्य सुस्त हुँदा कम्पनीको सञ्चालन आम्दानी घट्यो । सञ्चालन खर्च बढ्दा तथा आम्दानीमा संकुचन हुँदा नाफामा पनि कमी आयो । आव २०७७/७८ मा २० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा आव २०७८/७९ मा २ करोड ७३ लाख रुपैयाँमा सीमित भयो । कम्पनीको सञ्चालन आम्दानी घटेर ३ अर्ब ८१ करोड ८४ लाख रुपैयाँमा झर्दा नाफामा भारी गिरावट आयो । त्यतिबेला पाल्पा सिमेन्टको अल्पकालीन ऋण बढेर १ अर्ब २६ करोड रुपैयाँ पुग्दा दीर्घकालीन ऋण १ अर्ब ५२ करोडमा झरेको थियो ।
आव २०७९/८० मा कम्पनीले ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमायो । अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आम्दानी केही बढेर ४ अर्ब १४ करोड रुपैयाँ पुग्यो तर ब्याजदर उच्च हुँदा वित्तीय लागत अघिल्लो वर्षको ४९ करोडबाट बढेर ७३ करोड रुपैयाँ पुग्दा आम्दानी बढेपनि नाफा अपेक्षित रुपमा बढ्न सकेन ।
आव २०७९/८० मा कम्पनीको अल्पकालीन ऋण ७३ करोड रुपैयाँ र दीर्घकालीन ऋण ५ अर्ब २८ करोड रुपैयाँ पुग्यो ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल व्यापार केही बढेर ४ अर्ब २२ करोड रुपैयाँ पुग्यो । वित्तीय लागत अघिल्लो वर्षको तुलनामा केही घटेर ६९ करोड ५३ लाखमा झर्यो । सोही कारण कम्पनीको नाफा केही सुधार देखियो । खुद नाफा ६ करोड ९९ लाख रुपैयाँ पुगेको सो आव कम्पनीको दीर्घकालीन ऋण केही घटेर करिब ५ अर्ब १६ करोड रुपैयाँमा सीमित भयो भने अल्पकालीन ऋण थप बढेर १ अर्ब ३० करोड रुपैयाँ पुग्यो ।
गत आर्थिक वर्ष अर्थात् आव २०८१/८२ मा पाल्पा सिमेन्टको कुल व्यापार केही घटेर ४ अर्ब ११ करोड रुपैयाँमा झरेको छ । कर्जाको ब्याजदर घटेर वित्तीय लागत करिब ५५ करोड ८५ लाख रुपैयाँमा झरेको छ । जसले गर्दा व्यापार घटे तापनि नाफा बढेर ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आव वर्षसम्म आइपुग्दा पाल्पा सिमेन्टको अल्पकालीन ऋण केही घटेर ७५ करोड ८० लाख रुपैयाँमा झरेको छ । त्यस्तै दीर्घकालीन ऋण थप बढेर ५ अर्ब ६७ करोड रुपैयाँ पुगेको देखिन्छ ।
५ वर्षदेखि कम्पनी लगातार नाफामा रहेको वित्तीय विवरणले देखाउँछ । तर, कम्पनी लगानीकर्तालाई उच्च प्रतिफल तत्काल दिनेसक्ने अवस्थामा भने नरहेको कम्पनीको वित्तीय विवरणले देखाउँछ । यसको कारण हो, पछिल्ला वर्षमा कम्पनीको कुल व्यापार खासै नबढ्नु र वित्तीय लागत घटबढ भइरहनु ।
यस्तो छ कम्पनीको प्रमुख वित्तीय सूचकः

तर, कम्पनीले आईपीओ निष्कानबाट प्राप्त हुने रकम स्थायी चालुपुँजी कर्जा भुक्तानीमा प्रयोग गर्ने जनाएको छ । जसले गर्दा कम्पनीको दीर्घकालीन ऋण घट्ने र यसबाट वित्तीय लागत समेत घट्न गई कम्पनीको मुनाफा बढ्ने देखिन्छ ।
कम्पनीको सम्पत्ति पुनमूल्यांकन नभएको नेटवर्थ नै ११९ रुपैयाँ ६२ पैसा छ भने अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद पनि प्रतिसेयर आम्दानी ३ रुपैयाँ २५ पैसा छ । यसले सब ठीकठाक रहँदा सबल वित्तीय परिसूचकको संकेत गर्दछ ।
कम्पनीमा नेपाल उद्योग परिसंघ (सीएनआई)का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र उनका भाइ विष्णु कुमार अग्रवालको समान ३६.१२ प्रतिशत सेयर हिस्सा रहेको छ । यसैगरी यश र शेखर कुमार अग्रवालको समान ४.६६ र ४.६६ प्रतिशत, स्विटी कुमारी अग्रवाल र संगिता अग्रवालको समान ४.६१ र ४.६१ प्रतिशत सेयर हिस्सा छ । त्यस्तै विनोद कुमार श्रेष्ठको २.३३ प्रतिशत, दिपक कुमार झाको २.१७ प्रतिशत, प्रभा गोयन्काको १.६७ प्रतिशत सेयर रहेको छ । कम्पनीमा शशिकला श्रेष्ठको १.१२ प्रतिशत र शिल्पीमणिका झाको १.१२ प्रतिशत सेयर रहेको छ ।
पाल्पा सिमेन्टले तानसेन ब्रान्डमा सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।
यसअघि रेटिङ एजेन्सीले व्यापार घट्दा पनि नाफा बढ्नुको कारण ‘निर्यात’ रहेको उल्लेख गरेको छ । पाल्पाले वि.सं. २०७९ असारदेखि सिमेन्ट निर्यात थालेको हो । कम्पनीको कुल व्यापारमा निर्यातको हिस्सा बढ्दो (बर्सेनि १ अर्बको निर्यात) छ । खानीबाट उद्योग नजिकै हुनुको लाभ पनि पाल्पा सिमेन्टलाई छ ।
आरएमसी ग्रुप अन्तर्गतको पाल्पा सिमेन्ट इन्डिस्ट्रिज सन् २००९ मा स्थापना भएको हो भने सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । आरएमसी सिमेन्ट सन् २०११ देखि नै सिमेन्ट उत्पादन व्यवसायमा संलग्न छ ।
कम्पनीको खानी पाल्पा जिल्लाको राहावासमा रहेको छ भने ३० किमि दुरीमा अवस्थित नवलपरासीको सुनुवलमा उत्पादन प्लान्ट छ । कम्पनीले क्लिंकर उत्पादनका लागि नयाँ खानीको पनि लाइसेन्स पाइसकेको छ । उक्त क्षेत्रबाट वार्षिक १० हजार मेट्रिक टक क्लिंकर उत्पादन हुनेछ । यसअघि ५ हेक्टर जग्गामा सीमित रहेको खानी ४९ हेक्टरको भएको छ ।
कम्पनीको सिमेन्ट उत्पादन भीआरएम प्रविधिमा आधारित छ । आरएमसी ग्रुप नेपालमा निर्माण सामग्री उत्पादन र बिक्रीमा दुई दशकभन्दा लामो अनुभव बोकेको समूह हो । ग्रुपअन्तर्गत राजेश मेटल क्राफ्ट्सजस्ता प्रतिष्ठित कम्पनी छन् । पाल्पा सिमेन्टको देशभर फैलिएको डिलर सञ्जालले बजार पहुँच विस्तारमा सहयोग गरेको छ ।
नेपालको सिमेन्ट उद्योग अत्यधिक प्रतिस्पर्धात्मक छ भने मूल्य निर्धारणमा कम फ्लेग्जिबिलिटी छ । खासगरी सिमेन्ट उद्योगको बढेको उत्पादन क्षमता र कम मागका कारण मूल्यमा थप दबाब सिर्जना गरेको छ । यस्तै, कच्चा पदार्थ र इन्धनको मूल्यवृद्धिले मुनाफामा प्रतिकूल असर पार्न सक्ने देखिन्छ । साथै, सरकारले दिएको अनुदानको सुविधा हटेमा वा अन्य नीति परिवर्तन भएमा सिमेन्ट उद्योगमा गहिरो असर पार्न सक्नेछ ।
आईपीओ जारी गरेका अन्य ४ सिमेन्ट कम्पनी र पाल्पा सिमेन्टको वित्तीय सूचक तथा मूल्यबीच तुलनाः









प्रतिक्रिया