व्यक्तिगत एवं लगानीको सुरक्षालाई लिएर आम लगानीकर्तामा अहिले पनि भय र त्रास यथावत छ

21
Shares

वीरेन्द्रराज पाण्डे नेपाल उद्योग परिसंघका अध्यक्ष हुन् व्यावसायिक क्षेत्रमा उनको  दशक लामो अनुभव उनी भदौ २३ २४ को जेनजी विद्रोहका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले समग्र निजी क्षेत्रको आत्मविश्वासमा ठूलो धक्का पुर्याएको बताउँछन् जेनजी विद्रोहका कारण व्यवसायीले भोग्नुपरेको आर्थिक तथा भौतिक क्षति लगानीको खस्कँदो वातावरणबारे पाण्डेको अनुभव विश्लेषण यहाँ प्रस्तुत गरिएको छ।

जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?

जेनजी प्रदर्शनका क्रममा मेरो व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमाथि क्षति पुगेन । तर, प्रदर्शनका कारण बजार प्रभावित हुनुका साथै आपूर्ति श्रृंखलामा अवरोध भयो । यसले हाम्रो व्यावसायिक वातावरणमा नकारात्मक असर पारेको छ।

जेनजी प्रदर्शन बेलाको माहोल र वातावरणको कारण हामीमा सामान्य तनाव बढाएको छ । यसले थप लगानीका लागि पर्ख र हेरको अवस्थामा बस्नुपर्ने स्थिति बनेको छ । यस प्रदर्शनका कारण उत्पन्न भएको परिस्थितिका कारण लगानीको वातावरणमा समेत असर पुर्‍याएको छ ।

जेनजी प्रदर्शनपछि निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सरकारले निर्वाह गरेको भूमिका कस्तो छ ?

जेनजी आन्दोलनपछिको वातावरणलाई सहज बनाउन र निजी क्षेत्रको आत्मविश्वास जगाउन सरकारको भूमिका तटस्थ देखिएको छ ।

यस प्रदर्शनका क्रममा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ४ देखि ५ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा क्षति भएको छ । निजी क्षेत्रले भौतिक, आर्थिक तथा मनोवैज्ञानिक क्षति निकै बेहोर्नुपरेको छ ।

सुदृढ हुँदै गरेको लगानी वातावरणमा जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले गम्भीर धक्का पुगेको हो ?

आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड तथा लुटपाटका घटनाले उद्योगी व्यवसायीहरूलाई अत्यन्त दुःखित एवं चिन्तित बनाएको छ । आजको दिनसम्म पनि व्यक्तिगत एवं लगानीको सुरक्षालाई लिएर आम लगानीकर्तामा भय र त्रास यथावत छ ।

लगानीकर्तामा लगानी र व्यक्तिगत शान्ति सुरक्षाको भय यथावत रहिरहे लगानीको वातावरण बन्न नसक्ने अवस्था छ । यसको प्रत्यक्ष असर रोजगारीमा पनि पर्ने र परिणामस्वरूप त्यसको समग्र चाप मुलुकको अर्थतन्त्रमा पर्न सक्नेछ ।

तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको पोस्ट जेनजी स्ट्रेस (डर, असुरक्षा, अनिश्चितताजन्य तनाव) के–के छन् ?

भविष्यमा हुन सक्ने लगानीको असुरक्षा, राजनीतिक तथा नीतिगत अनिश्चितता, समाजले उत्पादनशील क्षेत्रलाई हेर्ने नकारात्मक दृष्टिकोण र त्यसबाट निस्कने दुष्परिणाम लगायतका तनाव जेनजी प्रदर्शनले सिर्जना गरेको छ ।

जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?

तत्काल प्रभावित उद्योग तथा व्यवसाय लक्षित वित्तीय, मौद्रिक तथा नीतिगत राहतका व्यवस्था सकारात्मक छन् । रूपान्तरणकारी प्रयासहरू तथा यसका प्रस्थानविन्दुमा भने काम हुन बाँकी देखिन्छ ।

व्यवसायीको मनोबल बढाउन सरकारलाई तपाईंको सुझाव के के छन् ?

यो सरकारले नयाँ कानुन बनाउन सक्ने स्थिति छैन । तर, सरकारले लिने नीतिहरू आगामी सरकारका लागि समेत मार्गदर्शक बन्न सक्छन् । त्यसैले सरकारले गर्न सक्ने निर्णय, रूपान्तरणकारी नीतिहरू समेत अगाडि बढाउन आवश्यक छ ।

भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ ? वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?

सुरक्षाको प्रत्याभूति हुनेगरी सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ । निजी क्षेत्रले नेपालको औद्योगिक विकास तथा अर्थतन्त्रमा पुर्‍याएको योगदानका बारेमा जनमानसलाई सुसूचित गराउने काम पनि राज्यको हो । निजी क्षेत्रका प्रतिष्ठानहरूले गरेका असल अभ्यासलाई जनतासामु पुर्‍याउने प्रणालीको विकास हुनुपर्छ ।

कर्पोरेट सोसल रेस्पन्सिबिलिटी कार्यक्रमहरू सञ्चालन गर्ने र त्यसका लागि सहज वातावरण तयार गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । साथै, देशको अर्थतन्त्रको नीतिगत दिशा रेमिट्यान्स तथा वस्तुको आयातबाट प्राप्त हुने राजस्वभन्दा देशमै उत्पादन तथा रोजगारी सृजना गरी अर्थतन्त्रलाई आत्मनिर्भतातर्फ लैजान केन्द्रित हुनुपर्छ ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

यस विषयमा विभिन्न बुँदागत रूपमा सबै पक्षले आफ्नो भूमिका खेल्नुपर्ने आवश्यकता छ । व्यवसाय सञ्चालन र प्रक्रियाका लागि औद्योगिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ । उत्तर र दक्षिण दुवै सिमानामा आयातको भन्सार विन्दु परिवर्तन गर्न सहजीकरण गर्नुपर्छ ।

जस्तै, रसुवा र खासा बन्द हुँदा कोरला भन्सार विन्दुमा सजिलै र सहज रूपमा परिवर्तन गर्न मिल्ने प्रक्रिया सुनिश्चित गर्नुपर्छ । कच्चा पदार्थसहित वस्तु तथा सेवाको प्रवाहमा कुनै पनि प्रशासनिक वा प्रक्रियागत अवरोध नआउने व्यवस्था गर्नुपर्छ ।

लगानी सुनिश्चितता नहुँदा वैदेशिक लगानीकर्ताहरू फिर्ता हुँदै गइरहेको सन्दर्भमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) कायम राख्न स्पष्ट आश्वासन प्रदान गर्नुपर्छ ।  कम्तीमा १० वर्षसम्म नीतिगत स्थिरता र पूर्वानुमान गर्न सकिने स्थिति सुनिश्चित गर्नुपर्छ ।

आन्दोलनबाट गम्भीर रूपमा प्रभावित उद्योग तथा व्यवसायीहरूलाई सहयोग गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुका साथै जलेका मशिनरी तथा अन्य उपकरणहरू भन्सार शुल्क बिना आयात गर्न अनुमति दिने व्यवस्था सरकारबाट हुन जरुरी छ । जलेका सवारीसाधन अतिरिक्त कर बिना प्रतिस्थापन गर्न अनुमति दिनुपर्ने आवश्यक्ता पनि छ ।

लक्षित आक्रमणको सामना गरिरहेका अन्तर्राष्ट्रिय ब्रान्ड/बहुराष्ट्रिय कम्पनी तथा स्थापित नेपाली व्यापारिक समूहका समस्याहरू समाधान गर्नतर्फ पनि सरकार अग्रसर हुनुपर्छ ।

व्यक्ति तथा ब्रान्डमाथि गरिने लक्षित आक्रमणहरूलाई कानुनी रूपमा दण्डनीय बनाउने व्यवस्था राज्यले गर्न आवश्यक छ । सेयर बजारमा विश्वास पुनःस्थापना गर्न विशेष कार्यक्रम ल्याउने परिपाटी हुनुपर्छ ।

यसका साथै, नेपाल बिमा प्राधिकरणले प्रभावित व्यवसायहरूको शीघ्र पुनरुत्थानका लागि बिमा दाबी भुक्तानीलाई प्राथमिकता दिन सबै बिमा कम्पनीहरूलाई निर्देशन दिनुपर्ने हुन्छ ।

यसका लागि नेपाल बिमा प्राधिकरणले एक वरिष्ठ तहको अधिकारीलाई नोडल व्यक्ति (सम्पर्क अधिकृत) तोक्नुपर्छ ।

सरकारले करमुक्त पुनर्निर्माण बियरर बन्ड जारी गर्ने र च्यारिटी बन्ड, सामाजिक बन्ड जारी गर्नुपर्ने आवश्यकता पनि छ । विकास साझेदार संस्थाहरूबाट प्राप्त सहयोग/सहायताको पुनःसंरचना गरेमा राम्रो हुने देखिन्छ ।

साथै, सरकार र निजी क्षेत्रबीचको विश्वास अभाव हटाउने, जग्गा व्यवस्थापन/उपयोगमा स्पष्टता ल्याउन स्वीकृत परियोजना योजनाअनुसार उद्योगहरूमा जग्गा सीमा लागू नहुने गरी स्पष्ट कानुनी व्यवस्था गर्नुपर्छ ।

वर्तमान संकटबाट पुनरुत्थानमा सहयोग पुग्ने गरी सरकारी सेवाहरूको डिजिटलाइजेसन तीव्र बनाउने—छिटो, पारदर्शी र प्रभावकारी पहुँच सुनिश्चित गर्दै फेसलेस, कन्ट्याक्टलेस र पेपरलेस प्रक्रिया लागू गर्ने गरेमा पनि नागरिकका सेवा सहज हुनेछन् ।

औद्योगिक व्यवसाय ऐनका प्रावधानहरू वित्त ऐनजस्ता अन्य कानुनद्वारा अतिक्रमण नहुने सुनिश्चित गर्ने, संघीय, प्रदेश र स्थानीय सबै तहमा लागू हुने करहरू एकै स्थानबाट संकलन गर्ने नयाँ प्रणाली विकास गर्ने र राज्यले त्यसलाई सम्बन्धित तह वा निकायहरूमा बाँडफाँट/वितरण गर्ने व्यवस्था गरेर जानुपर्ने आवश्यकता छ ।

(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा नेपाल उद्योग परिसंघका अध्यक्ष पाण्डेले दिएको जवाफका आधारमा तयार पारिएको हो।)