होटल भादगाउँ एन्ड रिसोर्ट पाँचतारेमा स्तरोन्नति हुँदै, १ करोड ४० लाख खुद नाफा

497
Shares

काठमाडौं । होटल भादगाउँ एन्ड रिसोर्टले गत आर्थिक वर्षमा साढे ८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ६ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

रिसोर्टले गत आवमा गरेको व्यापारमध्ये ४८ प्रतिशत हिस्सा फुड एन्ड बेभरेजको रहेको छ । त्यसपछि ३५ प्रतिशत हिस्सा कोठाबाट भएको उल्लेख छ । रिसोर्टले गत आवमा १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, रिसोर्टको कुल नगद सञ्चिति २ करोड २० लाख रुपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापना भएको कम्पनी सन् २०२५ मा मात्रै पब्लिक कम्पनीको रूपमा परिणत भएको थियो । रिसोर्टमा १ सय ४ वटा कोठाको सुविधा छ । जसमा कम्पनीले ४३ वटा कोठालाई हालका लागि पाँचतारे स्तरमा स्तरोन्नति गर्ने भएको छ । बाँकी कोठाहरूमा अतिरिक्त सुविधासहित नयाँ स्तरोन्नति गरिने जनाएको छ ।

रिसोर्टमा लक्जरियस सुविधा रहने जनाइएको छ । जसमा फराकिला कोठा, सुइट, भिल्ला, क्यासिनो हल, ब्यांक्वेट तथा अन्य विभिन्न सुविधा हुने उल्लेख गरिएको छ ।

कम्पनीले हाल ४३ वटा कोठासहित रिसोर्ट सञ्चालन गर्दै आएको छ । रिसोर्टले हाल सञ्चालनमा रहेको ३ सय जना क्षमताको कन्फरेन्स हललाई स्तरोन्नति गरेर ६ सय जना क्षमता अट्ने बनाउने भएको छ ।