कीर्तिपुरका पूर्वमेयर नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेका कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्ववडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा बामदेव गौतम लगायत नेताहरूले उनीहरूलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी विभिन्न कम्युनिस्ट शक्तिहरूको एकताबाट बनेको उल्लेख गर्दै आगामी दिनमा सिङ्गो एमालेसहितको बृहत् वाम एकतामा पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रवादी शक्तिहरूबीच सहकार्य हुन सके देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे ।

पार्टी प्रवेश गरेका रमेश महर्जन र नुच्छे महर्जनले कीर्तिपुर–१० मा तारा चिन्हबाट उम्मेदवार रहेकी रुपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

यसै क्रममा पूर्व मेयर रमेश महर्जनले दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्दासमेत जनअपेक्षा अनुरूप काम हुन नसकेको टिप्पणी गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टरमार्फत सत्ता बाहिरिनु परेको प्रसंग उल्लेख गर्दै जनतासँग पुनः मत माग्ने नैतिक आधार कमजोर भएको आरोप लगाए ।