
धरान । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसदीय निर्वाचनको अग्नि परीक्षामा छन् ।
खानेपानी समस्यालाई मुख्य एजेन्डा बनाएर गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयरमा बाजी मारेका हर्कले जनश्रमदानमार्फत पानी ल्याएर लाहुरे गाउँ धराने जनताको विश्वास जितेका थिए । तर यसबेला उनी तिनै जनताबीच आलोचित पनि बनेका छन् ।
मेयरका रूपमा उनले गरेका केही कामहरू विवादित भए पनि भ्रष्टाचार, अनियमितता र परम्परागत दलको असफलताविरुद्धको स्पष्ट आवाजले उनको छुट्टै पहिचान भने बनेको छ ।
त्यही पहिचानले हौसिएर श्रम संस्कृति पार्टी खोलेर राष्ट्रिय राजनीतिमा समेत होमिएका हर्क आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार छन् । यहाँ नयाँ र पुराना राजनीतिक दल अनि स्वतन्त्र गरी २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।
नयाँ–पुराना दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीसहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।
हर्कले आफूलाई नै भावी प्रधानमन्त्रीको दाबी गर्दै चुनावी मैदानमा उत्रिएका कारण पनि यो क्षेत्रमा सर्वसाधारणको चासो बढी रहेको पाइन्छ । जसरी उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर राजनीतिक दलहरूको विरासत बनेको धरान उपमहानगरमा अपत्यारिलो रूपमा मेयरमा निर्वाचित भए, त्यही धरान रहेको सुनसरी १ मा उनको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी अनुमोदन हुन्छ कि हुँदैन भन्ने जनचासो पनि बढ्दो छ ।
यो निर्वाचनमा मेयरका रूपमा ३ वर्षको काम र कार्यकाल पूरा नहुँदै धरानको नेतृत्व छाडेर संघीय राजनीतिमा होमिने हर्कको निर्णयको समेत समीक्षा हुनेछ । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सूर्य भट्टराई उम्मेदवार छन् ।
नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपा एमालेबाट टिकाराम लिम्बु, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा तामाङ सरिन, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट राजकुमार राई, संयुक्त नागरिक पार्टीका नरेश विक, उज्यालो नेपाल पार्टीका डम्बर लावती, नेकपा संयुक्त पार्टीबाट श्यामनारायण राजधामी, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बू, आम जनता पार्टीबाट रायबहादुर विष्ट, जनता समाजवादी पार्टी नेपालबाट सञ्जय राई, जनता समाजवादी पार्टीबाट नगेन्द्रबहादुर लिम्बू र मितेरी पार्टी नेपालबाट रक्षकुमार राई प्रतिस्पर्धामा छन् ।
यहाँ स्वतन्त्र उम्मेदवारमा देउमान लिम्बू, सञ्जयकुमार राई, ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा, अजय विश्वकर्मा, चेतबहादुर राई र जीवनकला राई रहेका छन् । यो क्षेत्रमा १ लाख ५० हजार ३९३ जना मतदाता छन् ।
सुनसरी–१ मा धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाका वडा नम्बर १ देखि ५ र रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ समावेश छन् । मतदाताको संख्याका हिसाबले यो निर्वाचन क्षेत्र धरानकेन्द्रित देखिन्छ ।
यस निर्वाचन क्षेत्रअन्तर्गत धरान उपमहानगरपालिकामा मात्रै १ लाख १० हजार ९३९ मतदाता रहेका छन् । जुन कुल मतदाताको झण्डै तीन चौथाइ हिस्सा हो । यसले धरानको मतले नै सुनसरी–१ को चुनावी नतिजा निर्णायक बनाउने देखिन्छ । बराहक्षेत्र नगरपालिकाका पाँचवटा वडामा २८ हजार २४१ मतदाता छन् । रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ मा ११ हजार २१३ मतदाता छन् । सुनसरी–१ मा धराने मतदाताले जसलाई पत्याउँछन्, उसैले बाजी मार्ने स्थिति छ ।
त्यसैले राजनीतिक दल तथा उम्मेदवारको मुख्य ध्यान धरानका ठूला वडामा केन्द्रित रहेको छ । बराहक्षेत्र र रामधुनीको मतले प्रतिस्पर्धालाई नजिक ल्याउने भूमिका खेल्नेछन् ।
खासगरी यहाँ नेकपाले धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लाई उम्मेदवार बनाएपछि उनको र हर्क साम्पाङबीचको प्रतिस्पर्धा थप रोचक हुने बताइन्छ ।
भट्टराई २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट वडा–१७ मा वडाअध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा पनि लोकप्रिय मतका साथ वडाअध्यक्षमा दोहोरिएका थिए । वडाध्यक्ष भट्टराई र मेयर साम्पाङ दुवै जना सामाजिक सञ्जालमा भाइरल बनेका पात्र हुन् ।
यहाँ नेकपा एमालेले पनि धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर एमालेको पकड क्षेत्र भत्काउन सफल साम्पाङविरुद्ध टिकाराम लिम्बूलाई उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई निर्वाचित भएका थिए । जहाँ (रास्वपा) बाट अहिले दोहोरिएकी गोमा सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । उक्त निर्वाचनमा उनले १६ हजार ६०६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेकी थिइन् । राईले १७ हजार ५९ मत ल्याएर विजयी भएका थिए ।
वर्षौंदेखि धरानका उम्मेदवारले खानेपानीको एजेन्डा उठाउँदै आएका थिए । तर, कसैले समस्या समाधानमा उत्ति साह्रो ध्यान दिएनन् । मेयरमा उम्मेदवारी दिनुअघि हर्कले भने अभियन्ताका रूपमा आफ्नो अलग छवि बनाइसकेका थिए । त्यही कारण हुन सक्छ, चुनावी अभियानमा एक्लै देखिएका उनले मतपरिणाम आउँदा बाजी मारे ।
परम्परागत दलका वर्षौंदेखिका आश्वासनबाट आजित मतदाताले २० हजार ८ सय २१ मत दिएर हर्कलाई मेयर चुने । त्यति बेला सत्ता गठबन्धन (कांग्रेस–माओवादी) का किशोरले १६ हजार ५९ र एमालेकी मञ्जुले १२ हजार ८ सय २५ मत ल्याए । तर ६ वर्ष पहिला भएको स्थानीय तहको उपनिर्वाचनमा भने हर्कले ४२२ मत मात्र पाएका थिए । त्यो निर्वाचनमा कांग्रेसका तिलक राई विजयी भएका थिए ।
सिंगो देशले लौरो चुनाव चिह्नबाट स्वतन्त्र रूपमा मेयर निर्वाचित भएपछि चिने पनि धरानमा हर्क एक दशकअघिबाटै विकृति, विसंगतिविरुद्ध खरो आवाज उठाइरहने अभियन्ता थिए । २०७२ मा मदन भण्डारी राजमार्ग विस्तारका क्रममा धनकुटे सडकमा धेरैको घर भत्किने भएपछि हर्कको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो । त्यस अभियानलाई धेरैले साथ दिँदा उनी धरानमा प्रस्ट चिनिएका थिए ।
हर्कले सुरुवाती चलाउँदै आएको अर्को अभियान खानेपानी समस्या समाधान सम्बन्धी हो । धरानमा खानेपानी समस्या समाधानका लागि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा २ अर्ब १९ करोड रुपैयाँ बराबरको परियोजना अघि बढाइएको थियो । त्यसमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । भ्रष्टाचारको छानबिनको माग राख्दै प्रदर्शन गर्ने क्रममा हर्कले खानेपानीको मुहान तोडफोडसमेत गरे ।
हर्क मेयर भएपछि अरू जनप्रतिनिधिजस्तो प्रशासनिक काममा मात्र अल्झिएर कार्यालयमा बसिरहेनन् । जनताको तिर्खा मेटाउन श्रमदान अभियान चलाउन थाले । हरेक शनिबार आफैँ ढुंगा बोकिरहेको देखिन थाल्यो । ‘कति दिन त मेरो हातमा ठेला हुन्थे, तर त्यो देख्दा मलाई ढुंगाको मान्छे हुँ कि जस्तो लाग्थ्यो,’ हर्कले भन्दै आएका छन् ‘पानी माग्दै सिंहदरबार पुगेँ, अनेकतिर धाएँ । तर सहयोग नभएपछि स्थानीय स्रोतबाट व्यवस्थापन गर्न लागिपरें ।’
हर्कले धरान–२० मा पर्ने कोकाहा खोलाको पानी बराहक्षेत्र नगरपालिका हुँदै घना जंगलबाट धरानसम्म ल्याउने प्रयास थाले । ‘तिर्खाएको धरानलाई पानी देऊ’ भन्दै अभियान चलाएका उनले मेयर बनेको करिब चार महिनामै धरान बजारमा पानी ल्याए । मेयर निर्वाचित भएलगत्तै घरदैलोमा जाँदा गरेको वाचा पूरा गर्न कस्सिएका हर्कले श्रमदानमार्फत खर्दु र निसाने खोलाको पानी धरान ल्याएपछि बधाईका पात्र बने ।
कोकाहा खोला खानेपानी श्रमदान अभियानका प्रोजेक्ट म्यानेजर दत्त लिम्बूका अनुसार नागरिक सहभागिता, चन्दा र पालिकाको बजेटसमेत गरी ६ करोड ७८ लाख लागतमा करिब ४० किलोमिटर टाढाबाट धरानमा खानेपानी भित्र्याइएको हो ।
हर्कले धरानमा बार अनुसार सचेतनामूलक अभियान सुरु गरेका थिए । उनले बिहीबार ‘सरसफाइ डे’, शुक्रबार ‘से नो टु ड्रग्स डे’ र शनिबार ‘श्रमदान डे’ भनेर छुट्याएका थिए ।
हर्कले ३ वर्षको कार्यकालमा धरान–१३ स्थित ओसो पार्कमा नगरपालिकाको लगानी, दाताको सहयोग र श्रमदानबाट पार्क बनाए र त्यसलाई श्रम संस्कृति पार्क नामकरण गरे । पार्क निर्माणपछि त्यसबाट आएको आम्दानी नगरपालिकालाई नै दिने भनिए पनि त्यो कार्यान्वयन नहुँदा विवाद भएको थियो । डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार नगरी र सुरक्षा उपाय नअपनाई निर्माण गरिएकाले पार्कमा बाढीले क्षति पुर्यायो ।
चुनावअघि रोजगारीका लागि आफ्नै उद्योग चलाउने बताएका हर्कले धरान–२०, विष्णुपादुकामा माया धराने बेसार उद्योग सञ्चालनमा ल्याए । बेसार उद्योगको भवन निर्माणमा उपमहानगरपालिकाबाट १६ लाख ५० हजार र उपभोक्ताबाट २ लाख ८ हजार ६ सय ११ रुपैयाँ लगानी छ । उद्योगबाट आएको नाफाको ३४ प्रतिशत नगरपालिकालाई दिने सम्झौता छ ।
हर्कले धरान उपमहानगरमा गरेका कतिपय काम भने विवादित छन् । मेयर बनेपछि सुरुमा माओवादीबाट निर्वाचित उपप्रमुख अइन्द्रविक्रम बेघाबीच राम्रो सम्बन्ध थियो । तर बिस्तारै हर्क र अइन्द्रबीचमा श्रमदान रकम भुक्तानीसम्बन्धी विवाद देखिन थाल्यो । यो विवाद यति चर्कियो कि एक पटक मेयरको कार्यकक्षमा पुगेका बेघालाई हर्कका समर्थकले हातपात नै गरे । वडा नं १६ मा रहेको बहुभाषिक पाठशालामा श्रमदानबाट गरिएको कामको जबर्जस्ती भुक्तानीका लागि दबाब दिइएको उपप्रमुख अइन्द्र पक्षको भनाइ थियो । उपमहानगरपालिकाको डोजर, एक्स्काभेटरलगायतको चाबी उपप्रमुखले दिन नमानेको हर्क पक्षले बताएको थियो ।
त्यसैगरी पश्चिम सर्दु रोकथाम समितिले नगरपालिकासँग भुक्तानी माग गर्दा पनि विवाद भयो । १७ लाख ४० हजार २ सय ९४ रुपैयाँ बराबरको श्रमदान गरेकामा नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी माग गरेपछि उपप्रमुख अइन्द्रले कानुनविपरीत भएको काममा समर्थन नगर्ने भन्दै भुक्तानी रोके । त्यसपछि हर्कले अइन्द्रप्रति यति इगो साँधे कि मंसिर २०८१ मा बेलायत भ्रमणमा जाँदा वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिए ।
२०७७ मा अभियन्ताका रूपमा हर्कले तत्कालीन मेयर तथा खानेपानी बोर्डका अध्यक्ष तिलक राईलाई ज्ञापनपत्र बुझाउँदै खानेपानीको शुल्क घटाउन माग गरेका थिए । आफू मेयर बनेपछि भने हर्कले २०८१ साउनदेखि लागू हुने गरी एकै पटक अत्यधिक शुल्क बढाए । शुल्क वृद्धिविरुद्ध धरानका १० राजनीतिक दलले चरणबद्ध आन्दोलनमा उत्रिए ।
धरान–१६ मा बहुभाषिक पाठशाला निर्माण गर्ने भन्दै हर्कले २०८० साउनमा शिलान्यास गरेका थिए । २ करोड ६५ लाख ३५ हजार १ सय ८४ रुपैयाँ ४२ पैसाको लागतमा विभिन्न भाषा र लिपिको संरक्षण गर्ने हर्कको योजना थियो । तर विवाद बढेपछि काम अघि बढ्न सकेन ।
हर्कले अघि सारेको माया धराने साबुन उद्योगको योजना पनि उस्तै कारणले अलपत्र छ । यो उद्योग राख्न धरान–२० को जलकन्या सामुदायिक वनको जग्गा सम्याउने क्रममा जिल्ला वन कार्यालयले आफ्नो क्षेत्राधिकारको जग्गामा डोजर चलाइएको भन्दै विरोध जनाएको थियो । कार्यालयका कर्मचारी काम भइरहेकै ठाउँमा पुगेर कुरा राखेपछि हर्कले भनेका थिए, ‘धरानभित्रको जग्गा नगरको हो, नगरले निर्णय गरेपछि तपाईंको बोल्ने काम छैन ।’
वन कार्यालयले मंसिर २०७९ मा वातावरणीय प्रभाव मूल्यांकनबिनै आफ्नो जग्गामा उद्योग खोल्न लागिएको भन्दै उच्च अदालत, विराटनगरमा रिट दायर गर्यो । बदलामा हर्कले धरानको तीनकुनेमा बन्दै गरेको प्रदेश वन निर्देशनालय भवनको नक्सा पास नभएको भन्दै निर्माण रोक्न लगाए । पछि नक्सा पास नभएको विषय यत्तिकै सेलायो, अदालतले पनि साबुन उद्योग खोल्न अनुमति दियो र अहिले सञ्चालनको तयारीमा छ ।
हर्कले अघि सारेको श्रमदान अभियानको पारदर्शिताप्रति प्रश्न उठाउने पनि धेरै छन् । जनताबाट उठाएको चन्दा रकमबारे अहिलेसम्म स्पष्ट र पारदर्शी विवरण सार्वजनिक नगरेको धरानवासीको गुनासो छ ।
‘यो हजार वा लाख रुपैयाँको कुरा होइन, करोडौं उठाइएको छ । तर त्यसबारे हर्कले अहिलेसम्म स्पष्ट रूपमा हिसाबकिताब सार्वजनिक नगरेको’ उनीहरूको गुनासो छ ।
धरान उपमहानगरको मेयरमा ५ वर्षका लागि चुनिएका हर्क जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा नेपाली सेनाले सहजीकरण गरिरहेका बेला काठमाडौं पुगे । जंगीअड्डा पुगेर उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नागरिक सरकारको प्रमुखका रूपमा जेन–जी अभियन्ताले सिफारिस गरेको खबर सार्वजनिक हुँदा उनका समर्थकले जंगीअड्डाबाहिर प्रदर्शन गरेका थिए ।
पछि उनले कार्की सरकारमा गृहमन्त्रीको समेत दाबी गरेका थिए । तर कार्कीले ओमप्रकाश अर्याललाई रोजिन् । त्यसयता उनले देशमा माटो सुहाउँदो छुट्टै शक्ति चाहिएको भन्दै श्रम संस्कृति पार्टी गठन गरे । उनले कात्तिक १ मा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।
श्रम संस्कृति पार्टी खोलेर आफू प्रधानमन्त्री बन्ने भन्दै चुनावी दौडमा रहेका हर्कमाथि कुनै बेला नक्कली माओवादी बनेको आरोप पनि लागेको थियो । यसबारे धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि समाचार लेख्दा हर्कले दाहाल र पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको पत्रकारिता अन्त्य गरिदिने धम्की दिएका थिए ।
हर्कको रुखो शब्द/शैलीका कारण उनका समर्थकहरू बिच्चिएका छन् । उनी स्वयं भने आफू कडा नभई यथार्थ बोल्ने बताउँछन् । ‘सत्य कुरा बोल्न मलाई डर लाग्दैन, हिचकिचाहट पनि लाग्दैन, लाज पनि लाग्दैन,’ उनले भन्दै आएका छन् ‘त्यसैले कतिपयलाई मेरो बोली अलिकति कडाजस्तो लाग्छ ।’ हक्की स्वभाव भएकैले उनले आफ्नो उपनाम ‘क्रान्ति’ राखेका छन् ।
धरानका मेयर बन्नुअघिका हर्क र मेयर भइसकेपछिका हर्कमा यसवेला जमिन आसमान फरक छ । उनले विभिन्न जातजाति र धर्मका बारेमा बोलेका शब्द र व्यवहार यसबेला उनका लागि अभिशाप बनेको धरानका एक अग्रज पत्रकारको ठम्याइ छ ।
उनी जनजाति समुदायमा पनि आलोचित छन् । उनलाई सुनसरी १ मा हर्कलाई मत बढाउने मात्र नभएर मेयरमा पाएको मतलाई सुरक्षित गर्न पनि चुनौती छ ।








प्रतिक्रिया