रास्वपाले घण्टी बजाउँदै प्रचार गर्न नपाउने, चुनाव चिह्न बोक्न रोक

1.2k
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग गर्न रोक लगाएको छ।

आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै धातु, काठ वा अन्य कुनै पनि सामग्रीबाट बनेका सामग्री भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग गरी प्रचारप्रसार नगर्न निर्देशन दिएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरूपका निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना र गुनासाहरू प्राप्त भएका छन्।’

यस्ता सामग्रीहरूले सुरक्षा जोखिम बढाउने भएकोले आयोगले कडाइ गरेको हो । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले आफ्नो चुनाव चिह्न ‘घण्टी’ भौतिक रूपमै बोकेर प्रचारप्रसार गर्ने गरेका थिए । आयोगको यो नयाँ निर्णयसँगै अब रास्वपा वा अन्य कुनै पनि दलले आफ्नो चुनाव चिह्नको भौतिक नमुना बोकेर हिँड्न पाउने छैनन्।


निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ङ) बमोजिम राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डअनुसार मात्र प्रचारप्रसार गर्न पाउनेछन्। तर, धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका भौतिक स्वरूपका चिह्न प्रयोग गर्न पाइने छैन ।