टिकट नपाएका रास्वपा मकवानपुरका सभापति कांग्रेसमै फर्किए

112
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरतप्रसाद पराजुली पुनः नेपाली कांग्रेसमा फर्किएका छन् ।

सोमबार बिहान सर्लाहीमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उनलाई पार्टीमा स्वागत गरे ।

रास्वपा मकवानपुरका संस्थापक सभापति समेत रहेका पराजुलीले आजै बिहान मात्रै रास्वपा परित्यागको घोषणा गरेका थिए ।

पार्टीमा इमानदार कार्यकर्ताभन्दा आर्थिक हैसियत भएकाहरूको बोलवाला बढ्न थालेको आरोप लगाउँदै उनले रास्वपा छाडेका हुन् ।

पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका थिए ।

मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका नेता मानिने पराजुली तत्कालीन समयमा टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट थिए ।

यसपटक टिकट नपाएपछि उनले पार्टी छाडेका हुन् ।

रास्वपामा लामो समय योगदान गरेकालाई भन्दा पछि आएका व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै उनको असन्तुष्टि रहँदै आएको थियो ।

रास्वपामा लाग्नुअघि पनि उनी कांग्रेसमै सक्रिय थिए ।

पराजुलीले यस्तो समयमा पार्टी छाडेका छन्, जतिबेला रास्वपाले आजै मकवानपुरको हेटौँडामा शक्ति प्रदर्शन गर्दैछ ।

हेटौँडामा आयोजना हुने सभालाई दिउँसो ४ बजे पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने तालिका छ ।

सभापति लामिछाने हेटौँडा आइपुग्नुअघि नै जिल्ला सभापतिले पार्टी छाडेर कांग्रेस प्रवेश गर्नुलाई रास्वपाका लागि ठुलो धक्काको रूपमा हेरिएको छ ।