सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो तर, यसतर्फ गम्भीर चासो लिइएन: लामिछाने

147
Shares

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५, भैंसेगौडा भन्ने स्थानबाट पृथ्वी यातायात व्यवसायी समितिको ग १ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनास्थलमै १७ जनाको ज्यान गएको थियो भने काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेमा स्याङ्जाका एक पुरुष रहेका छन् ।

बसमा सवार कुल ४४ जनामध्ये २७ जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि काठमाडौं, मलेखु र जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गहिरो दुःख व्यक्त गर्दै सडक सुरक्षामा राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै सडक दुर्घटना रोक्न राज्यले ठोस कदम चाल्नुपर्ने बताउनुभएको छ ।

उनले लेखेका छन्, ‘सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो । तर, यसतर्फ गम्भीर चासो र चिन्ता विगतमा लिइएन । दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी कारण पहिचान, दोषीमाथि कारबाही र भविष्यमा दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्थ्यो, तर हुन सकेन ।’

लामिछानेले सुरक्षित सडक, जिम्मेवार चालक, नियमको कडा कार्यान्वयन र प्रभावकारी अनुगमन नै यस्ता त्रासदी रोक्ने मुख्य आधार भएको उल्लेख गर्दै आफूहरू यस विषयमा गम्भीर र जिम्मेवार रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।