एजेन्सी । जनवरी महिनाको आरम्भमा इरानले देशभरि विरोध प्रदर्शन र अमेरिकाको सम्भावित आक्रमणको खतरा झेलिरहेको थियो । त्यसबेला देशका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले देश सञ्चालनका लागि एक भरपर्दा र वफादार सहयोगी अलि लारीजानीलाई अघि सारे । लारीजानी देशका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी हुन् ।
त्यसयता ६७ वर्षीय अनुभवी राजनीतिकर्मी रिभोल्युसनरी गार्डका पूर्व कमान्डर र हाल सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख लारीजानीले प्रभावकारी रूपमा देश चलाइरहेका छन् । उनको उदयले राष्ट्रपति मसुद पेजेस्कियानलाई ओझेलमा पारेको छ ।
मुटुको शल्यचिकित्सकबाट राजनीतिकर्मी बनेका पेजेस्कियानले पद सम्हालेको एक वर्ष चुनौतीपूर्ण रहेको छ । उनले सार्वजनिक रूपमा भन्ने गरेका छन्, ‘म डाक्टर हुँ, राजनीतिकर्मी होइन’ र कसैले पनि उनीबाट इरानका अनगिन्ती समस्याहरू समाधान हुने अपेक्षा गर्नु हुँदैन ।
लारीजानीको शक्ति वृद्धि र ट्रम्प प्रशासनले युद्धको धम्की दिइरहेका बेला इरानी नेतृत्वले गरेका निर्णय र विचार विमर्शका बारेमा यो विवरण ६ जना वरिष्ठ इरानी अधिकारीहरू (जसमध्ये एक खमेनीको कार्यालयसँग सम्बद्ध छन्), रिभोल्युसनरी गार्डका तीन सदस्य, दुई पूर्व इरानी कूटनीतिकर्मीसँग न्युयोर्क टाइम्स र इरानी सञ्चारमाध्यमका रिपोर्टहरूमा आधारित छ । सरकारी मामिलाहरूमा स्पष्ट छलफल गर्न ती अधिकारीहरूले नाम नछाप्ने शर्तमा जानकारी दिएका हुन् ।
गत केही महिनाहरूमा लारीजानीको जिम्मेवारी लगातार बढ्दै गएको छ । इस्लामिक शासन अन्त्यको माग गर्दै भएका हालैका विरोध प्रदर्शनहरूलाई बल प्रयोग गरेर दबाउने जिम्मेवारी उनकै थियो ।
हाल उनी देशमा भइरहेको असन्तुष्टिलाई नियन्त्रणमा राख्ने, रुसजस्ता शक्तिशाली सहयोगी र कतार तथा ओमानजस्ता क्षेत्रीय मुलुकहरूसँग सम्पर्क समन्वय गर्ने र वाशिङटनसँगको आणविक वार्ताको निगरानी गर्ने काम गरिरहेका छन् ।
साथै, अमेरिकाले यस क्षेत्रमा सेना जम्मा गरिरहेका बेला युद्धको समयमा देश कसरी चलाउने भन्ने योजना पनि उनले बनाइरहेका छन् ।
यसै महिना कतारको राजधानी दोहाको भ्रमणका क्रममा अल जजीरासँगको अन्तर्वार्तामा लारीजानीले भने, ‘हामी हाम्रो देशमा तयार छौं । हामी पक्कै पनि पहिलेभन्दा शक्तिशाली छौं, हामीले विगत सात–आठ महिनामा तयारी गरेका छौं, हाम्रा कमजोरीहरू पत्ता लगाएर तिनलाई सुधारेका छौं । हामी युद्ध चाहँदैनौं र युद्ध सुरु गर्ने पनि छैनौं । तर, कसैले हामीमाथि युद्ध थोपर्छ भने हामी त्यसको जवाफ दिनेछौं ।’
६ वरिष्ठ अधिकारी र गार्ड सदस्यहरूका अनुसार, खमेनीले लारीजानी र अन्य केही निकट राजनीतिक र सैन्य सहयोगीहरूलाई इस्लामिक गणतन्त्रलाई अमेरिकी र इजरायली बमबाट मात्र नभई खमेनी लगायत शीर्ष नेतृत्वको हत्या भएमा पनि बचाउन निर्देशन दिएका छन् ।
सरकार निकट रहेका कन्जर्भेटिभ विश्लेषक नासेर इमानीले तेहरानबाट टेलिफोन अन्तर्वार्तामा भनेअनुसार, खमेनीको लारीजानीसँग लामो र घनिष्ठ सम्बन्ध छ । यो गम्भीर सैन्य तथा सुरक्षा संकटको समयमा सर्वोच्च नेताले उनैलाई रोजेका हुन् ।
इमानीले भने, ‘सर्वोच्च नेताले लारीजानीलाई पूर्ण विश्वास गर्नुहुन्छ । उनको राजनीतिक पृष्ठभूमि, तीक्ष्ण बुद्धि र ज्ञानका कारण उनी यस संवेदनशील मोडका लागि उपयुक्त व्यक्ति हुन् भन्ने खामेनीको ठम्याइ छ । उनले रिपोर्ट र व्यावहारिक सल्लाहका लागि लारीजानीमाथि भरोसा गर्छन् । युद्धका बेला लारीजानीको भूमिका निकै महत्त्वपूर्ण हुनेछ ।’
लारीजानी एक सम्भ्रान्त राजनीतिक र धार्मिक परिवारबाट आएका हुन् र उनी १२ वर्षसम्म संसद्को सभामुख थिए । सन् २०२१ मा उनलाई चीनसँग अर्बौं डलरको २५ वर्षे व्यापक रणनीतिक सम्झौताको वार्ता गर्ने जिम्मा दिइएको थियो ।
वरिष्ठ अधिकारीहरूका अनुसार, खमेनीले श्रृंखलाबद्ध निर्देशनहरू जारी गरेका छन् । उनले आफूले नियुक्त गर्ने प्रत्येक सैन्य कमान्ड र सरकारी भूमिकाका लागि उत्तराधिकारका चार तहहरू तोकेका छन् । उनले नेतृत्वदायी भूमिकामा रहेका सबैलाई आ–आफ्नो ठाउँमा चार जनासम्म विकल्पको नाम दिन भनेका छन् र आफूसँगको सम्पर्क विच्छेद भएमा वा आफ्नो मृत्यु भएमा निर्णय लिनका लागि विश्वासपात्रहरूको एक सानो समूहलाई अधिकार प्रत्यायोजन गरेका छन् ।
इजरायलसँगको १२ दिने युद्धका क्रममा लुकेर बसेका बेला खमेनीले आफ्नो उत्तराधिकारी हुन सक्ने तीन उम्मेदवारको नाम तोकेका थिए । ती नामहरू सार्वजनिक गरिएका छैनन्, तर लारीजानी तीमध्ये पर्ने सम्भावना छैन किनभने उनी वरिष्ठ शिया धर्मगुरु होइनन्, जुन उत्तराधिकारीका लागि अनिवार्य योग्यता हो ।
तर, लारीजानी खमेनीको विश्वासपात्रहरूको टोलीमा परेका छन् । यस टोलीमा सर्वोच्च सैन्य सल्लाहकार र गार्डका पूर्व प्रमुख मेजर जनरल याह्या रहिम सफावी, पूर्व गार्ड कमान्डर र वर्तमान सभामुख मोहम्मद बागेर गालिबाफ र खामेनीका कर्मचारी प्रमुख धर्मगुरु अली असगर हेजाजी सामेल छन् । खमेनीले गालिबाफलाई युद्धको समयमा सशस्त्र बलको कमान्ड सम्हाल्ने गरी आफ्नो वास्तविक उपप्रमुख तोकेका छन् ।
यीमध्ये केही योजनाहरू जुन महिनामा इजरायलले गरेको अचानक आक्रमणबाट सिकिएका पाठहरू हुन् जसले युद्धको पहिलो घण्टामै इरानको वरिष्ठ सैन्य कमाण्ड संरचनालाई ध्वस्त पारेको थियो । युद्धविरामपछि खमेनीले लारीजानीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिव नियुक्त गरे र युद्धको समयमा सैन्य मामिलाहरू व्यवस्थापन गर्न एडमिरल अली शामखानीको नेतृत्वमा नयाँ राष्ट्रिय रक्षा परिषद् गठन गरे ।
जोन हप्किन्स स्कूल अफ एडभान्स्ड इन्टरनेशनल स्टडीजका इरानविज्ञ वली नासर भन्छन्, ‘खमेनी आफ्नो अगाडि रहेको वास्तविकतासँग लडिरहेका छन् ।’ नासरले थपे, ‘उनी आफू सहिद हुन सक्ने अपेक्षा गरिरहेका छन् र यो मेरो प्रणाली र विरासत हो र म अन्त्यसम्म उभिनेछु भन्ने सोचिरहेका छन् । उनले शक्ति बाँडफाँट गरिरहेका छन् र उत्तराधिकार र युद्ध दुवैका लागि राज्यलाई तयार पारिरहेका छन् किनकि युद्धकै परिणामस्वरूप उत्तराधिकारको अवस्था आउन सक्छ भन्ने उनलाई थाहा छ ।’
दुवै पक्ष कूटनीतिक रूपमा संलग्न रहे पनि र आणविक सम्झौतामा वार्ता गरिरहे पनि अमेरिकी सैन्य आक्रमण अनिवार्य र सन्निकट छ भन्ने आधारमा इरानले काम गरिरहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार, इरानले आफ्ना सबै सशस्त्र बलहरूलाई उच्च सतर्कतामा राखेको छ र कडा प्रतिरोधको तयारी गरिरहेको छ ।
इरानले इराकको सीमा नजिक (इजरायलमा प्रहार गर्न पुग्ने गरी) र पर्सियाली खाडीको दक्षिणी किनारमा (अमेरिकी सैन्य अखडाहरूको रेन्जमा) ब्यालिस्टिक मिसाइल लोन्चरहरू राखिरहेको छ । विगत केही हप्ताहरूमा इरानले मिसाइल परीक्षणका लागि समय समयमा आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । उसले पर्सियाली खाडीमा सैन्य अभ्यास पनि गर्यो, जसका कारण विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने हर्मुज जलसंयोजक केही समयका लागि बन्द भएको थियो ।
यसैबीच खमेनीले आफ्नो आक्रामक शैली कायमै राखेका छन् । उनले हालै एक भाषणमा भने, ‘विश्वको सबैभन्दा शक्तिशाली सेनाले यस्तो झापड खान सक्छ कि ऊ फेरि आफ्नो खुट्टामा उभिन सक्ने छैन ।’ उनले नजिकैको समुद्रमा रहेका अमेरिकी युद्धपोतहरू डुबाइदिने धम्की पनि दिएका छन् ।
युद्धको अवस्थामा, प्रहरीको विशेष बल, गुप्तचर एजेन्टहरू र रिभोल्युसनरी गार्डको सहायक विंग बसिज मिलिसियालाई ठूला सहरका सडकहरूमा तैनाथ गरिनेछ । ती मिलिसियाले आन्तरिक अशान्ति रोक्न र विदेशी जासुसहरू खोज्न चेकपोइन्टहरू स्थापना गर्नेछन् ।
तर, इरानी नेतृत्व सैन्य र सुरक्षा तयारी मात्र नभई आफ्नो राजनीतिक अस्तित्वका लागि पनि तयारी गरिरहेको छ । खमेनी र शीर्ष अधिकारीहरू मारिएमा कसले देश चलाउने र को इरानको डेल्सी बन्न सक्छ भन्ने विषयमा पनि छलफल भइरहेको छ । डेल्सी भन्नाले भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई बुझिन्छ जसले त्यहाँका राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि देश चलाउन ट्रम्प प्रशासनसँग सम्झौता गरेकी थिइन् ।
लारीजानी यस सूचीको पहिलो नम्बरमा छन् । त्यसपछि सभामुख गालिबाफको नाम छ । अचम्मलाग्दो कुरा के छ भने खमेनीको घेराबाट बाहिरिएका भनिएका पूर्व राष्ट्रपति हसन रुहानीको नाम पनि सूचीमा छ ।
तर, यी सबै व्यक्तिहरूको पृष्ठभूमिका कारण उनीहरूलाई आक्रोशित जनताले सहजै स्वीकार नगर्न सक्छन् । उनीहरूमाथि आर्थिक भ्रष्टाचार वा मानवअधिकार उल्लंघनका आरोपहरू छन् । हालैको प्रदर्शनका क्रममा तीन दिनमा कम्तीमा ७ हजार निहत्था प्रदर्शनकारी मारिएको घटनामा पनि उनीहरूको संलग्नता रहेको आरोप छ ।
इन्टरनेशनल क्राइसिस ग्रुपका इरान निर्देशक अली वाएजका अनुसार, नेतृत्वले आकस्मिक योजनाहरू बनाएको छ तर अमेरिकासँगको युद्धको नतिजा अप्रत्याशित रहनेछ । उनका अनुसार, सर्वोच्च नेता अहिले कम देखिने तर बढी जोखिममा छन् तैपनि उनी यो प्रणालीलाई एकसाथ जोडेर राख्ने सुपरग्लु जस्तै हुन् र उनी नभएमा प्रणाली जोगाउन गाह्रो हुनेछ भन्ने कुरा सबैले बुझेका छन् ।
गत महिना लारीजानीको सक्रियता बढेको छ भने राष्ट्रपति पेजेस्क्यानको भूमिका खुम्चिएको छ । लारीजानीले मस्को गएर भ्लादिमिर पुटिनसँग परामर्श गरेका छन् र मध्यपूर्वका नेताहरूसँग भेटघाट गरेका छन् । उनी राष्ट्रपतिभन्दा बढी टेलिभिजन अन्तर्वार्ताहरूमा देखिन्छन् र सामाजिक सञ्जालमा सक्रिय छन् ।
अर्कोतर्फ, राष्ट्रपति पेजेस्कियानले आफ्ना अधिकारहरू लारीजानीलाई सुम्पिएको जस्तो देखिन्छ । एक मन्त्रिपरिषद् बैठकमा पेजेस्कियानले लारीजानीलाई इन्टरनेट प्रतिबन्ध हटाउन सुझाव दिएको कुरा इरानीहरूले उल्लेख गरेका छन् । काम गराउनका लागि स्वयं राष्ट्रपतिले पनि लारीजानीसँगै अनुरोध गर्नुपर्ने अवस्था रहेको यो गम्भीर स्वीकारोक्ति थियो ।
जनवरीमा प्रदर्शनहरू चलिरहेका बेला अमेरिकी मध्यपूर्व दूत स्टिभ विट्कोफले इरानी विदेशमन्त्री अब्बास अराग्चीसँग सम्पर्क गर्ने प्रयास गरेका थिए । राष्ट्रपति ट्रम्पले कुनै पनि प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएमा इरानमाथि आक्रमण गर्ने बताएका थिए र विट्कोफ सोही बारेमा बुझ्न चाहन्थे । कुनै पनि गलत बुझाइ नहोस् भन्ने चाहँदै विदेशमन्त्री अराग्चीले राष्ट्रपति पेजेस्कियानलाई फोन गरेर विट्कोफसँग कुरा गर्न अनुमति मागेका थिए ।
तर, पेजेस्कियानले आफूलाई केही थाहा नभएको र यसका लागि लारीजानीलाई फोन गरेर अनुमति लिन जवाफ दिएका थिए ।








प्रतिक्रिया