नेपाली कांग्रेसको प्रतिज्ञापत्र : ११५ खर्बको अर्थतन्त्र बनाउने, १५ लाखलाई नयाँ रोजगारी दिने

77
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र (प्रतिज्ञा पत्र) मार्फत आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार ११५ खर्बको बनाउने घोषणा गरेको छ । कांग्रेसले देशलाई नै रूपान्तरण गर्ने महत्वाकांक्षी आर्थिक कार्ययोजना सार्वजनिक गरेको छ। कांग्रेसले ‘उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र’लाई आफ्नो मुख्य मन्त्र बनाउँदै आगामी पाँच वर्षलाई ‘आर्थिक पुनरुत्थानको अर्धदशक’ घोषणा गर्ने संकल्प गरेको छ।

कांग्रेसको आगामी फागुन २१ गते हुने निर्वाचनको लागि जारी गरेको घोषणापत्र अनुसार आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन) लाई ११५ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ। हालको तुलनामा अर्थतन्त्रलाई झन्डै दोब्बर बनाउने यस प्रक्रियामा प्रतिव्यक्ति आम्दानीलाई २,५०० अमेरिकी डलर पुर्‍याउने प्रतिज्ञा गरिएको छ।

यसका लागि कांग्रेसले कुल १३७.५ खर्ब रुपैयाँ बराबरको लगानी परिचालन गर्ने योजना अघि सारेको छ। जसमा राज्यको भूमिकालाई ‘सहजकर्ता’मा सीमित गर्दै कुल लगानीको ८० प्रतिशत हिस्सा निजी क्षेत्रबाट परिचालन गर्ने नीति लिइने उल्लेख छ। साथै, मुद्रास्फीति (महँगी) लाई ५ प्रतिशतभित्रै नियन्त्रणमा राख्ने लक्ष्य राखिएको छ।

कांग्रेसले बढ्दो बेरोजगारी र युवा पलायनलाई रोक्न आगामी पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ। ‘हरेक हातलाई काम, हरेक कामलाई सम्मान’ भन्ने नाराका साथ श्रम बजारमा वर्षेनी भित्रिने ३ देखि ५ लाख जनशक्तिलाई स्वदेशमै मर्यादित रोजगारी दिने कांग्रेसको दाबी छ।

रोजगारी वृद्धिका लागि कांग्रेसले सूचना प्रविधि क्षेत्रबाट आगामी ५ वर्षमा ४ खर्ब रुपैयाँको सेवा निर्यात गर्ने र यस क्षेत्रमा मात्र १ लाखभन्दा बढी उच्च गुणस्तरको रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ ।

फार्म टु फ्याक्ट्री’ अभियानमार्फत कृषिमा आधारित उद्योगहरूको विस्तार गर्ने,  नविन सोच भएका युवा र महिलालाई बिना धितो परियोजनाको आधारमा ५ देखि ५० लाख रुपैयाँसम्मको सहुलियत ऋण र बिउ पुँजी  उपलब्ध गराउने घोषणा पनि कांग्रेसले गरेको छ ।

कांग्रेसले निजी क्षेत्रलाइ आर्थिक वृद्धिको इन्जिनका रूपमा स्वीकार गर्दै लगानीमैत्री वातावरणका लागि ‘स्टेबिलिटी क्लज’ (सहितको कानुनी ग्यारेन्टी दिने, सार्वजनिक जीवनका उच्च तहमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने र नीतिगत भ्रष्टाचारको अन्त्य गर्ने घोषणा गरेको छ ।

यसले फाइल होइन मोबाइल भन्ने मान्यताका साथ सरकारी सेवालाई झन्झटरहित र नगदरहित बनाउने, आगामी ५ वर्षमा विद्युत उत्पादनलाई १४ हजार मेगावाट पुर्‍याउने र प्रतिव्यक्ति विद्युत खपत ७५० युनिट पुर्‍याउने घोषणा गरेको छ ।

पेट्रोलियम पदार्थको परनिर्भरतालाई विस्थापित गर्दै जलविद्युतलाई औद्योगिक क्रान्तिको आधार बनाउने, नेपाली कांग्रेसले आफ्नो यस घोषणापत्रमार्फत मध्यम र न्यून आय भएका वर्गलाई राहत दिन वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने व्यवस्था गर्ने र पर्यटन क्षेत्रमा वार्षिक ३० लाख पर्यटक भित्र्याउने जस्ता योजनाहरू पनि अघि सारेको छ।

कांग्रेसको यो प्रतिज्ञा पत्रले विशेष गरी युवा र निजी क्षेत्रलाई आकर्षित गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको देखिन्छ। आगामी निर्वाचनमा आफ्नो सरकार बने यी लक्ष्यहरू हासिल गर्ने कांग्रेसको संकल्प छ ।

यस्तो छ, नेपाली कांग्रेसको घोषणापत्रः