भारतका ज्योतिषीहरू हुँदैछन् मालामाल, १ अर्ब डलरको उद्योग

1.8k
Shares

एजेन्सी । भारतको ज्योतिष क्षेत्र १ अर्ब डलरको उद्योगमा परिणत भएको छ र यो द्रुत गतिमा बढिरहेको छ ।

कोभिड–१९ महामारीपछि यस क्षेत्रमा अभूतपूर्व वृद्धि देखिएको कुरा ज्योतिषी तथा वास्तुविद् जया मदानले शनिबार ईटी नाउ ग्लोबल बिजनेस समिटमा बताइन् ।

‘ज्योतिषले कोभिडको समयमा गति लियो । यो विगतमा अहिलेको जस्तो फस्टाएको थिएन,’ दिल्लीा रहेकी ज्योतिषी मदानले टाइम्स नाउकी नविका कुमारसँगको कुराकानीका क्रममा भनिन्, ‘कोभिडले हामीलाई सिकायो कि जुनसुकै बेला जे पनि हुन सक्छ र त्यही अनिश्चितताले यसलाई डिजिटल प्रणाली बनायो । मन्दिरबाहिर बस्ने ज्योतिषीहरूको दिन अब गइसके । आज तिनीहरू तपाईंकै फोनमा उपलब्ध छन् ।’

उनका अनुसार, यसले गर्दा यस क्षेत्रमा रोजगारी सिर्जनामा पनि ठूलो वृद्धि भएको छ । तर, आफ्नो भविष्यको झलक खोज्ने र ज्योतिषीय सेवाहरूको वृद्धिलाई डो¥याउने मानिसहरू को हुन् त ?

‘तथ्यांकले स्पष्ट रूपमा देखाउँछ, २० देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरूले सबैभन्दा ठूलो ग्राहक आधार बनाउँछन् । उनीहरू आफ्नो करियर र सम्बन्धका बारेमा जान्न चाहन्छन्,’ मदानले भनिन्, ‘वास्तवमा ८० प्रतिशत समस्याहरू करियर र प्रेम जीवनको वरिपरि घुम्छन् ।’

मानिसहरूले अहिले विभिन्न विषयमा ज्योतिषीय मार्गदर्शन खोज्न थालेकाले पनि यस उद्योगको द्रुत विस्तार भइरहेको उनले बताइन् ।

‘तपाईं खुसी हुनुहुँदा त्यो खुशी कहिलेसम्म रहला भनेर जान्न चाहनुहुन्छ । तपाईं दुःखी हुनुहुँदा कहिले सकिएला भनेर जान्न चाहनुहुन्छ । तपाईं बिरामी हुनुहुन्छ, घरमा बच्चा जन्मिएको छ, तपाईं घर किन्दै हुनुहुन्छ, कार वा मोबाइल किन्दै हुनुहुन्छ – यस्तो बेला मानिसहरू ज्योतिषीकहाँ पुग्छन्,’ उनले भनिन् ।

ज्योतिषलाई कुन हदसम्म विज्ञान मान्न सकिन्छ भन्ने प्रश्नमा मदानले यो हजारौं वर्षको इतिहास बोकेको एक विधा भएको दाबी गरिन् । उनले लगानी बैंकिङको एक दृष्टिकोणलाई उद्धृत गर्दै ज्योतिष परम्परागत रूपमा शक्तिशाली र सम्पन्न व्यक्तिहरूसँग जोडिएको र यो करोडपतिभन्दा अर्बपतिहरूसँग बढी सम्बन्धित रहेको बताइन् ।

‘ज्योतिषलाई कहिल्यै पनि साधारण मानिसका लागि बनाइएको कुराका रूपमा हेरिएन । यो मुख्यतया राजाहरूले खोज्ने गर्थे,’ उनले भनिन् । दरबार, शहर र मन्दिरहरू ज्योतिष र वास्तु सिद्धान्तहरू अनुरूप डिजाइन गरिएका हुन्थे भन्ने कुरा उनले उल्लेख गरिन् ।

‘यी अभ्यासहरू सधैं भव्य संरचनाहरूका लागि थिए । ५ हजार वर्षपछि मानिसहरू एउटामाथि अर्को गरी अपार्टमेन्ट भवनहरूमा बस्नेछन् भनेर कसैले कल्पना पनि गर्न सक्दैनथे ।’

मानिसहरू स्वभावैले सुरक्षाको भावना खोज्छन् जसलाई उनले बिमा खोज्नुजस्तै भएको मदानले बताइन् । यो वास्तवमा भविष्य बुझ्ने एउटा प्रयास हो ।

‘हामी मौसम सम्बन्धी एप जस्तै काम गर्छौं,’ उनले भनिन्, ‘तपाईं सिंगापुर जाँदै हुनुहुन्छ र तपाईंलाई थाहा छ कि त्यहाँ पानी पर्नेछ भने तपाईं सेतो पाइन्ट लगाएर वा छाता नबोकी बाहिर निस्कनुहुन्न ।’

ज्योतिषीहरूले घटनाहरूलाई सधैं निश्चितताका साथ भविष्यवाणी गर्दैनन् बरु मानिसहरूलाई आगामी सम्भावनाहरूको लागि तयार रहन मद्दत गर्न मार्गदर्शन दिन्छन्, उनले जोड दिइन् ।

‘तपाईं भविष्यवाणीलाई लतको रूपमा लिइरहनुभएको छ भने त्यो तपाईंको समस्या हो, हाम्रो होइन,’ उनले भनिन् ।

Skip This