४ खर्बको वस्तु आयातमा सरकारले दियो ५३ अर्ब रूपैयाँ कर छुट

378
Shares

काठमाडौं । चालु आर्थिक वर्ष (आ.व. २०८२/८३) को ६ महिनामा सरकारले करिब ५३ अर्ब बराबर भन्सार महसुल छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले ४ खर्ब ८ अर्बका मालवस्तुको आयातमा ५२ अर्ब ८४ करोड ९६ लाख महसुल छुट दिएको हो ।

अर्थ मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को उपदफा ३ प्रयोग गरेर मूल्य अभिवृद्धि कर छुट हुने वस्तुहरुको आयात भएका २ खर्ब १६ अर्ब २ करोड २९ लाख बराबरका वस्तुमा २९ अर्ब ७० करोड ३३ लाख छुट दिइएको छ । भन्सार ऐन, २०६४ को दफा ९ लाई आधार मान्दै कुटनीतिक सुविधा अन्तर्गत आयात भएका ५९ करोड ७५ लाख बराबरका वस्तुहरुमा सरकारले ४८ करोड २९ लाख भन्सार महसुल छुट दिएको छ ।

भन्सार ऐनलाई नै प्रयोग गरेर महसुल सुविधाका नाममा ८ करोड ८ लाख बराबरका वस्तुहरुको पैठारीमा ४ करोड २१ लाख कर छुट दिएको छ । मुनाफा रहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार र सरकारी स्वामित्व संस्थाहरुले गरेको ३७ अर्ब ५४ करोड बराबरका मालवस्तुमा सरकारले ९ अर्ब ५० करोड कर छुट दिएको हो।

अर्थ मन्त्रालयकाअनुसार सरकारसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा अयोजनाले नियुक्त गरेका ठेकेदारको नाममा पैठारी भएका ३९ अर्ब ९२ करोड ६ लाख बराबरका मालवस्तुमा सरकारले १४ अर्ब ९७ करोड ८ लाख कर छुट दिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । त्यस्तै साफ्टा सुविधा अन्तर्गत पैठारी भएका ४२ अर्ब ४० करोड ४४ लाख बराबरका मालवस्तुहरुमा सरकारले २७ अर्ब ६९ करोड बराबरको कर छुट चालु आर्थिक वर्षको ६ महिनामा दिएको छ ।

अर्थ मन्त्रालयकाअनुसार विविध छुट सुविधा शीर्षकमै १ खर्ब ४० अर्ब ७८ करोड ६९ लाख बराबरका वस्तुहरुमा सरकारले १७ अर्ब ४० करोड ३३ लाख बराबरको कर छुट दिइएको छ ।

सरकारले समीक्षा अवधिमा आन्तरिक राजस्वतर्फ भन्सार महसुलको तुलनामा त्यति धेरै कर छुट दिएको देखिँदैन । आन्तरिक राजस्व विभागतर्फ आर्थिक ऐन, २०८२ को व्यवस्थाअनुसार ३ हजार ४ सय ७७ करदाताहरूलाई ५५ करोड ५७ लाख ६० हजार बराबरको कर छुट तथा सहुलियत प्रदान गरेको छ ।

Skip This