
एजेन्सी । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बुधबार त्यहाँको संसदमा बोल्दै अमेरिकाले आफ्नो फाइदाका लागि पाकिस्तानको उपयोग गरेको र काम सकिएपछि ट्वाइलेट पेपर जस्तै फालेको बताएका छन् ।
रक्षामन्त्री आसिफले भने, ‘हामीले अफगानिस्तानमा दुईवटा युद्ध लड्यौं । यसमा इस्लाम र धर्मका नाममा सहभागी भयौं तर वास्तवमा दुई सैन्य तानाशाहहरू (जिया–उल–हक र परवेज मुशर्रफ) ले अमेरिकाको समर्थन पाउनका लागि यसो गरेका थिए ।’
उनले सन् १९७९ मा सोभियत संघको हस्तक्षेपको चर्चा गर्दै उक्त कदम अफगान सरकारको निमन्त्रणामा चालिएको बताए । तर, अमेरिकाले यसलाई सिधा आक्रमण भनेर आफ्नो तरिकाले भाष्य तयार गर्यो ।
आसिफले सन् १९९९ पछि अमेरिकासँग भएको पाकिस्तानको नयाँ रणनीतिक साझेदारीमाथि प्रश्न उठाए । उनले सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकासँग उभिएको मूल्य पाकिस्तानले आज पनि चुकाइरहेको बताए ।
पाकिस्तानले इतिहासबाट पाठ नसिक्नुका साथै आफ्नो सानो फाइदाका लागि कहिले अमेरिका, कहिले रुस त कहिले बेलायततिर ढल्किरहने गरेको आसिफले बताए। उनले ३०–४० वर्षअघि नभएको यी देशहरूको प्रभाव अहिले यहाँ पहिलेभन्दा बढी रहेको बताए ।
उनले पाकिस्तानको आतंककारी इतिहास रहेको कुरा पनि स्वीकार गरे । अफगानिस्तानका दुईवटा युद्धमा सामेल हुनु पाकिस्तानको ठूलो गल्ती थियो र आज देशमा जुन आतंकवाद छ, त्यो तिनै गल्तीहरूको नतिजा भएको उनले बताए ।
आसिफले भने, ‘हामी आफ्नो इतिहास र गल्तीहरू स्वीकार गर्दैनौं । आजको आतंकवाद तिनै तानाशाहहरूको गल्तीको परिणाम हो ।’ उनले पाकिस्तानलाई भएको क्षतिको कहिल्यै पूर्ति हुन नसक्ने बताए ।
ख्वाजा आसिफले यी युद्धहरूलाई सही साबित गर्न पाकिस्तानको शिक्षा प्रणालीमा जानाजानी परिवर्तन गरिएको दाबी पनि गरे । उनका अनुसार, यो परिवर्तन आज पनि प्रणालीमा विद्यमान छ ।
उनले सन् २००० मा अमेरिकाका राष्ट्रपति बिल क्लिन्टनले इस्लामाबादमा केही घण्टाको भ्रमण गरेको चर्चा गरे । क्लिन्टन भारत भ्रमणपछि केही समयका लागि पाकिस्तान आएका थिए ।
आसिफले यसबाट दुई देशको सम्बन्ध स्वार्थमा मात्र सीमित भएको प्रस्ट देखिने बताए । त्यसबेला अमेरिकाले सैन्य शासक परवेज मुशर्रफलाई लोकतन्त्र, परमाणु प्रसार र आतंकवादलाई लिएर दबाब दिएको थियो ।
सन् २००० मा पाकिस्तानको कोही पनि प्रधानमन्त्री थिएन किनभने त्यसबेला देशमा सैन्य शासन चलिरहेको थियो । नोभेम्बर १९९७ देखि अक्टोबर १९९९ सम्म नवाज सरिफ पाकिस्तानका प्रधानमन्त्री थिए ।
१२ अक्टोबर १९९९ मा जनरल परवेज मुशर्रफले कू गरेर नवाज सरिफको सरकार हटाए र आफैं मुख्य कार्यकारी बने । सन् १९९९ पछि २००२ सम्म पाकिस्तानमा कुनै निर्वाचित प्रधानमन्त्री थिएनन् । मुशर्रफले सत्ता सम्हाले र सन् २००२ मा चुनाव गराए जसपछि जफरुल्लाह खान जमाली प्रधानमन्त्री बने ।
यो बयान त्यसबेला आएको हो जब पाकिस्तानको संसद्ले इस्लामाबादको शिया मस्जिदमा भएको हमलाको विरुद्धमा निन्दा प्रस्ताव पारित गर्याे । फेब्रुअरी ६ मा नमाजको समयमा भएको उक्त आत्मघाती हमलामा ३१ जनाको मृत्यु भएको थियो र १६९ जना घाइते भएका थिए । यस हमलाको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।
आसिफले राजनीतिक एकताको अपील गरे र आतंकवादको निन्दा जस्तो मुद्दामा पनि एकजुटता नदेखिएको बताए । उनले देशको एउटा यस्तो पहिचान हुनुपर्ने बताए जसमा कुनै मतभेद नहोस् । राजनीतिक कारणले पीडितको अन्तिम संस्कारमा सहभागी नहुनेहरूको आसिफले आलोचना गरे ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै अमेरिका पाकिस्तानसँगको आफ्नो सम्बन्ध बलियो बनाउन चाहन्छ तर भारतको मूल्यमा होइन भनी बताएका थिए ।
सञ्चारमाध्यमका रिपोर्ट अनुसार, रुबियोले अमेरिका र पाकिस्तान पहिलेदेखि नै आतंकवाद विरुद्ध मिलेर काम गरिरहेको तर यसले भारतसँगको उसको राम्रो मित्रतालाई कुनै हानि नगर्ने बताएका थिए ।
उनलाई भारतले अमेरिका–पाकिस्तानको निकटताप्रति चिन्ता व्यक्त गरेको छ कि छैन भनेर सोधिँदा रुबियोले भारतीय कूटनीतिमा समझदारी रहेको बताए । उनले भने, ‘उनीहरूलाई थाहा छ, हामीले धेरै देशहरूसँग सम्बन्ध राख्नुपर्छ । उनीहरूको पनि केही देशहरूसँग सम्बन्ध छ । यो समझदारीपूर्ण विदेशनीतिको हिस्सा हो ।’








प्रतिक्रिया