नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूमाथि लागेका आरोप र विवादकै विषयलाई ब्राण्ड बनाउने सामर्थ्य गरेका छन् । उनीमाथि पटक पटक नकारात्मक रुपमा प्रयोग गर्ने गरिएको बाख्रालाई थापाले आफ्नो शक्ति बनाएर वेबसाइटकै नामक मटनवर्ल्ड बनाएका छन् ।

काठमाडौं । पछिल्लो केही वर्ष यता नेपाली कांग्रेसका सभापति गगन थापालाई चिनिने एउटा चर्चित व्यङ्ग्यात्मक उपनाम चर्चामा छ, त्यो हो ‘बाख्रा’। जसलाई गगन थापाको कमजोरी भन्ने गरिन्छ । तर त्यही कमजोरीलाई पहिचानको माध्यम बनाउँदै थापा लक्षित एउटा डोमेन तयार पारिएको छ । जुन डोमेनको नाम रहेको छ ‘मटन डट वर्ल्ड’ ।
झट्ट सुन्दा यो डोमेन उनका विरोधीले सञ्चालनमा ल्याए जस्तो लाग्न सक्छ । तर यो स्वयं थापाकै समर्थनमा बनाइएको एक राजनीतिक वेबसाइट हो।
सभापति थापालाई पटक पटक लाग्दै आएको आरोप ‘बाख्रा पालना लागि अनुदान लिएर खाएको’ भन्ने थियो । यो आरोपलाई चिर्नकै लागि यही डोमेन थापाले प्रयोग गरेका छन् । उनले यसलाई प्राथमिकता दिएर आफूमाथि लागेको आरोपको चिरफार गरेका छन् ।
थापामाथि धेरै व्यङ्ग्य भइरहने शब्द जीओएटी (गोट) अर्थात् मटनकाजी । यही व्यङ्ग्यलाई सो डोमेनमा ग्रेटेस्ट अफ अल टाइमको रुपमा चित्रित गरिएको छ।
केही वर्षअघि उनको नाममा नुवाकोट सुनाखानीमा बाख्रापालन फार्म दर्ता भएको कागजात बाहिरिएको थियो । त्यसपछि बाख्रा पालनको लागि व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)बाट अनुदान लिएर पैसा खाएको भन्दै उनिमाथि आरोप लाग्यो। त्यसयता थापालाई ‘बाख्रा’ ‘मटनकाजी’ लगायतका नाम दिई ट्रोल गर्ने गरिन्छ ।
उनले एक अन्तरवार्तामा आफूले कतै बाख्रा कराउदा पनि आफैँलाई जिस्काएको जस्तो लाग्ने समेत बताएका छन्। अन्तरवार्तामा एक कार्यक्रममा जाँदाको क्षण सम्झिदै उनले भनेका छन् ‘ एउटा कार्यक्रममा जाँदै थिए बाख्रा मेरो पछि आएकोआई गर्यो, त्यस समय बाख्राले पनि मलाई जिस्काएको होकि जस्तो लागेको थियो ।’

विषेशगरी नेकपा एमालेका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा उनलाई काउन्टर दिन ‘बाख्रा’ शब्दलाई व्यापक रूपमा भाइरल बनाएका थिए ।
यो विषय ०७४ को निर्वाचनताका काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता केशव स्थापितले एमाले नेता विद्यासुन्दर शाक्यलाई काठमाडौंकाे मेयरमा जिताउन र प्रतिपक्षलाई कमजोर बनाउन गरिएको एक ट्रोल थियो ।
स्थापित पहिलो पटक ०५४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको प्रमुख बनेका थिए । ०७४ को निर्वाचनको समयमा एक अन्तरवार्तामा स्थापितले थापाप्रति बाख्रा भन्ने शब्दको आरोप लगाएका हुन् । गगन थापाले केही वर्षअघि बाख्रा पालनका नाममा सरकारी कोषबाट लिएको अनुदान हिनामिना गरेको आरोप लगाउदैँ स्थापितले थापामाथि पहिलो पटक ‘बाख्रा शब्दको ट्याग भिराएका थिए।
थापामाथी व्यङ्ग्यात्मक रुपमा प्रयोग हुने यही ‘बाख्रा’ शब्दलाई उल्ट्याउँदै अहिले मटन डट वर्ल्ड डोमेन सञ्चालनमा ल्याइएको छ।

वेबसाइटको गृहपृष्ठमा ‘नयाँ नेपालको लागि’ भन्ने नारासहित गगन थापाको परिचय प्रस्तुत गरिएको छ।
उक्त डोमेनमा गगन थापाको बारेमा विवरण र उनका भिजन, राजनीतिक यात्रा, हालसम्म उठेका विवादहरूबारे स्पष्टीकरण तथा आगामी नेतृत्वको दृष्टिकोण र निर्वाचन लक्षित अपडेटहरू राखिएका छन ।
यो डोमेन गगन थापाको डिजिटल ब्रान्डिङ रणनीतिको हिस्सा भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । सामाजिक सञ्जालमा उनलाई लक्षित गर्दै प्रयोग गरिएका व्यंग्य र ट्रोललाई उनले उल्टै आफ्नो पहिचानको माध्यम बनाएको देखिन्छ। ‘बाख्रा’ भन्ने आलोचनात्क शब्दलाई गोट ग्रेटेस्ट अफ अल टाइमको संकेतका रूपमा व्याख्या गर्दै उनले सकारात्मक सन्देश दिन खोजेको विश्लेषण गर्न सकिन्छ ।
‘बाख्रा काण्ड’ शीर्षक नै राखेर वास्तविकता खुलाइएको छ । जहाँ कृषि अनुदानसम्बन्धी प्रक्रियामा आफूले अनुदान नलिएको, सम्झौता रद्द गरिएको विषयलाई गलत ढंगले प्रस्तुत गरिएको दाबी गरिएको छ । थापामाथि लागेको आलोचनाको स्पष्टीकरण प्रस्तुत वेवसाइटमा दिइएको छ ।
‘गगन थापा र उनको टिमले कृषि फार्म सञ्चालन गर्ने उद्देश्यले (पीएसीटी) कार्यक्रम अन्तर्गत अनुदानका लागि आवेदन दिएको कुरा उनी आफूले स्वीकार गरेका छन्। प्रारम्भिक चरणमा सम्झौता भएको भए पनि, त्यस समयमा उनी संसदको कृषि समितिको सभापति पदमा रहेका कारण स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेष्ट)को प्रश्न उठ्न सक्ने अवस्था सिर्जना भएको थियो।
यही नैतिक र संवैधानिक जटिलतालाई ध्यानमा राख्दै उनले उक्त सम्झौता आफैंले तोडे र अनुदान नलिने निर्णय गरे। यस विषयमा उनले आफ्नै फेसबुक पेजमार्फत सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्।’ बाख्रा काण्ड दिइएको शीर्षकमा लेखिएको छ ।
वेबसाइटमा राजनीतिक घोषणापत्र पनि समावेश गरिएको छ। उक्त घोषणापत्रमा पार्टी सुधार, संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता जस्ता विषय समेटिएका छन् । थापाले नेतृत्व परिवर्तन मात्र नभई कार्यशैली परिवर्तन आवश्यक रहेको सन्देश पनि दिएका छन्।

अझै रोचक प्रसङ्ग वेबसाइटको अन्त्यतिर राखिएको छ । ‘कांग्रेस दास र लासहरुको पार्टी होइन। कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो।’
त्यसको तल्लो खण्डमा समर्थकहरूलाई अभियानमा जोडिन आह्वान गरिएको छ। कांग्रेसको अभियानमा सर्मथन जनाउन आग्रह गर्दै लेखिएको छ ‘समर्थन जनाउनुहोस्’ जसमा क्लिक गर्दा बाख्रा कराएको आवाज सुनिने छ । समग्रमा, गगन थापाको चुनावी अभियानलाई लक्षित गर्दै खोलिएको यस डोमेनले आगामी पार्टी राजनीतिमा गगन थापाको सक्रिय तयारी र नेतृत्व दाबीलाई संकेत गर्ने चर्चा गरिएको छ।
यसअघि आफूमाथि जे जे आरोप लागेको छ त्यसैलाई व्यवसायी दुर्गा प्रसाईंले आफ्नो व्यवसायिक ब्राण्ड बनाएका थिए । प्रसाईंलाई मेडिकल व्यवासायिका रुपमा माफिया भनेका कारण उनले माफिया नामकै ह्ववीस्की ल्याउने घोषणा गरेका थिए।
पुष्पकमल दाहाल (प्रचन्ड) र केपी ओलीलाई आफ्नो घरमा बोलाएर मार्सी चामलको भात खुवाएकाे सो फोटो भाइरल भएपछि मार्सी उपनाम दिएर दुर्गा प्रसाईंमाथि व्याङ्गय गरिएको थियो । उनले मार्सी नामको वियर नै उत्पादन गरेका यसैलाई व्यवासायिक ब्राण्ड बनाइदिएका थिए । तर उनको यो ब्राण्डले निरन्तरता भने पाएको छैन ।








प्रतिक्रिया