क्रिकेट विश्वकपमा ३९ जना कमेन्टेटर, रवि शास्त्रीदेखि टेम्बा बाभुमासम्म

259
Shares

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टि-२० विश्वकपको १०औँ संस्करणका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कमेन्टेटरहरूको नामावली सार्वजनिक गरेको छ ।

यस पटकको कमेन्ट्री प्यानलमा क्रिकेट जगत्का पूर्वदिग्गज खेलाडीदेखि वर्तमान समयका स्टारहरूसम्मको प्रभावशाली उपस्थिति रहनेछ ।

आईसीसीले सार्वजनिक गरेको यो सूचीमा विश्वप्रसिद्ध कमेन्टेटरहरू रवि शास्त्री, नासिर हुसेन, इयान स्मिथ र इयान बिसप मुख्य आकर्षणको रूपमा रहेका छन् । उनीहरूसँगै पूर्व टि-२० विश्वकप विजेताहरू आरोन फिन्च, दिनेश कार्तिक, कुमार सङ्गाकरा, सामुएल बद्री, रोबिन उथप्पा र कार्लोस ब्राथवेटले पनि कमेन्ट्री बक्समा आफ्नो अनुभव बाँड्नेछन् ।

यस पटकको मुख्य विशेषता भनेको वर्तमान समयका सक्रिय खेलाडीहरूको पनि कमेन्ट्रीमा सहभागिता हो । दक्षिण अफ्रिकाका टेस्ट टोलीका कप्तान टेम्बा बाभुमा र सन् २०१४ को टि-२० विश्वकप विजेता श्रीलङ्काली खेलाडी एन्जेलो म्याथ्युज पनि यो टोलीमा समावेश छन् । कुल ५५ खेल हुने यस प्रतियोगिताभरि यी दिग्गजहरूको आवाज सुन्न पाइनेछ ।
आईसीसी.टीभीले यस विश्वकपको ‘वर्ल्ड फिड’ सेवामार्फत विश्वभरका दर्शकलाई उच्च गुणस्तरको कभरेज प्रदान गर्ने सुनिश्चित गरेको छ ।

प्रसारणमा खेलअघिको विशेष कार्यक्रम, इनिङ्सको बीचको कार्यक्रम, खेलपछिको विश्लेषण र दैनिक हाइलाइटहरू समावेश हुनेछन्। प्रतियोगिता मार्च ८ मा हुने फाइनल खेलसँगै समापन हुनेछ ।

टि-२० विश्वकप २०२६ का लागि कमेन्टेटरहरूको पूर्ण सूची:

रवि शास्त्री, नासिर हुसेन, इयान स्मिथ, इयान बिसप, आरोन फिन्च, दिनेश कार्तिक, कुमार सङ्गाकरा, सामुएल बद्री, रोबिन उथप्पा, कार्लोस ब्राथवेट, इयोन मोर्गन, वसिम अक्रम, सुनील गावस्कर, म्याथ्यू हेडन, रमिज राजा, डेल स्टेन, माइकल एथरटन, वकार युनिस, साइमन डुल, सन पोलक, केटी मार्टिन, हर्ष भोगले, म्पुमेलेलो म्बाङ्वा, नताली जर्मनोस, ड्यानी मोरिसन, एलन विल्किन्स, इयान वार्ड, मार्क हावर्ड, निक नाइट, अतर अली खान, कास नायडू, बाजिद खान, रौनक कपुर, नियल ओ’ब्रायन, प्रेस्टन मोमसेन, एन्ड्रयू लियोनार्ड, रसेल अर्नोल्ड, रोशन अबेसिङ्घे, एन्जेलो म्याथ्युज र टेम्बा बाभुमा।

Skip This