दुर्लभ खनिज पदार्थमा चीनको एकाधिकार तोड्न ट्रम्पले बढाए प्रयास


एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनले जेट इन्जिनदेखि स्मार्टफोनसम्मका सबै कुराका लागि आवश्यक पर्ने महत्त्वपूर्ण खनिजहरूको आपूर्ति शृंखला पुनर्निर्माण गर्न अहिलेसम्मकै सबैभन्दा ठूलो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

यो सम्भवतः साझेदारहरूसँगको खरिद सम्झौता र चीनको प्रभुत्वलाई सामना गर्न मद्दत पुर्याउने १२ अर्ब डलरको अमेरिकी रणनीतिक सञ्चितिको निर्माणमार्फत गरिनेछ ।

बुधबार विदेशमन्त्री मार्को रुबियोले युरोपेली, एसियाली र अफ्रिकी दर्जनौं राष्ट्रका अधिकारीहरूसँग आयोजना गरेको बैठकमा उपराष्ट्रपति जेडी भान्सले मुख्य सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकाले आपूर्ति शृंखलाको बन्दोबस्ती सम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, यद्यपि विस्तृत विवरणहरू अझै सार्वजनिक गरिएको छैन ।

रुबियोले मंगलबार दक्षिण कोरिया र भारतका विदेशमन्त्रीहरूसँग महत्त्वपूर्ण खनिज पदार्थहरूको खानी उत्खनन र प्रशोधनबारे छलफल गर्नका लागि भेटघाट गरेका थिए ।

यो बैठक र अपेक्षित सम्झौताहरू राष्ट्रपति डोनल्ड ट्रम्पले प्रोजेक्ट भोल्ट घोषणा गरेको ठ्याक्कै दुई दिनपछि हुनेछन् । त्यो अमेरिकी निर्यात–आयात बैंकबाट १० अर्ब डलरको ऋण र झण्डै १.६७ अर्ब डलरको निजी पुँजीबाट लगानी हुने महत्त्वपूर्ण खनिजहरूको भण्डारण हो ।

विश्वको ७० प्रतिशत दुर्लभ खनिज पदार्थ उत्खनन र ९० प्रतिशत प्रशोधन नियन्त्रण गर्ने चीनले ट्रम्पको भन्सार युद्धको प्रतिक्रिया स्वरूप ती तत्त्वहरूको प्रवाह रोकेपछि ट्रम्प प्रशासनले यस्तो साहसी कदम चालेको हो । अक्टोबरमा ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीचको भेटपछि दुई महाशक्तिहरू एक वर्षको युद्धविराममा छन् जहाँ उनीहरू उच्च भन्सार दर फिर्ता लिन र दुर्लभ खनिजमा लगाइएका कडा प्रतिबन्धहरूलाई खुकुलो बनाउन सहमत भएका थिए ।

तर, चीनको सीमाहरू ट्रम्पले पदभार ग्रहण गर्नु अघिको तुलनामा अझै कडा छन् ।

‘हामी एक वर्षअघि भोगेको अवस्थाबाट फेरि कहिल्यै गुज्रन चाहँदैनौं,’ सोमबार प्रोजेक्ट भोल्टको घोषणा गर्दा ट्रम्पले भने ।

महत्त्वपूर्ण खनिज पदार्थहरूमा चीनको प्रभुत्वलाई सामना गर्दै अन्य देशहरूले महत्त्वपूर्ण खनिजहरू खरिद गर्न र उद्योग विकासलाई प्रोत्साहन गर्न अन्य कदमहरू चाल्न ट्रम्प प्रशासनसँग हात मिलाउन सक्छन् किनभने व्यापार युद्धले पश्चिमी देशहरू चीनप्रति कति कमजोर छन् भन्ने कुरा उजागर गरिदिएको सन् २०१९ मा ओक्लाहोमाको दुर्लभ खनिज खानी यूएसए रेयर अर्थ स्थापना गर्ने पिनी अल्थाउसले भने ।

‘भन्ने नै हो भने उनीहरू एक प्रकारको खरीदकर्ताहरूको क्लब स्थापना गर्ने सोचमा छन्,’ कोभ क्यापिटलका सीईओका रूपमा हाल कजाकस्तान र उज्वेकिस्तानमा नयाँ खानीहरू विकास गर्न काम गरिरहेका अल्थाउसले भने, ‘महत्त्वपूर्ण खनिजका प्रमुख उत्पादक र प्रमुख उपभोक्ताहरू एक ठाउँमा भेला भई मूल्य निर्धारण संरचना, न्यूनतम मूल्य र अन्य कुराहरूमा काम गर्नेछन् ।’

सरकारले गत साता एक अमेरिकी महत्त्वपूर्ण खनिज उत्पादकमा आफ्नो चौथो प्रत्यक्ष लगानी पनि गर्यो जहाँ उसले यूएसए रेयर अर्थलाई स्टक र पुनः भुक्तानी सम्झौताको बदलामा १.६ अर्ब डलर उपलब्ध गरायो ।

आजकल सरकारी कोष खोज्नु निजी इक्विटी लगानीकर्ताहरूसँग भेट्नु जस्तै हो किनभने अधिकारीहरूले उनीहरूले लगानी गर्ने कम्पनीले प्रतिफल दिन सक्छ कि सक्दैन भनेर सूक्ष्म रूपमा जाँच गरिरहेको अल्थाउसले बताए । र सरकारले ऋण फिर्ता हुँदा र स्टकको मूल्य बढ्दा करदाताहरूका लागि प्रतिफल सुनिश्चित हुने गरी शर्तहरू राखिरहेको उनले बताए ।

यसैबीच अमेरिकी निर्यात–आयात बैंकको बोर्डले यस हप्ता १० अर्ब डलरको ऋण स्वीकृत गरेको छ जसले अमेरिकी रणनीतिक महत्त्वपूर्ण खनिज पदार्थ सञ्चिति स्थापना गर्न आर्थिक सहयोग पुर्याउनेछ । यो यसको इतिहासकै सबैभन्दा ठूलो हो ।

नीतिगत बैंकका अनुसार, यसलाई ब्याट्री निर्माता क्लारिओस, ऊर्जा उपकरण निर्माता जीई भर्नोभा, डिजिटल भण्डारण कम्पनी वेस्टर्न डिजिटल र एयरोस्पेस विशाल बोइङ लगायतका निर्माताहरूका लागि महत्वपूर्ण खनिज र सम्बन्धित उत्पादनहरूको पहुँच सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ ।

बैंकका अध्यक्ष र सभापति जोन जोभानोभिकले सीएनबीसीलाई बताएअनुसार, यस परियोजनाले सार्वजनिक–निजी साझेदारीको यस्तो सूत्र सिर्जना गर्दछ जुन विशिष्ट रूपमा उपयुक्त छ र यसले अमेरिकालाई उत्कृष्ट रूपमा प्रस्तुत गर्छ ।

‘यसले यस्तो परिदृश्य सिर्जना गर्दछ जहाँ कोही पनि फ्री राइडर (सित्तैमा लाभ लिने) हुँदैनन् । यो ठूलो समस्या समाधान गर्न सबैले योगदान गर्छन्,’ उनले भने ।

सञ्चितिबाट सबैभन्दा बढी लाभ लिने निर्माताहरूले दीर्घकालीन वित्तीय प्रतिबद्धता जनाइरहेको जोभानोभिचले बताए जबकि सरकारी ऋणले निजी लगानीलाई प्रोत्साहन गर्छ ।

भण्डारण रणनीतिले चीनलाई बाहेक गर्ने एक बढी प्राकृतिक मूल्य निर्धारण मोडल सुरु गर्न मद्दत पुर्याउन सक्छ किनभने चीनले आफ्नो प्रभुत्व उपयोग गरी प्रतिस्पर्धीहरूलाई हटाउन कम मूल्यका उत्पादनहरूले बजार भरिदिने गरेको छ, अमेरिकी स्थायी चुम्बक कम्पनी एएमएलका अध्यक्ष वेड सेन्टीले भने ।

ट्रम्प प्रशासनले यस क्षेत्रमा प्रत्यक्ष रूपमा सार्वजनिक पैसा पनि खन्याएको छ । पेन्टागनले गत वर्ष झण्डै ५ अर्ब डलर खर्च गरेको छ ताकि यी सामग्रीहरूमा आफ्नो पहुँच सुनिश्चित होस् किनकि व्यापार युद्धले अमेरिका चीनप्रति कति निर्भर छ भन्ने कुरा प्रस्ट पारिदिएको थियो ।

सांसदहरूको द्विदलीय समूहले गत महिना दुर्लभ खनिज र अन्य महत्त्वपूर्ण खनिजहरूको उत्पादनलाई प्रोत्साहन गर्न २.५ अर्ब डलरको नयाँ एजेन्सी बनाउने प्रस्ताव गरेको थियो । सांसदहरूले ट्रम्प प्रशासनको यस कदमको प्रशंसा गरे ।

‘यो महत्त्वपूर्ण खनिजहरूको बलियो आन्तरिक आपूर्ति सुनिश्चित गर्न द्विदलीय समर्थन रहेको स्पष्ट संकेत हो, जसले चीनमाथिको हाम्रो निर्भरता घटाउँछ र बजारलाई स्थिर बनाउँछ,’ सिनेटरहरू जीन शाहीन र टोड यङले मंगलबार एक संयुक्त विज्ञप्तिमा बताए ।

भण्डारण निर्माणले अमेरिकी कम्पनीहरूलाई भविष्यमा दुर्लभ खनिजको आपूर्तिमा हुने अवरोधहरूको सामना गर्न मद्दत गर्नेछ । तर, यो सम्भवतः एक दीर्घकालीन प्रयास हुनेछ किनभने चीनको प्रतिबन्धका कारण अहिले यी सामग्रीहरू अझै दुर्लभ छन्, दशकौंदेखि यस उद्योगलाई पछ्याइरहेका र द इलिमेन्ट्स अफ पावर पुस्तकका लेखक दुर्लभ खनिज पदार्थ विज्ञ डेभिड अब्राहमले भने ।

ट्रम्प प्रशासनले महत्त्वपूर्ण खनिज उत्पादनलाई पुनर्जीवित गर्न ध्यान केन्द्रित गरेको छ तर अब्राहमले ती खनिज प्रयोग गर्ने उत्पादनको विकासलाई प्रोत्साहन दिनु पनि महत्त्वपूर्ण भएको बताए । इलेक्ट्रिक सवारी साधन र वायु टर्बाइनका लागि दिइने सुविधाहरू कटौती गर्ने ट्रम्पको निर्णयले अमेरिकामा यी तत्त्वहरूको मागलाई कम गरेको उनले उल्लेख गरे ।

Skip This