फेरी भेटिन थाल्यो कुष्ठरोगबाट प्रभावित हुने बिरामी


पाल्पा । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सात जना नयाँ कुष्ठरोगी भेटिएका हुन् ।

सबैभन्दा बढी रामपुर नगरपालिका दुई र निस्दी गाउँपालिकामा दुई जना कुष्ठरोगी रहेका उनले जानकारी दिए । पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकामा एकरएक जना कुष्ठरोगी रहेका उनले बताए ।

जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल र अन्य स्वास्थ्य संस्थामा बिरामीको उपचार भइरहेको छ । रम्भा गाउँपालिका, तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकामा भने कुष्ठरोगी नरहेका निमित्त प्रमुख पोखरेलले बताए ।

नयाँ सात बिरामी फेला परेसँगै चालु आवको पुस मसान्तसम्ममा कुष्ठरोगीको सङ्ख्या १७ पुगेको उनले जानकारी दिए ।

कार्यालयका निमित्त प्रमुख पोखरेलले रोगको अवस्थाबारे जानकारी गराउँदै अहिले रहेका १७ मध्ये १० पुरुष र सात जना महिला रहेको उल्लेख गरे । बिरामी सबैको उपचार भइरहेको छ ।

गत आवमा पाल्पामा २१ कुष्ठरोगी फेला परेका थिए । सोही अवधिमा १८ जना नयाँ बिरामी थपिएका हुन् ।

उक्त आर्थिक वर्ष सबैभन्दा बढी रामपुर नगरपालिकामा पाँच जनामा कुष्ठरोग देखिएको पोखरेलले बताए । उनका अनुसार पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा एकरएक जना, तानसेन नगरपालिकामा तीन जना, तिनाउ गाउँपालिका, निस्दी गाउँपालिकामा चाररचार जना र माथागढी गाउँपालिकामा दुई जना कुष्ठरोगी भेटिएका थिए ।

सरकारले १६ वर्षअघि नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि पाल्पासहित कपिय जिल्लामा अझै पनि कुष्ठरोगी छन् ।

उनले भने, ‘पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ । यहाँ कुष्ठरोग अन्त्य पनि भएको छैन तर विकराल समस्याका रूपमा पनि छैन ।’

अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठरोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमा उपचार नहुँदा समस्या बढेको भन्दै उनले कुष्ठरोगको सङ्का लागेको उपचार गर्न सबैलाई आग्रह गरे ।

रौतहटमा पनि बिरामी बढ्दो क्रममा
पछिल्लो समय रौतहटमा कुष्ठरोगी बढेका छन् । द लेप्रोसी मिसन नेपालका स्रोतव्यक्ति राजकुमार साहले विगतको तुलनामा पछिल्लो समय यहाँ कुष्ठरोगका बिरामी बढेको बर्ताए ।

उनका अनुसार आव २०८१/८२ र चालु आवको साउनदेखियता रौतहटमा १६७ जना कुष्ठरोगी भेटिएका हुन् । साउनदेखियता मात्रै ३२ जना नयाँ बिरामी फेला परेका उनले जानकारी दिए ।

सबैभन्दा बढी यमुनामाई गाउँपालिका, कटहरिया र माधवनारायण नगरपालिकामा कुष्ठरोगी देखापरेका स्रोतव्यक्ति साहले जानकारी दिए ।

‘कुष्ठरोगका बिरामी दुई किसिमका हुन्छ । एक किसिमका बिरामीले छ महिना औषधि सेवन गर्नुपर्छ भने अर्को किसिमका बिरामीले एक वर्ष औषधि सेवन गर्नुपर्ने हुन्छ,’ उनले भने ।