प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहस आवश्यक छ : उदयशम्शेर राणा


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणाले प्रधानमन्त्रीको लागि उम्मेदवार घोषणा भएका नेताहरूलाई एउटै मञ्चमा राखेर भावी योजनाबारे बहस चलाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

त्यस्ता बहसले लोकतन्त्र बलियो हुने भएकाले प्रश्नबाट कोही भाग्न नहुने भन्दै उनले बहसका लागि कांग्रेस तयार रहेको पनि बताएका छन् ।

‘यसपटक सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका छन्,’ सहमहामन्त्री राणाले फेसबुकमा लेखेका छन्, ‘यतिबेला हरेक नागरिकको स्वभाविक जिज्ञासा छ, यी प्रधानमन्त्रीका उम्मेदवारलाई एकै मञ्चमा राखेर सार्वजनिक बहस किन नगर्ने रु’

बहसबाट प्रधानमन्त्रीका उम्मेदवारको देश निर्माणबारेको ठोस नीति, योजना र कार्यक्रम, अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासनको सवालमा दृष्टिकोण थाहा हुने उनको भनाइ छ ।

साझा बहसले आमनागरिकलाई प्रधानमन्त्रीका उम्मेदवारहरूलाई नजिकबाट बुझ्ने अवसर दिने र निर्वाचनमा मताधिकार प्रयोग गर्दा विवेकपूर्ण निर्णय गर्न थप सजिलो हुने राणाले उल्लेख गरेका छन् ।