
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपालले वैदेशिक व्यापारमा झण्डै ८ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले बुधबार सार्बजनिक गरेको साउनदेखि पुससम्मको वैदेशिक व्यापार तथ्याँकअनुसार चालु आर्थिक वर्षमा नेपालले अघिल्लो वर्षको ६ महिनाको तुलनामा १०.१५ प्रतिशतका दरले ७ खर्ब ९७ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार घाटा व्यहोर्न बाध्य भएको छ ।
तथ्याँकअनुसार अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवधीमा नेपालले ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा नेपालले विभिन्न मुलुकबाट १४.१८ प्रतिशतका दरले ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख रुपैयाँबराबरको सामान आयात गरेको थियो । अघिल्लो वर्ष यहि अवधीमा भने ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको सामान नेपालमा आयात भएको थियो ।
यस्तै चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट ४३.७६ प्रतिशतका दरले निर्यात परिमाण बढेको छ । यो अवधीमा नेपालले विभिन्न मुलुकमा १ खर्ब ४२ अर्ब १ करोड ८० लाख रुपैयाँबराबरको सामान निर्यात गर्न सफल भएको छ । अघिल्लो वर्षको यहि अवधीमा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँबराबरको सामान नेपालले निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा आयात हुने बस्तुको सूचीमा अग्रस्थानमा पेट्रोलियम पदार्थकै योगदान छ । ५८ अर्ब २७ करोड ९२ लाख रुपैयाँबराबरको ६ लाख ३० हजार २ सय ५६ किलोलिटर डिजेल आयात हुँदा ३३ अर्ब ७ करोड २१ लाख रुपैयाँबराबरको ३ लाख ८० हजार २ सय ३५ किलोलिटर पेट्रोल आयात भएको थियो ।
यस्तै २७ अर्ब ४ करोड २० लाख रुपैयाँबराबरको २७ करोड ४८ लाख ५ हजार किलो खाना पकाउने ग्यास, ९ अर्ब ९३ करोड ८७ लाख रुपैयाँबराबरको हवाई इन्धन आयात भएको थियो ।
यसपछि आयात हुने अग्रपंक्तिमा ४८ अर्ब ८३ करोड २१ लाख रुपैयाँबराबरको क्रुड सोयाबिन तेल, २६ अर्ब ६५ करोड १६ लाख रुपैयाँबराबरको फलामको उत्पादन, १८ अर्ब ८३ करोड ३० लाख रुपैयाँबराबरको १० लाख ५२ हजार ८० ग्राम सुन, १८ अर्ब ५२ करोड २२ लाख रुपैयाँबराबरको स्मार्ट फोन आयात भएको छ ।








प्रतिक्रिया