सुनितासहितका कर्मचारी कुरेको कुर्‍यै, कमलादी नगइ घण्टीघर गए पुगे बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार पदबाट राजीनामा दिए । स्थानीय तह निर्वाचन २०७९ मा ६१ हजार ७६७ मतसहित स्वतन्त्र जितेका बालेनले राष्ट्रिय राजनीतिमा होमिने निर्णय गर्दै पद त्याग गरेका हुन् ।

उनको राजीनामासँगै काठमाडौं महानगरपालिकामा एउटा अध्यायको अन्त्य भएको छ भने उनी औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

पूर्वनिर्धारित योजनाअनुसार बालेनले आइतबार कमलादीस्थित कार्यालयमै आएर राजीनामा दिने र कर्मचारीहरूसँग बिदा हुने अपेक्षा गरिएको थियो ।

बिहानैदेखि उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सहायक प्रवक्ता ध्रुब काफ्लेसहित केही वडाध्यक्षहरू मेयरलाई औपचारिक बिदाइ गर्न फूलमाला र खादासहित प्रतीक्षामा थिए ।

मेयर र उपमेयरबीच फोन संवाद भइरहे पनि बालेनले आफू आउने यकिन समय बताएका थिएनन् । ‘मेयर साबले आउने यकिन समय भन्नुभएन, तर हामी तयारी अवस्थामा बसौँ । जतिबेला आउनुहुन्छ, जति जना भइन्छ, मनमा केही नराखी उहाँलाई बिदा गर्नुपर्छ,’ उपमेयर डंगोलले कमर्चारीलाई भनेकी थिइन् ।

तर, दिनभर प्रतीक्षा गरे पनि बालेन कार्यालय आएनन् । बालेन आफैँ उपस्थित नभइ दिउँसो करिब ३ बजे वारेसमार्फत राजीनामा पत्र उपमेयरको कार्यकक्षमा पुर्‍याए ।

राजीनामाको पत्र पाएसँगै उपमेयर सुनिता डंगोलले कार्यपालिकाको आकस्मिक बैठक राखिन् । बैठकमा उनले मेयर शाहको राजीनामा आफूसँग आइपुगेको भन्दै बालेनलाई राजीनामा दिनुअघि काठमाडौं महागरमा गरेको कामका लागि धन्यवाद दिइन् ।

आइतबार दिनभर बालेनको सचिवालयमा राजीनामाका विषयमा केही अलमल देखिएको थियो ।

सुरुमा राजीनामा नदिई सिधै उम्मेदवारी दर्ता गर्ने र कानुनअनुसार पद स्वतः रिक्त तय भएको थियो । त्यही अनुसार उनको सचिवालयले सञ्चारमाध्यमहरूमा सूचनासमेत दिएको थियो ।

नेपाली कांग्रेस अदालत जान सक्ने र निर्वाचन सर्न सक्ने सम्भावनाका कारण राजीनामा ‘होल्ड’ गर्न खोजिएको थियो । तर, अन्तिम समयमा बालेनले राजीनामा दिएरै अघि बढ्ने निर्णय लिए।

महानगरबाट औपचारिक बिदाइमा सहभागी नभएका बालेन राजीनामा लगत्तै वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय पुगे । जेन्जी अगुवा सुधन गुरुङको गाडी चढेर घण्टीघर पुगेका उनलाई रास्वपा सभापति रवि लामिछानेलेसहित रास्वपा कार्यकर्ताले स्वागत गरे ।
त्यहाँ उनले लामिछानेसँगै उभिएर घण्टीघरको सांकेतिक घण्टी बजाएका थिए। त्यसपछि वरिष्ठ नेताको रुपमा पदभार ग्रहण गरे लगत्तै उनी पार्टी कार्यालयबाट निस्किएका थिए ।

रास्वपाको राजनीतिमा प्रवेश गरेका बालेनको आगामी तालिका निकै व्यस्त देखिएको छ । उनी जनकपुरमा हुने रास्वपाको पहिलो चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जाने छन् ।

आगामी फागुन ६ गते बालेनले झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।