सिन्धुलीमा बैंक लुटपाट: घरबेटी नै मुख्य योजनाकार, गाडी रिजर्भ गरेर बोलाएका थिए लुटेरा !


सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखा लुटपाट प्रकरणमा बैंक रहेकै घरका धनी मुख्य योजनाकार रहेको खुलासा भएको छ ।

प्रहरी अनुसन्धानका क्रममा बैंक सञ्चालनमा रहेको घरका धनी छविलाल स्याङताङकै लुटपाटमा संलग्नता भएको खुलेपछि उनको खोजी गरिएको थियो ।

स्याङताङलाई महोत्तरीबाट पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ परेका अन्य अभियुक्तहरूको बयानका आधारमा स्याङताङलाई नियन्त्रणमा लिइएको हो ।

अभियुक्तहरूले घरधनीकै योजना र निर्देशनमा आफूहरूले बैंक लुटेको प्रारम्भिक बयान दिएपछि प्रहरीले उनको खोजी गरेको थियो । यससँगै बैंक लुटपाटको घटनामा अहिलेसम्म ६ जना पक्राउ परेका प्रहरीले बताएको छ ।

यसरी भएको थियो घटना

मंगलबार राति बजे ५/६ जनाको समूहमा आएका लुटेराहरूले बैंक लुटपाट गरेका थिए । उनीहरूले बैंकका सुरक्षागार्ड रुद्र कार्कीमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर नियन्त्रणमा लिएका थिए । त्यसपछि काउन्टरमा रहेको ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेर फरार भएका थिए । घाइते गार्ड कार्कीको स्थानीय अस्पतालमा उपचार भएको छ ।

घटना लगत्तै परिचालन भएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट ४ जनालाई नियन्त्रणमा लिएको थियो । पछिल्लो अपडेट अनुसार घरधनीसहित हालसम्म ६ जना प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रहरीले लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ रहेको बोरा वनमा बरामद गरेको थियो । त्यसपछि दिउँसो फेरि पैसाले भरिएको ३ झोला फेला परेको थियो ।

उक्त रकम घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा जंगलमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिएका थिए । बाँकी रकम लुटेराहरूले नै लिएर भागेको वा अन्यत्र कतै लुकाएको भन्नेबारे प्रहरीले खोजी तीव्र पारेको छ ।

गाडी र चालक पनि नियन्त्रणमा

लुटेराहरूले प्रयोग गरेको बी एड–०३९८ नम्बरको टाटा सुमो गाडी र त्यसका चालक भवत सिंह थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेको बनेपा–१० घर भएका चालक थापाले आफूले लुटेराहरूलाई नचिनेको र बनेपाबाट गाडी रिजर्भ गरेर सिन्धुली ल्याएको दाबी गरेका छन् ।

यद्यपि, प्रहरीले उनको संलग्नताबारे पनि सूक्ष्म अनुसन्धान गरिरहेको छ।

बैंक जंगल नजिकै रहेको र रातको समय भएकाले लुटेराहरूलाई सुरुमा उम्कन सहज भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको र फरार रहेका अन्य व्यक्तिहरूको खोजीका लागि जिल्लाका सबै नाकाहरूमा कडा निगरानी बढाइएको प्रहरीले जनाएको छ।