
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन शेरबहादुर देउवा पक्षले पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ । यो नाटकीय मोडपछि राजनीतिक वृत्तमा भृकुटीमण्डपमा के भइरहेको छ भन्ने चासो बढेको छ।
यसैबीच, निष्कासनमा परेपछि महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले आज बिहान सहमतिका लागि प्रस्ताव गरिएका ८ बुँदाहरू सार्वजनिक गर्दै नेतृत्वलाई प्रश्न गरेका छन्- ‘यीमध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो?’
शर्माले सार्वजनिक गरेका ती ८ बुँदाहरू:
१) विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने।
२) विशेष महाधिवेशनबाट परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने।
३) सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने र उम्मेदवारी पत्रमा हस्ताक्षर नगर्ने।
४) उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गर्ने।
५) आगामी निर्वाचनमा पार्टी एक ढिक्का भएर जाने।
६) आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी नेपाली काँग्रेस एक्लै प्रतिस्पर्धा गर्ने।
७) निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने।
८) यी कार्यहरूको समन्वय र कार्यान्वयनका लागि ५ सदस्यीय संरचना (कार्यवाहक सभापति र दुई महामन्त्रीसहित थप दुई नेता) गठन गर्ने।
यी बुँदाहरू पुनः पढ्दा आफू मुस्कुराएको उल्लेख गर्दै शर्माले भनेका छन्, ‘काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौँ। विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ।’








प्रतिक्रिया